गृह मन्त्रालयले देशभरको मदिरा नियन्त्रण गर्ने, अनुमति नलिएको पसल सिज गरिंदै

  २०७५ वैशाख २३ गते २३:२३     विकासन्युज

काठमाडौँ । गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा विक्री वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो ।

आइतबार गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बिभिन्न राजनीतिक पार्टी आवद्ध महिला नेतृ र महिला सांसदहरुसँग गृहमन्त्रालयमा उक्त विषयमा छलफल भएको जनाएको छ ।

छलफलमा गृहमन्त्री बादलले समाज , परिवारमा विखण्डनको प्रमुख कारण मदिरा रहेको भन्दै यसको नियन्त्रण गर्ने तयारी गृह मन्त्रालयले थालेको भन्दै यसमा रचनात्मक सुझाव र सहयोगका लागि महिला नेतृहरुसँग आग्रह गरे ।

उनले पछिल्लो समय बढीरहेको महिला हिंसाको कारण समेत मदिरानै रहेको भन्दै मदिराबाट राज्यले पाउँदै आएको कर भन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौँ गुणा घातक रहेको टिप्पणी गरे ।


देशभर रहेको करिब छ हजार ५०० स्थानिय तहका वडाहरुमा विभिन्न राजनीतिक पार्टी आवद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समुह, नागरिक समाज र सुरक्षाकर्मी रहने गरी समिति गठन गरी वडास्तरबाटै जनसहभागितामा मदिरा नियन्त्रणको अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको उनको भनाइ छ ।

यसको लागि मन्त्रालयले विस्तृत खाका बनाइरहेको भन्दै अभियान केन्द्रको प्रयासले मात्रै सम्भव नरहेको भन्दै वडास्तरबाटै सञ्चालन गरीने गृहमन्त्री थापाले जानकारी गराए । ‘यसका लागि तत्काल मन्त्रालयले ६ महिने अभियान सञ्चालनका लागि आवश्यक गृहकार्य गरीरहेको छ,’ गृहमन्त्रीले भने ‘अभियानसँगै मदिरा नियन्त्रणको भण्डाफोर कार्यक्रम समेत आयोजना गरीने छ ।’

अनुमति र मापदण्ड नपुगेको पसल सिज

गृहमन्त्री थापाले अनुमति नलिएको र मापदण्ड नपुगी सञ्चालनमा ल्याइएको मदिरा पसललाई सिज गर्न सुरक्षाकर्मी तत्काल परिचालन गरीने बैठकमा जानकारी दिए ।


विकास र समृद्धिको बाधक तथा भ्रष्टचारको कारक समेत मदिरा रहेको भन्दै यसलाई व्यवस्थित गराएरै छाड्ने प्रतिवद्धता गृहमन्त्रीको छ । मदिरा नियन्त्रणसँगै लागुऔषध नियन्त्रणलाई पनि अभियानको रुपमा लैजाने तयारी सरकारले गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका अध्यक्ष कृष्णहरी बास्कोटाले मदिरा नियन्त्रणका उपायहरुका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

छलफलमा महिला नेतृहरुले मदिराबाट सबैभन्दा बढी पीडित महिलाहरु भएकोले आफुहरुले गृहमन्त्रीको अभियानमा साथ दिन तयार रहेको बताएका छन् । उनीहरुले पहिलो चरणमा मदिरा नियन्त्रण र दोस्रो चरणमा मदिरा निषेध गर्ने गरी कार्ययोजना ल्याउन गृहमन्त्रीलाई सुझाव दिए ।

महिला नेतृहरुले मदिरा नियन्त्रणका लागि आवश्यक नियम, निर्देशिका र संयन्त्रको समेत तत्काल विकास गर्नुपर्ने माग गरे । बिगतमा टोल, गाउँ र जिल्लागत रुपमा यस्तो अभियान सञ्चालन गरिए पनि यसपटक केन्द्रस्तरबाटै अभियान सुरु गर्न लागिएकोले सो अभियान सफल हुने छलफलमा सहभागी सबैको एकमत रहेको जनाइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.