स्टीलकाे मूल्य प्रतिकेजी ३५ रूपैयाँ बढेकाे भन्दै ग्रील व्यवसायी अाक्राेशित, १६ रुपैंयाँ बढेकाे उद्योगी भनार्इ

  २०७४ चैत १६ गते ११:२६     पृथराज थेगिम

काठमाडौं । पछिल्लो समय फलाम र स्टिलजन्य निर्माण समाग्रीहरुको मूल्य निरन्तर बढेर प्रतिकिलो ३५ रुपैयाँ पुगिसकेको ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए । ‘गएको सात दिनमा मात्रै प्रतिकिलो फलामजन्य सामाग्रीको मूल्य ३ रुपैयाँ बढेको छ,’ उनले भने ‘पछिल्लो ४ महिनामा प्रतिकिलो ३५ रुपैयाँसम्म मूल्य बढेको छ ।’ हप्तादिनमै २/३ पटक मूल्य बढ्दा पनि सरकारले चासो नदिएको उनको गुनासो छ ।

यसरी नै फलाम र स्टीलकाे मूल्य बढ्ने हो भने ग्रिल तथा स्टिल व्यवासय धरासायी हुने उनको दावी छ । महंगाइको कारण केही महिनापछि व्यवसायनै बन्द हुने अवस्था आउने उनको भनाइ छ । ‘हामीले रोलिङ मिल हाडवेयर लगायत ठूला फलामजन्य उद्योगीहरुसँग छलफल गर्न वैठक डाक्यौं तर उनीहरु आएनन्,’ गुनासो गर्दै उनले भने ।

स्टील उद्योगीहरुले पनि चार महिनामा प्रतिकिलो १६ रुपैंयाँले मूल्य बढाएको स्वीकार गरेका छन् । अम्बे स्टिलका डाइरेक्टर पूर्णभद्र पौड्यालले पछिल्लो ४ महिनाको अबधिमा प्रतिकिलो १६ रुपैंयाँको हाराहारीमा मूल्य बढेको बताए । उनले बजारमा हल्ला गरे जसरी मूल्य नबढेको तर अन्तराष्ट्रिय बजारमा बढेको मूल्य र लागत अनुसार डन्डीको मूल्य समायोजन गरिएको बताए ।

‘अन्तर्राष्ट्रिय बजारमै फलामजन्य पदार्थको मूल्य बढेकोले अाफूहरुले पनि डन्डीको मूल्य बढाउन बाध्य भएका हौं,’ उनले भने ‘अधिकांश डन्डी र स्टीलको कच्चा पदार्थ भारतबाट भित्रिने गरेको छ ।’ उनका अनुसार भन्सार, भाडा जोड्ने हो भने कच्चा पदार्थको मूल्य पनि करिब प्रतिकिलो १५/१६ रुपैयाँ नै बढेको छ ।’

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशक कुमारप्रसाद दाहालले केही समय अघि मात्रै सिमेन्ट र डन्डीको मूल्य बढेको उजुरी आएपछि विभागले अनुगमन गरेको बताए । अनुगमनपछि विभिन्न सिमेन्ट उद्योगीहरुले २४  प्रकारका सिमेन्टको भाउ घटाएका थिए । केही डन्डी उद्योगहरुले पनि भाउ घटाएको उनको भनाइ छ । ‘अहिले फेरी बजारमा डण्डी, रड, स्टिल लगायतको मूल्य बढेको समाचारबाहिर आइरहेको छ,’ उनले भने ‘उजुरी आए लगत्तै हामी अनुगमन कार्य अघि बढाउने तयारीमा छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.