राष्ट्र बैंकको कारवाहीपछि गुरुप्रसाद न्यौपानेलाई पब्लिक कम्पनीको नेतृत्वबाट हटाउन दबाब, अपी, अरुण र सिद्धकालीमा के हुँदैछ ?

  २०७४ कार्तिक १० गते ९:२१     विकासन्युज

काठमाडौं । संस्थागत सुशासन उल्लंघन गरेर सेयर कारोबार गरेपछि २ करोड १९ लाख रुपैयाँ बराबरको सेयर जफत गरिएका गुरुप्रसाद न्यौपानेलाई पब्लिक कम्पनीको नेतृत्वबाट हटाउन दबाब परेको छ ।

जनता बैंकको सञ्चालक हुँदा गुरुले श्रीमती सावित्रादेवी न्यौपानेका नाममा भित्री रुपमा सेयर कारोबार गरेर संस्थागत सुशासन उल्लंघन गरेको प्रमाणित भएपछि नेपाल राष्ट्र बैंकको निर्देशनमा सावित्रादेवीको ८५ हजार १ कित्ता सेयर जफत भएको थियो । जनताले जफत गरिएको साधारण सेयर लिलामी प्रक्रिया अघि बढाइसकेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा सञ्चालकले पदमा वहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको शेयर खरीद गर्न नपाउने ब्यवस्था गरेको छ । सोही व्यवस्था विपरित गुरुले श्रीमतीको नाममा सेयर खरिद गरेको प्रमाणीत भएको छ ।

एउटा पब्लिक कम्पनीमा रहेर वित्तीय अपराध गरेका व्यक्तिलाई अर्काे कम्पनीको नेतृत्वमा बस्न दिँदा पुनः संस्थागत सुशासन उल्लंघन हुन सक्ने भन्दै नेपाल धितोपत्र बोर्डले त्यस्ता व्यक्तिलाई कम्पनीको नेतृत्वमै बस्न नपाउने व्यवस्था ल्याउन लागेको छ ।
“संस्थागत सुशासन उल्लंघन गर्नेलाई अर्काे पब्लिक कम्पनीको नेतृत्वमा बस्न दिनुहुन्न भनेर बोर्डमा लगानीकर्ताको प्रेसर आएको छ । अहिलेसम्म नीतिले त्यस्तो केसमा केही बोलेको छैन । अब त्यसबारे सोचिरहेका छौं, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने ।
‘जनता बैंकको सेयर कारोबारले हामीलाई संस्थागत सुशासनको दायरा फराकिलो बनाउनु आवश्यक छ भन्ने निष्कर्षमा पुर्याएको छ’, प्रवक्ता गिरीले भने ।

नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत कम्पनी मध्ये एउटा कम्पनीको सञ्चालक समितिमा वा उच्च व्यवस्थापन समितिमा रहेर बदमासी गरी दोषी ठहर भएको व्यक्तिलाई सूचिकृत अर्को कम्पनीको बोर्डमा वा उच्च व्यवस्थापनमा बस्न अयोग्य हुने गरी मापदण्ड बनाउनेबारे छलफल चलेको गिरीले बताए । एउटा नियामक निकायले संस्थागत सुशासन विपरित काम गरेको भनेर कारवाही गरेको व्यक्तिलाई अर्को नियामक निकायले संरक्षण गर्न नसक्ने गिरीको भनाई छ ।

जनता बैंकमा अबैध रुपमा सेयर कारोबार गरेर कारवाहीमा परेका न्यौपाने हाल अपि पावर लिमिटेड र अरुण कावेली पावर लिमिटेडमा अध्यक्ष छन् । दुबै कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत छ । सिद्धकाली पावर कम्पनीमा पनि न्यौपाने अध्यक्ष छन् । सिद्धकालीले साधारण सेयर (आइपीओ) निष्कासन गर्न बाँकी छ । भतिजा रमेशप्रसाद न्यौपाने अध्यक्ष रहेको अरुण भ्याली हाइडो पावर डेभलपमेन्ट कम्पनी पनि नेप्सेमा सूचिकृत छ । उनकी बुहारी पुजा दाहाल न्यौपाने पनि अरुण भ्यालीका सञ्चालिका हुन् ।

न्यौपाने परिवारले पब्लिक कम्पनीलाई व्यक्तिगत रुपमा उपयोग गरेको आरोप खेप्दै आएको छ । यहि बेलामा राष्ट्र बैंकले न्यौपाने परिवारको २ करोड भन्दा बढीको सम्पत्ति जफत गर्ने निर्णय गरेपछि उनी र उनको परिवार माथि उनका साझेदार, साधारण सेयरधनी र नियामक निकालले शंकाको व्यवहार गर्न थालेका छन् ।

के भएको थियो जनता बैंकमा ?

न्यौपाने बैंक सञ्चालक रहेका बेला श्रीमती सुमित्रादेवीको नाममा ५२ हजार ४७० कित्ता सर्वसाधारण दोस्रो बजारबाट खरीद गरेका थिए । त्यसपछि ५० प्रतिशत हकप्रदबाट २६ हजार २३५ कित्ता र १२ प्रतिशत बोनसबाट ६ हजार २९६ कित्ता गरी न्यौपानेको कुल शेयर संख्या कुल शेयर संख्या ८५ हजार एक कित्ता पुगेको थियो ।

त्यस विषयमा उजुरी परेर राष्ट्र बैंकले छानविन थालेपछि न्यौपानेले २०७१ पुस ११ गतेबाट लागू हुने गरी भन्दै बैंकको सञ्चालक पदबाट राजीनामा दिएका थिए । राजीनामा देखाइ कारबाहीबाट बच्न उनले यसो गरेका थिए । तर, सञ्चालक समितिले भने २०७३ पुस २१ गते मात्र राजीनामा स्वीकृत गरेको थियो । न्यौपाने जनता बैंकका संस्थापक अध्यक्ष समेत हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.