२०७५ वैशाख २२ गते २०:०५ विकासन्युज
काठमाडौं । कीर्तिपुर नगरपालिकास्थित ट्याङलाफाँट १/२ मा रहेको शान्तिमार्ग टोलले आफ्नो टोल आफै सफा गरौ भन्ने उद्देश्यका साथ शान्तिमार्ग टोल सफा गरेको छ ।
पालैपालो महिना/महिनामा उक्त टोल शान्तिमार्ग टोल सुधार समिति र टोलस्थित अजिमाख्य गुठीले सफा गर्दै आइरहेको छ । सोही सेड्युलअनुसार शनिबार टोल सफा गरेको हो ।
टोल सुधार समितिको अध्यक्ष भरत बस्नेतले आफ्नो टोललाई सफा सुग्घर राख्ने उद्देश्यले टोल महिना/महिनामा गुठीसँगको सहकार्यमा पालै पालो सफा गर्दै आइरहेको बताए । ‘प्राय विदाको दिन पारेर टोलमा रहेका समुदाय स्वस्फूर्त रुपमा जम्मा भएर टोल सफा गर्दै आएका छौं,’ उनले भने ‘हामीले टोललाई सफा राख्नका लागि टोलमा रहेका पसलहरुलाई पनि कुहिने र नकुहीने फोहोरहरु छुट्याएर राख्नका लागि भनिसकेका छौं ।’
टोलको अवस्थाले त्यहाँ रहेको समुदायको प्रतिनिधित्व गर्ने भएकोले पनि टोल सफा, सुग्घर राखे समुदायको इज्जत बढ्ने भएकोले पनि सफाइलाई प्राथमिकता दिएको उनको भनाइ छ ।
सरसफाइमा सहभागी अर्का सदस्यले टोललाई सफा राख्न स्वस्फूर्त रुपमा सफाई अभियानमा सहभागी भएको बताए । सफाई भइरहदा घरवेटीहरुले अभियानमा सहभागीहरुलाई पानी, जुस लगायत उपलब्ध गराएको देखिन्थे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.