बेलकोटगढीमा अत्याधुनिक पुस्तकालय, सडक नबनाएकाेमा एमालेलाई गाली गर्दै काँग्रेस नेताहरु हेलिकप्टरमा सवार

  २०७५ वैशाख २२ गते १५:०५     विकासन्युज

नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नं. २ स्थिति जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्दको नवनिर्मित भवनको गत विहीबार उद्घाटन भएको छ । नेपाली कांग्रेसको केन्द्रीय नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र एएसविका एशिया कार्यक्रम संयोजक मार्टिन कुंशटमानबाट संयुक्त रुपमा पुस्तकालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ।

२०६९ कात्तिक १८ गते औपचारिक रुपमा उद्घाटन भई सञ्चालनमा आएको यस पुस्तकालयको भवन २०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पले भत्किएपछि पुर्ननिर्माण गरिएको हो ।

रिड नेपाल र एएसबीको आर्थिक तथा प्रविधिक सहयोगमा २ करोड ७५ लाख २७ हजार ५० रुपैयाँ बजेटमा बनेकाे याे पुस्तकालय नुवाकोटको मात्र नभई नेपालकै नमूना पुस्ताकलाय भएको रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठले बताए ।

नेपालकै पहिलो अपांग मैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालयमा पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, युवा कक्ष, सभा हल, सुचना संचार प्रवधि कक्ष, विपद् जोखिम न्युनिकरण कक्ष, श्रव्य दृश्य कक्ष, कार्यलय कक्ष रहेको उनले बताए । दुर्इ तल्ले पुस्तकालय भवनको हरेक कक्षमा सबै किसिमका अपांगता भएका व्यक्तिहरुको पहुँच रहने तथा प्रयोग गर्न सक्ने उनले बताए ।

एएसविका मार्टिन कुंशटमानले भूकम्पपछि स्थानीय समूदायले अस्थायी पुस्तकालय बनाएर प्रयोग गरेको देखेपछि आफू निकै प्रभावित भएको र भूकम्पप्रतिरोधी तथा अपाङ्गता मैत्री पुस्तकालय भवन निर्माणमा सहयोग गरेको बताए ।

कुल २ करोड ७५ लाख २७ हजार रुपैयाँ बजेट मध्ये १ करोड ७५ लाख रुपैयाँ लागतमा भवन निर्माण भएको र बाँकी रकम कृषि, पशु स्वास्थ्य, महिला सशक्ति करण, अपांगता समाबेशी कार्यक्रम, विपद् जोखिम न्युनिकरण कार्यक्रम, पढ्ने बानिको विकाश तथा शैक्षिक क्षेत्रको विकाश गर्ने र्काक्रम साथै पुस्तकालयमा पुस्तक, फर्निचर, आईसिटि सहित विभिन्न कक्ष जडानका सामाग्री खरिदमा खर्च हुने उक्त कार्यक्रम संयोजक श्यामराजा तिमल्सिनाले जानकारी दिए ।

स्थानीय सुभद्रा देबी तिमल्सिनाले १ रोपनी जग्गा दान गरी निर्माण गरिएको पुस्तकालय भवन थप ४ आना जग्गा पुस्तकालय आफैले खरीद गरी २० आना बराबरको क्षेत्रफलमा नयाँ भवन निर्माण गरिएको छ ।

बहिस्कार र आरोप–प्रत्यारोप

पुस्तकालय उद्घाटन गर्न कांग्रेस नेता प्रकाशमान सिंह, नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसी, नेविसंघका यूपी लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टर लिएर कुमरीमा अवतरण गरेको थियो । तर नुवाकोट जिल्लाबाट प्रतिनिधित्व जनप्रतिनिधिहरु उद्घाटन कार्यक्रममा सहभागि भएनन् ।

पुस्तकालय व्यवस्थापन समितिको कमजोरीका कारण केन्द्रीय संसदमा प्रतिनिधित्व गर्ने २ सांसद, प्रदेश संसदमा प्रतिनिधित्व गर्ने ४ सांसद, नगरपालिकाका मेयर, उपमेयरसहित सबैले उद्घाटन कार्यक्रम बहिष्कार गरेको पुस्तकालयका कोषाध्यक्ष तथा बडा नम्बर २ का अध्यक्ष रमेशप्रसाद न्यौपानेले बताए । ‘यस वडामा सुविधा सम्पन्न पुस्तकालय बनेकोमा हामी सबै खुशी छौं । तर यस पुस्तकालयको उद्घाटन कार्यक्रममा मेयर, उपमेयर, सम्पूर्ण सांसद तथा जनप्रतिनिधिको अनुपस्थितिले पुस्तकालयको दीगो सञ्चालनमा कठिन बन्ने देखिएको छ’ उद्घाटन कार्यक्रममा संबोधन गर्दै न्यौपानेले भने ।

पुस्तकालय उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै कांग्रेस नेता जनदीश्वर नरसिंह केसीले एमाले नेतृत्वलाई गाली गरे । रसुवाबाट प्रतिनिधित्व गर्ने एमालेका पूर्व सभासद् तथा ठेकदार जर्नादन ढकालले कुमरी जाने मोटर बाटाे निर्माणको ठेक्का लिएर करोडौ रुपैयाँ खाएको, पक्की सडक नहुँदा स्थानीय बासीले धेरै दुःख पाएको उनले  बताए ।

‘पानी परेपछि सडकबाट गाडी ल्याउन नसकिने भयो । आयोजकले जसरी पनि आउनुपर्छ भनेपछि हामी सेनाको हेलिकप्टर लिएर आयौं’ केसीले भने–‘हामी हेलिकप्टर चढेर पुस्ताकालय उद्घाटन गर्न गएको देखेपछि पत्रकारले समाचार लेख्छन् । पार्टी भित्र हाम्रो आलोचना हुन्छ । म यहि मञ्चचबाट स्पष्ट पार्छु, लागेको खर्च आयोजकले बेहोर्छौ भनेपछि हामी हेलिकप्टर लिएर आएका हौं । यसको दाहित्व हामी लिदैनौ ।’

काठमाडौंको चक्रपथबाट २५ किलोमिटर दुरीमा रहेको जनजागरण सामुदाहिक पुस्तकालयको भवन उद्घाटन गर्न कांग्रेस नेताहरु हेलिकप्टरमा पुगेपछि स्थानीय तहमा निकै चर्चा भएको छ । हेलिकप्टरको खर्च पुस्तकालयले नबेहोर्ने अध्यक्ष रामचन्द्र तिमल्सिनाले बताए । ‘कति विल आउँछ, त्यो पुस्तकालयले बोहोर्दैन, हामी साथीभाईहरु मिलेर उठाएर तिर्छौ’ उनले भने ।

प्रमुख सेनानी दानबहादुर थापाका अनुसार पाँच जनासम्म यात्रा गर्न मिल्ने सानो हेलिकप्टको प्रतिघण्टा १ लाख रुपैयाँ भाडा लाग्छ । पुस्तकालय उद्घाटनमा जान प्रकाशमानले लगेको हेलिकप्टर करिव चार घण्टा प्रयोग भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.