पाइलटले पत्याएनन् वायुसेवा निगमलाई, ४३ जना माग्दा १० जनाको मात्रै आवेदन

  २०७५ वैशाख १८ गते १३:५३     खेमराज श्रेष्ठ

काठमाडौं । नेपाल वायुसेवा निगमले पाइलट अभावको समस्या झेल्नु परेको छ । निगमले खुलाएको ४३ जनाको विज्ञापनमा १० जनाको मात्र आवेदन परेको हो ।

दुई महिना अघि निगमले खुलाएको विज्ञापनमा १० जना को पाइलटको मात्र नियुक्ति भएको छ । निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठका अनुसारका ४३ जनाको विज्ञापनमा १० जना नेपाली को पाइलटले मात्र आवेदन दिएका थिए ।

‘हामीले साना ठुला दुबै विमान उडाउन सक्ने क्याप्टेन पाइलट र को पाइलट दुबै पाइटलटको माग गरेका थियौं, तर १० जनाको मात्र आवेदन परेकोले अहिले १० सै जनालाई निगममा स्थाई जागिरका लागि नियुक्त गरेका छौं’, प्रवक्ता श्रेष्ठले विकासन्युजसँग भने ।

निगमले १० जना को पाइलटलाई ट्रेनिङमा राख्ने तयारी गरेको छ । उनीहरु तयार भएपछि मात्र विमान चीनबाट आएका १७ सिट क्षमताको दुई विमान उडाउनेछन् । निगमले चीनबाट एके भी र एके यू नामको १७ सिट क्षमताको जहाज ल्याएको छ । तर उडान गर्ने पाइटल नहुँदा सञ्चालनमा आउन सकेको छैन ।

निगमले गरेको विज्ञापनमा एयरबस ३३० का लागि क्याप्टेन पाइलट ६ जना, एयरबस ३२० का लागि क्याप्टेन ४ जना, बोइङ ७५७ को लागि ६ जना, एमए ६० को लागि ६ जना डीएचसी ६ र वाई १२ को लागि ११ जना, एयरबसका लागि को पाइलट ६ जना र बोइङको लागि ६ जना को पाइलट गरी ४३ जना पाइलटका लागि विज्ञापन खुलाएको थियो ।

यसैगरी निगमको दुई ठुला जहाज असारसम्ममा आइपुग्ने भएको छ । २५० जना सिट क्षमताको वाइड बडीका २ विमान असारसम्ममा काठमाडौं आइपुग्ने निगमले जनाएको छ ।

निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनलाई एयरबस ३३० र २०० सिरिजको विमान ल्याउन जिम्मा दिएको छ । नयाँ विमानले जापानको ओसाका, कोरियाको सिउल, र साउदी अरबको रियादमा उडान भर्ने निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए ।

अहिले नियुक्ती दिएका सबै नेपाली को पाइलट हुन् । अन्तराष्ट्रिय पाइलट ल्याउनका लागि सम्बन्धित देशमा इमेल तथा सञ्चार माध्याममा विज्ञापन गर्ने निगमले तयारी थालेको छ ।

निगमसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भर्ने ७४ जना पाइलट रहेका छन् । २९ जनाले आन्तरिक उडान भरिरहेका छन् । भने ४५ जना अन्तराष्ट्रिय उडान भर्ने पाइलट रहेको छन् ।

अहिले निगमसँग ६ वटा साना र ३ वटा ठुला विमान रहेका छन् । ६ साना विमानले देशभित्र विभिन्न २२ स्थानमा उडान भरिरहेका छन् । हप्तामा सेक्टर हेरी १ देखि ३ उडान गरिहेको छ ।

दैनिक उडान भर्न निगमसगँ भएका जहाजहरु ४० वर्ष भन्दा पुराना र आवश्यक संख्यामा पाइलटको संख्या नहुँदा उडानको संख्या बढाउन नसकेको श्रेष्ठले बताए । नयाँ आएका साना विमानले अहिले उडिरहेकै रुटमा सञ्चालन हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.