एनआईसी एशियाको एग्रेसिभ मुभः १ वर्षमा ५५ अर्ब निक्षेप बढायो, निजी बैंकमा सबै भन्दा अगाडी

  २०७५ वैशाख १८ गते १७:३२     विकासन्युज

काठमाडौं । एक वर्षको अवधिमा एनआईसी एशिया बैंकले निक्षेप ६८ प्रतिशत बढाएर निजी क्षेत्रको पहिलो बैंक भएको छ । गत चैतसम्म बैंकले निक्षेप बढाएर १ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको चैतमा बैंकले ७९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

आक्रमक रुपमा व्यवसाय विस्तार गर्दा १ वर्षमै ५५ अर्ब रुपैयाँ निक्षेप थपेको हो । निक्षेप संकलनको हिसावले एनआईसी एसिया निजी क्षेत्रको पहिलो र २८ वाणिज्य बैंक मध्ये दोस्रो स्थानमा उक्लिएको छ ।

एक वर्षयता एनआईसीले आक्रमक रुपमा व्यवसाय विस्तारमा लागेपछि निक्षेप र कर्जा लगानी दुबै बढेको छ ।

गत चैतसम्म एनआईसीले १ खर्ब ८ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा ६६ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अन्य प्रतिस्पर्धीलाई उछिन्दै एनआईसी एसियाले सबैभन्दा बढी निक्षेप परिचालन गरेको हो । आक्रमक बजार विस्तारका कारण एनआईसीले निक्षेप परिचालनमा पुराना नेपाल इन्भेष्टमेन्ट बैंक र नविल बैंकलाई पछि पारेको छ ।

सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भएको छ । राष्ट्रिय वाणिज्यको चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा निक्षेप बढेर १ खर्ब ५३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा राष्ट्रिय वाणिज्यले १ खर्ब ३५ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

बैंकले १ खर्ब १२ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा राष्ट्रिय वाणिज्यको कर्जा लगानी १ खर्ब १ अर्ब ३६ करोड रुपैयाँ थियो । सरकारी कोष परिचालन गर्ने भएकाले राष्ट्रिय वाणिज्यको निक्षेप सबैभन्दा बढी भएको हो ।

एनआईसी एसियापछि नेपाल इन्भेष्टमेन्ट बैंकले निक्षेप संकलन गरेको छ । चैतसम्म नेपाल इन्भेष्टमेन्टको निक्षेप बढेर १ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । यस्तै नविल बैंकको पनि बढेर १ अर्ब २३ अर्ब रुपैयाँ पुगेको हालै सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

एभरेष्ट बैंकको १ खर्ब ६ अर्ब र ग्लोबल बैंकको १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप परिचालन भएको छ । २१ बैंकको निक्षेप १ खर्ब रुपैयाँ भन्दा कम रहेको छ । एक खर्ब नजिकमा सरका स्वामित्वको कृषि विकास बैंक भएको छ । उसको निक्षेप परिचालन ९८ अर्ब रुपैयाँ नजिक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.