यूनाईटेड इन्स्योरेन्समा ३६ करोड घोप्लाबाजी प्रकरण : ३ दिनभित्र स्पष्टीकरण पेस गर्न बीमा समितिको निर्देशन

  २०७४ भदौ २३ गते १३:३२     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिको निर्देशनको अवज्ञा गरेको छ । निर्देशन पालना नगरेपछि बीमा समितिले सो कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

बीमा समितिले भदौ २२ गते पत्र लेख्दै स्पष्टीकरण माग गरेको हो । ‘समितिले ३ दिन भित्र लिखित जवाफ पेश गर्ने निर्देशन दिएको छ’ सम्बद्ध स्रोतले भन्यो । बीमा समितिबाट प्राप्त पत्र विहीबार नै कम्पनीमा दर्ता भएकोे यूनाइटेड इन्स्योरेन्स कम्पनी सम्बद्ध स्रोतले पुष्टि गरेको छ । कम्पनीले आईतबार भित्र स्पष्टीकरण दिनुपर्ने भएको छ ।

यसअघि बीमा समितिले आर्थिक वर्ष २०७२/७३को वासलातसहितको वार्षिक प्रतिवेदन अस्वीकृत गर्दै लेखापरीक्षकले जनाएको कैफियत अनुसार प्रोभिजन बढाएर संशोधित वार्षिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो । साउन १६ गते पत्र लेख्दै समितिले भदौ १५ गतेभित्र संशोधित आर्थिक प्रतिवेदन पेश गर्ने निर्देशन दिएको थियो ।

समितिको निर्देशन पालना नगरी यूनाईटेड इन्स्योरेन्स कम्पनीले नियामक निकायलाई अटेर गरेको ठहर गर्दै बीमा समितिले भदौं २२ गते प्रष्टीकरण सोधेको हो । चौधरी ग्रप अन्तरगतको ‘सिटी स्केप’को ५३ करोड ५८ लाख रुपैयाँ दावी भुक्तानी विवादमा यूनाइटेड इन्स्योरेन्स कम्पनीभित्र करिब करिव ३६ करोड रुपैयाँ घोप्लाबाजी भएको छ ।

बीमा समितिले प्रष्टीकरण माग्दै दोस्रो निर्देशन दिएपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बराल र निर्वाण चौधरीबीच पटक पटक छलफल भएको छ । कम्पनीका अध्यक्ष विजयबहादुर श्रेष्ठले यस विषयमा आफू केही नबोल्ने बताए ।

१ अर्ब २३ करोड रुपैयाँ भ्यालुको बीमा भएको सिटी स्केपको अपार्टमेन्टमा २०७२ सालको भूकम्पले क्षति पुर्याउपछि कम्पनीले ५३ करोड ५८ लाख रुपैयाँ बीमा दावी गरेको छ । ‘नेपाली भ्यालुएटर राजन थापा र एउटा भारतीय कम्पनीले गरेको भ्यालुएशनको आधारमा ५३ करोड ५८ लाख रुपैयाँ बीमा दावी गरिएको छ । त्यसमा १ प्रतिशत सेवा शुल्क थप गरिएको छ’ स्रोतले भन्यो ।

उक्त दावी आएपछि युनाईटेड इन्स्योरेन्स कम्पनीले तत्काल २५ करोड रुपैयाँ सिटीस्केपलाई भुक्तानी गरेको छ । यो कम्पनी अरुणकुमार चौधरीको हो । युनाईडेड इन्स्योरेन्सको मुख्य लगानीकर्ता समेत रहेको चौधरी ग्रुप नै हो ।

‘लेखापरीक्षक प्रदीपकुमार श्रेष्ठले औल्याएको वित्तीय विवरण अनुसार पुर्नबीमा कम्पनीबाट ५१ करोड ८० आउनु पर्ने देखिन्छ । तर पुर्नबीमाबाट करिव १४ करोड रुपैयाँ मात्र आएको छ । सोही आधारमा पुर्नबीमाबाट आउनु पर्ने भनिएको तर नआएको रकम (करिव ३६ करोड रुपैयाँ) प्रोभिजन गर्न बीमा समितिले भनेको छ’ स्रोतले भन्यो ।

सपोर्ट डकुमेन्ट नभएको पुर्नबीमा कम्पनीले थप भुक्तानी दिन अस्वीकार गरेको छ । ‘डकुमेन्ट हेर्दा पुरै भवनको बीमा गरिएको देखिएन, फ्लोरवाईज बीमा गरिएको रहेछ । पुर्नबीमा गर्दा कम्पनीको तर्फबाट गम्भिर त्रुटी भएको देखिएको छ । यसरी गरिएको बीमा ‘बीमाको सिद्धान्त र अन्तराष्ट्रिय अभ्याससँग मेल खाँदैन’ स्रोतले भन्यो । पुर्नबीमाबाट थप भुक्तानी हुने सम्भावना नरहेकोले बीमा समितिले प्रोभिजन गर्न कम्पनीलाई निर्देशन दिएको स्रोतको भनाई छ ।

सम्बन्धित समाचारहरू

पुर्नबीमाकाे ३४ करोड भुक्तानी नपाएपछि यूनाइटेड इन्स्योरेन्स संकटमा, कम्पनी २६ करोड नोक्सानमा, बोनस र हकप्रद सेयर रद्द

महत्वपूर्ण सूचना लुकाएर सेयर लगानीकर्तालाई डुबाउँदै यूनाइटेड इन्स्योरेन्स

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.