कलंकीदेखि नौविसेसम्म सडकको विकल्प खोज्दै सरकार, धार्के-सीतापाइललाई स्तरोन्नति गर्दै

  २०७४ साउन १८ गते ९:४१     विकासन्युज

काठमाडौं । काठमाडौं प्रवेशका मुल राजमार्ग नौविसेबाट काठमाडौं प्रवेशमार्गको विकल्पको खोजी सुरु भएको छ । दिनहुँ हुने सडक जाम, काठमाडौं प्रवेशको एउटैमात्र मार्ग हुँदा नागढुंगादेखि कलंकीसम्म नै हुने सवारी जाम र त्यसमा पनि बाटो विस्तारको ढिलाइलाई दृष्टिगत गरेर सरकारले कलंकी नौविसे सडकको विकल्पका रूपमा धार्के सीतापाइला सडकलाई लिएको छ ।

यो सडक धार्केबाट सीतापाईलासम्म जम्मा २४ किलोमटिर रहेको र यो सडक हाल ट्याक खुलिसकेकोले स्तरोन्नती मात्रै गर्नुपर्ने सडक विभागले जानकारी दिएको छ ।

सडक विभाग अन्तर्गत मध्यामाञ्चलन क्षेत्रीय निर्देशनालय प्रमुख शिवहरि सापकोटाका अनुसार यो काठमाडौंबाट नौविसे पुग्न र नौविसेबाट काठमाडौं आउन पनि निकै असहज भएकोले विकल्पको रुपमा धार्केबाट सीधै काठमाडौं आउने बाटो बनाउन लागिएको छ ।

यो बाटो गत वर्षबाट नै आवश्यक बजेट विनियोजन गरेर धमाधम निर्माण भइरहेको पनि उनले जानकारी दिए ।

काठमाडौं खण्डको नौ किलोमिटर काठमाडौंबाट ठेक्का लागेको र धादिङ खण्डको बाँकी सडक चितवन डिभिजनले निर्माण कार्य अगाडि बढाएको पनि सडक विभागले जानकारी दिएको छ ।

हाल त्रिपुपरेश्वर नागढुङ्गा सडक विस्तारको काम पनि भइरहेको छ । यो सडक निर्माण हुँदै गर्दा बढेको विविध समस्या समाधान गर्दै सडक त निर्माण हुन्छ तर पनि विकल्पको रुपमा उक्त सडक अगाडि बढिरहेको पनि उनको भनाइ छ ।

काठमाडौंबाट नौविसे हुँदै धार्केसम्म जाने सडकमा ट्राफिक जाम बढेपछि विकल्पमा सीतापाइला धार्के सडक निर्माण गर्न सरकारले रणनीतिक सडकको पाँच वर्षे योजनामा राखेको पनि उल्लेख छ ।

सडक विभागले पनि यो सडकल निर्माण गर्न सरकारी प्राथमिकता भित्रै रहेको दाबी गरेको छ । यही सडक निर्माण गर्न यसअघि कुवेत सरकारले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनसमेत सरकारलाई दिइसकेको छ ।

कुवेतले सीतापाइलादेखि धार्केसम्म २४ किलोमिटर सडक बनाउन चाहेको भए पनि यसको प्रक्रिया ढिलो भएकाले डीपीआर मात्रै सरकारले स्वीकृत गरेको थियो । यही प्रतिवेदनअनुसार यो सडक नेपाल सरकारले आफ्नै बजेटबाट निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

यो सडक निर्माण गर्न सरकारल गत आर्थिक वर्ष २०७३/०७४मा १५ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमको आवश्यक ठेक्का लगाएर काम भएको पनि विभागको भनाइ छ । यो वर्ष उक्त सडकको लागि थप २५ करोड खर्च हुने पनि उल्लेख छ । सीतापाइलाबाट सुरु हुने यो सडक धार्के जोडिदाँसम्म २५ किलोमिटरको हुन्छ ।

सडक निर्माणको कुल लागत दुई अर्ब ५० करोड रुपैयाँ रहेको छ । सरकाले हाललाई यो सडक आवश्यक मर्मत गर्न र वर्षेनी स्तरवृद्धि गर्दै जाने योजना अनुसार बजेट विनियोजन गर्दै काम गराइरहेको पनि विभागको भनाइ छ । यो सडक काठमाडौंतर्फको ९ किलोमिटर सडक चौडा बनाएर दुई लेनको बनाउन ठेक्का लागेकोले गत आवदेखि नै धमाधम काम भइरहेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.