लोडसेडिङ हटाउने कुलमान घिसिङ र प्रचण्ड पुत्र प्रकाशलाई एउटै सम्मान

  २०७४ जेठ १५ गते ११:२४     विकासन्युज

काठमाडौं । १० औं गणतन्त्र दिवसका दिन लोडसेडिङ हटाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुप्रबल जनसेवाश्री पदकले सम्मान गरिँदैछ । तर बिडम्बना  प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहाल पनि कुलमानलाई नै दिइने सुप्रबल जनसेवाश्री पदकबाटै सम्मानित हुँदैछन् । चितवनका समाजसेवीका रुपमा प्रकाश दाहालललाई सुप्रबल जनसेवाश्री पदकले सम्मानित गर्न लागिएको हो । प्रकाश बहु विवाहमा मुछिएका व्यक्ति हुन् । उनले तीन वटा विवाह गरेका छन् ।


मुलुकलाई अन्धकारबाट उज्यालो अभियानमा अघि बढाउने कुलमान घिसिङ र तीन वटा विवाह गर्ने प्रकाश दाहाललाई एकै पटक सम्मान गरेर सरकारले गणतन्त्रलाई मजाक बनाएको छ ।

आफ्नै हात जगन्नाथ भने झै आफै प्रधानमन्त्री हुँदा प्रचण्डले छोरालाई राज्यको उपल्लो दर्जाको सम्मान दिलाएका हुन् । कुलमान र प्रकाशसँगै अन्य १२० जनाले सुप्रबल जनसेवाश्री पदक पाउँदैछन् ।

सरकारले १० औैं गणतन्त्र दिवसमा ५१४ जनालाई विभिन्न पद तथा विभुषणद्धारा सम्मान गर्न लागेको हो । यसपाली विश्वेश्वर प्रसाद कोइरालालाई मरणेपरान्त नेपाल रत्न र महेन्द्र नारायण नीधीलाई राष्ट्रगौरव पदबाट सम्मान गरिँदैछ ।

यस अघि एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न पदक प्रधान गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको जोडबलमा मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न पदक दिइएको आरोप लाग्दै आएको छ ।

यसपाली मुख्य सचिव डा. सोमलाल सुवेदी र गृह सचिव लोक दर्शन रेग्मीलाई पनि  पदकले सम्मानित गरिँदैछ । गृह सचिव नेतृत्वकै समितिले पदक दिने व्यक्तिहरुको छिनोफानो गर्ने व्यवस्था रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.