२०८३ सम्ममा नेपालमा पेट्रोलको माग ६४ प्रतिशतले बढ्ने अनुमान

  २०७४ मंसिर १९ गते १२:२५     विकासन्युज

काठमाडौं । आगामी ९ वर्षसम्म नेपालमा पेट्रोलको माग ६४ प्रतिशतले वृद्धि हुने देखिएको छ । आर्थिक वर्ष २०८२/८३ सम्ममा पेट्रोलको माग करिब १० लाख किलोलिटर (केएल)सम्म पुग्ने नेपाल आयल निगमको प्रक्षेपणले देखिएको छ । सवारी साधनको चाप बढेसँग नेपालमा ईन्धन खपत पनि बढिरहेको निगमले जनाएको छ ।

सवारीसाधनको बढ्दो प्रयोगले पेट्रोलियम पदार्थको व्यवस्थापन जटिल बन्दै गएको छ । पेट्रोलियम पदार्थको वार्षिक खपत २० प्रतिशतले बढ्दै गइरहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए ।

हाल नेपालमा करिब ३ लाख ६० हजार केएलसम्म खपत हुनेगरेको छ । बढ्दो औद्योगिक ईन्धन खपत र सवारी साधनको प्रभाव देखिएको हो ।

अघिल्ला वर्षको तुलनामा यो चालु आर्थिक वर्ष ०७४/७५ मा इन्धनको खपत झनै बढेको छ । चुनाव र विकासका कामले पछिल्ला महिनामा खपत बढेको देखिएको छ । अहिले पेट्रोल मासिक ३६ हजार पाँच सय, डिजेल एक लाख १५ हजार, मट्टीतेल १८ सय, हवाई इन्धन १५ हजार र एलपिजी ग्यास ३० हजार केएल खपत भइरहेको निगमले जनाएको छ । आगामी तीन वर्षमा नै पेट्रोलको खपत ५ लाख किलोलिटर पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै आगामी सात वर्षमा डिजेलको खपत २० लाख केएलसम्म पुग्ने अनुमान छ । हाल वार्षिक साढे १३ लाख केएल हाराहारीको खपत भइरहेको डिजेल सात वर्षमा ३० प्रतिशतले बढ्ने निगमको प्रक्षेपण हो ।

अहिले वार्षिक करिब १ लाख ८० हजार केएल खपत भइरहेको हवाई ईन्धन ९ वर्षमा ५ लाख केएलको हाराहारीमा पुग्ने अनुमान छ ।

पाँच वर्षमा ह्वात्तै बढ्यो खपत

आर्थिक वर्ष ०६९/७० मा पेट्रोल दुई लाख २१ हजार ६ सय ७६ केएल खपत भएकोमा आर्थिक वर्ष ०७३/७४ मा चार लाख दुई हजार दुई सय ७८ केएल खपत भएको छ । यो पाँच वर्षमा डिजेल खपत सात लाख १६ हजार सात सय ४७ बाट बढेर १२ लाख ९७ हजार ६६ केएल पुगेको निगमले जनाएको छ ।

पेट्रोल र डिजेलको तुलनामा हवाई इन्धन र ग्यास खपत कम रहेको छ । हवाई इन्धन ५० प्रतिशतले र खाना पकाउने ग्यास ७२ प्रतिशतले वृद्धि भएको छ ।

नोक्सानी

पेट्रोलियम पदार्थ खपत वृद्धिले वायु प्रदूषणका साथै व्यापार घाटा पुर्‍याउदै आएको छ । नेपालमा खपत हुने पेट्रोलियम पदार्थको आन्तरिक उत्पादन छैन । यसको आपूर्ति शतप्रतिशत आयातमा निर्भर छ । नेपालमा भित्रने पेट्रोलियम पदार्थको आयात दक्षिण नाका भारतबाटै हुनेगरेको छ । विगत केही वर्षदेखि पेट्रोलियम आयातको विकल्प खोजिदै आएपनि हालसम्म यसको ठोस परिणाम आएको छैन ।

पेट्रोलियममा मात्र प्रत्येक वर्ष २२ देखि २४ अर्ब रुपैयाँबराबरको आयात हुने गरेको छ । राष्ट्र बैंकका अनुसार कुल वार्षिक निर्यात भने ९० अर्बको हाराहारीमा मात्रै हुने देखिन्छ। दुई वर्षअघि तत्कालीन सरकारले नै निर्यात प्रतिस्थापन गर्ने र एक खर्ब निर्यात पुर्‍याउने लक्ष्य राखे पनि चालू आर्थिक वर्षभित्र पनि एक खर्ब निर्यात नहुने राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । वाणिज्य मन्त्रालयको तथ्याकं अनुसार गत आवमा नेपालको व्यापार घाटा वार्षिक ९ खर्ब ९ अर्ब २६ करोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.