बीमा कम्पनीको चुक्ता पुँजी ४ गुणा वृद्धि, समय सीमा २०७५ पुस मसान्तसम्म

  २०७३ चैत १८ गते १६:४४     विकासन्युज

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी चार गुणाले वृद्धि गरेको छ । विहीबार बसेको समितिको सञ्चालक समितिको बैठकले जीवन बीमा कम्पनीको लागि न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको लागि न्यूनतम पुँजी १ अर्ब रुपैयाँ हुनु पर्ने निर्णय गरेको हो ।

हाल जीवन बीमा कम्पनीको लागि न्यूनतम ५० करोड र निर्जीवन बीमा कम्पनीको लागि २५ करोड चुक्ता पुँजी तोकिएको थियो  ।

‘२०७५ असार मसान्तसम्ममा जीवन बीमा कम्पनीले न्यूनतम २ अर्ब र निर्जीवन बीमा कम्पनीले न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पुँजी बनाउनु पर्नेछ’ बीमा समितिका अध्यक्ष चीरञ्जीवि चापागाईले विकासन्युजसँग भने–‘पुँजी वृद्धिको प्रक्रियामा रहेका तर प्रक्रिया पुरा हुन बाँकी रहेको अवस्थामा बढीमा ६ महिना समय थप्न सकिने गरि निर्णय भएको छ ।’

२०७५ असार मसान्त सम्मको नाफाबाट बोनस वितरण प्रक्रिया पुरा गर्न वा हकप्रद सेयर निष्काशनको प्रक्रिया पुरा गर्न समय लागेको अवस्थामा तीन/तीन महिना गरी बढीमा ६ महिना समय थप्न सकिने गरि निर्णय भएको उनले बताए ।

                                                                 लाइफ इन्स्योरेन्स


स्रोतः नेप्से  

बीमा बजारको अवस्था, पहुँच, कम्पनीहरुको व्यापारको आकार, कम्पनीहरुको पुँजीलाई आधार मानेर पुँजी वृद्धिको निर्णय गरिएको उनले बताए । बीमा कम्पनीहरुको पुँजी सीमा ८ वर्षपछि वृद्धि गरिएको हो ।

‘बीमा ऐनमा ४/५ अर्ब पुँजी प्रस्ताव गरिएको भनेर पुँजी बजारमा अनावश्यक हल्ला फैलाईएको छ । त्यो सब गलत हो’ अध्यक्ष चापागाईले भने-‘प्रस्तावित बीमा ऐनले बीमा कम्पनीको पुँजी सीमा तोक्ने अधिकार बीमा समितिलाई दिएको छ । बजारको आवश्यकता र औचित्य हेरेर बीमा समितिले नयाँ निर्णय लिदै जानेछ ।’

                                                       नन लाइफ इन्स्योरेन्स

स्रोतः नेप्से  

हाल वार्षिक जीवन बीमा प्रिमियम करिव ३२ अर्ब रुपैयाँ रहेको र निर्जीवन बीमा प्रिमियम करिव १५ अर्ब रुपैयाँ रहेको, बीमा बजारको पहुँच करिव ८ प्रतिशत मात्र रहेको उनले बताए । हाल जीवन बीमा कम्पनी ९ वटा र निर्जीवन बीमा कम्पनी १७ वटा छन् ।

नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने विषयमा छलफल भईरहेको तर निर्णय केही पनि नभएको उनले बताए । ‘नयाँ बीमा कम्पनी सञ्चालन अनुमति माग गर्दै प्रस्ताव आएका छन् । अनुमति दिने विषयमा छलफल भईरहेको छ । तर निर्णय केही भएको छैन’-उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.