किन बिक्दैनन् एक सय रुपैंयाका हकप्रद सेयर ?

  २०७४ कार्तिक २८ गते ११:४६     विकासन्युज

काठमाडौं । ‘वित्तिय क्षेत्रको प्रतिफल राम्रो छैन, त्यसैले मैले गोर्खा फाइनान्सको ४ लाख कित्ता हकप्रद सेयर किनिन’, यो भनाई हो लगानी कर्ता राकेश कडुकियाको । उनले त प्रतिफल राम्रो नभएकाले गोर्खा फाइनान्सको हकप्रद सेयरका लागि आवेदन दिएनन् । तर उच्च प्रतिफल दिईरहेका बैंक तथा वित्तिय संस्थाकै थुप्रै लगानी कर्ताले ठुलो मात्रामा सेयर किनेका छैनन् ।

त्यस्तो सेयर लिलामी गरेर ती बैंक तथा वित्तिय संस्थाहरुले मनग्गै आम्दानी गरिरहेका छन् । राम्रा भनिएका बैंकहरुको हकप्रद सेयर पनि नबिकेको ज्वलन्त उदाहरण हुन, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकको हकप्रद सेयर ।

माछापुच्छ्रे बैंकले १ लाख ६० हजार ७४२ कित्ता हकप्रद सेयर कात्तिक ५ देखि १३ गतेको बिचमा लिलामी गर्यो ।
एभरेष्ट बैंकले बिक्रि नभएको ३५ हजार ८४१ कित्ता हकप्रद सेयर गत असोज २० देखि २७ गतेसम्म लिलामी गर्यो ।
सिद्धार्थ बैंकले भदौ ६ देखि १४ गतेको अवधीमा आफ्नो २ लाख ५३ हजार ९ सय २२ कित्ता हकप्रद सेयर लिलामी गर्यो ।
नेपाल एसबिआई बैंकले साउन ९ देखि १६ गतेसम्म ४ लाख ६९ हजार ५२ कित्ता सेयर लिलामी गर्यो ।

यी बैकहरुको एक सय रुपैंयामा खरिद गर्न पाइने हकप्रद सेयरमा समेत लगानी कर्ताको आकर्षण देखिएन् । आखिर किन ? सेयर बजार कानुनका जानकारी ज्योति दाहाल भन्छन–‘कम्पनीहरु सकेसम्म हकप्रद सेयर बिक्रि नहोस र लिलामी गर्न पाइयोस भन्ने ठान्छन्, नत्र एभरेष्ट, माछापुच्छ्रे, सिद्धार्थ, नेपाल एसबिआई जस्ता बैंकको हकप्रद सेयर लिलामीसम्म पुग्ने थिएन ।’

उनले बैंक तथा वित्तिय संस्थाहरुले सूचना लुकाएर हकप्रद सेयरलाई लिलामीमा पठाउने गरेको आरोप पनि लगाए । इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले देशभरबाट हकप्रद सेयर भर्न पाउने व्यवस्था नहुनु, पर्याप्त सूचना नपुग्नु र लगानी कर्ता विदेशमा रहनाले पनि हकप्रद सेयर लिलामीसम्म पुगेको बताए ।

नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरले लगानी कर्ता विदेशमा गएकाले हकप्रद सेयर बिक्रि नभएको हुनसक्ने बताए ।‘राम्रा कम्पनीहरुले पनि ठुलो मात्रामा हकप्रद सेयर लिलामी गरिरहेको देखिन्छ, त्यस्तो किन भयो भनेर हामीले अध्ययनै चाँही गरेका छैनौं’, बोर्डका सहायक प्रवक्ता घिमिरेले भने ।
उपत्यका बाहिर पनि हकप्रद सेयर भर्ने व्यवस्था, पर्याप्त सूचना प्रवाह गराउने लगायतका काम बोर्डले गरिरहेको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.