२०७४ माघ १ गते १८:०५ विकासन्युज
काठमाडौं। पछिल्लो समय मुलुकमा मोबाइलको आयात बढिरहेको छ । विभिन्न मुलुकहरुबाट विभिन्न ब्राण्डका मोबाइलहरु भित्रिनेक्रम बढेको हो । पुनःनिर्यात गर्ने हालसम्म कुनै प्राबधान नभएको मोबाइल व्यवसायीहरुको भनाइ छ ।
मोबाइल इम्पोटर्स एशोसिएशन नेपालका अध्यक्ष दिपक मलहोत्राले नेपालमा अहिले लाखौंको संख्यामा मोबाइल भित्रिने गरेको बताए । ‘ती मोबाइलहरुलाई रिएक्सपोर्ट गर्ने चलन हालसम्म छैन,’ उनले भने । सेकेन्डहेन्ड मोबाइललाई पुनःनिर्यात गर्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । पुनःनिर्यात गर्न सकिने भएपनि अहिलेसम्म कुनै उचित प्राबधान नभएको उनको गुनासो छ । मुलुकबाट पुननिर्यात गर्न सके इलेक्ट्रोनिक्स फोहोरको मात्रा घटाउनका साथैै व्यापार घाटालाई समेत केही मात्रामा न्यूनिकरण गर्न सकिने उनको बुझाइ छ । ‘नेपालमा मोबाइल औपचारिक तथा अनौपचारिक रुपमा भित्रने गरेको छ,’ उनले भने ‘ती सबै किसिमका मोबाइलहरुलाई पुननिर्यात गर्नका लागि छुट्टै किसिमको मापदण्ड आवश्यक छ, मार्केट अपरेटिङ प्राइज (एमओपी) तोक्न पर्छ ।’
सोमबार काठमाडौंको पाको न्यूरोड स्थित ताम्राकार मोबाइल कम्प्लेक्समा भएको केटिएम मोबाइलको ग्रान्ड ओपनिङमा सेकेन्डहेन्ड मोबाइलाई निर्यात गर्न पर्नेमा अध्यक्ष मलहोत्राले जोड दिएका थिए ।
त्यस्तै केटिएम मोबाइलका निर्देशक कृष्ण पराजुलीले शोरुममा जुनसुकै किसिमका पुराना मोबाइहरु निश्चित अबधिसम्म एक्सचेन्ज गरिने बताए । ‘पुराना मोबाइलहरुको अन्तराष्ट्रिय स्तरका भ्यालूएटरहले मूल्यांकन गरेको उचित मूल्यको आधारमा नयाँ मोबाइल खरिद गर्नको लागि सुविधा उपलब्ध गराइनेछ,’ उनले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.