एनआइसी एशिया बैंकको क्रसबोडर कारोबार आजैबाट, ह्याकरले कति रकम चोर्यो, कसलाई नोक्सान भयो ?

  २०७४ कार्तिक ६ गते १०:५०     विकासन्युज

काठमाडौं । स्वीफ्ट सर्भर डाउन भई क्रसबोडर कारोबारमा समस्या भोगिरहेको एनआइसी एशिया बैंकले आजैदेखि क्रसबोडर कारोबार सुचारु गर्ने जनाएको छ । बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेका अनुसार बैंकले आजै नयाँ सर्भर राखेर क्रसबोर्डर कारोबार सुचारु गर्न लागेको छ ।

बैंकका ग्राहकले विदेशबाट बस्तु तथा सेवा खरिद गर्दा बैंकबाट गरिने भुक्तानीलाई क्रसबोर्डर बैङिक कारोबार भनिन्छ । नेपालका बैंकहरुले विदेशमा भुक्तानी पठाउँदा प्रायः स्वीफ्ट सर्भर प्रयोग गर्ने गरेका छन् ।

तिहारको विदाको समयमा एनआइसी एशिया बैंकले प्रयोग गर्दै आएको स्वीफ्ट सर्भरमा ह्याकरले ह्याक गरी विदेशमा रहेका खाताबाट पैसा चोरी गरेको आशंका गरिएको छ । ‘कारोबार शंकास्पद देखिएपछि हामीले उक्त सर्भर बन्द गरेर अनुसन्धान गरिरहेका छौं । उक्त सर्भर बन्द गरिएपछि बैंकले देशबाहिर हुने कारोबार बन्द गरेको छ’ न्यौपानेले भने ‘पुरानो सर्भर बन्द गरेर नयाँ सर्भर जडान गर्दैछौं । आजै मध्यान्नदेखि क्रसबोडर कारोबार शुचारु हुनेछ ।’

आईतबार क्रसबोडर कारोबार रोकिए पनि नेपालभित्र बैंकका सबै शाखाहरुबाट नियमित कारोबार भएको उनले बताए ।

कति चोरी भयो ? कसको पैसा चोरी भयो ?

एनआइसी एशियाको स्वीफ्ट सर्भर ह्याक भएको आंशकाबारे विकासन्युजमा समाचार प्रकाशित भएपछि विभिन्न सञ्चार माध्यमले ५ करोडदेखि ३० करोड रुपैयाँसम्म चोरी भएको अंक समाचार छापेका छन् ।

खासमा कति रकम चोरी भयो ? यकिन भएको छैन ।

उक्त बैंकमा कामु प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने–‘वाहिर हल्ला गरिए जस्तो बैंकबाट धेरै रकम बाहिरिएको छैन । प्रचारमा आएजति रकम बैंकको खातामा नै छैन । हुँदै नभएको पैसा कसरी चोरी हुन सक्छ ?’

‘क्रसबोर्डर कारोबार गर्न विभिन्न देशका बैंक तथा वित्तीय संस्थामा बैंकले खोलेको आफ्नै खातामा शंकास्पद कारोबार भएको देखिएपछि हामीले ती सबै खाताको कारोबार बन्द गराएर अनुसन्धान थालेका छौं । अहिलेसम्म ह्याकरले चोरी गरेको पुष्टि भईसकेको छैन’ उनले भने–यस्तो अवस्थामा यति रकम गलत ट्रान्सफर भयो भनेर कसरी यकिन हुन्छ ?’

बैंकका सबै ग्राहकहरुको खाता पूर्ण सुरक्षित रहेको उनले बताए । बैंकबाट ह्याकरले झिकेको रकम पुष्टि भएमा उक्त रकम बैंकको नोक्सानीमा जाने र त्यसको असर सेयरधनीले पाउने लाभांशमा पर्ने एकजना लेखापरिक्षकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.