पोखरामा टेलिकमको एमएसएजी एक्सचेञ्ज सञ्चालनमा, एक्सचेञ्जको क्षमता ७३६ लाइन

  २०७३ पुष २४ गते १८:२२     विकासन्युज

काठमाडौं, २४ पुस । नेपाल टेलिकमद्धारा पोखराको छिनेडाँडामा एमएसएजी एक्सचेञ्ज सञ्चालनमा ल्याइएको छ । सूचना तथा सञ्चार मन्त्री सुरेन्दकुमार कार्कीले आइतबार उक्त एक्सचेञ्जको उद्घाटन गरेका छन् । उनले पुम्दी भुम्दीका स्थानीय राजु छेत्रीलाई टेलिफोन गरी तथा इन्टरनेटमा भिडियो प्लेगरी उद्घाटन गरेका हुन् ।

pokhara1_msag_ntc

सो अवसरमा कार्कीले पोखरा नगरलाई स्मार्ट सिटी बनाउने कार्यमा नेपाल टेलिकम मार्फत सरकारले सहयोग गर्ने बताएका छन् । नेपाल टेलिकमसँग बलियो पुर्र्वाधार र दक्ष जनशक्ति भएको र यहाँका कर्मचारीलाई प्रोत्साहित गरेमा राम्रो परिणाम आउनसक्ने बताएका छन् ।
सो अवसरमा संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले उक्त क्षेत्रमा छोटो समयमा टेलिफोन सेवा वितरण गर्ने ब्यवस्था मिलाएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिएका छन् । साथै, उनले नेपाल टेलिकमले नाफा हुने क्षेत्रमा कमाएर दुर्गम र विकट भेगमा सेवा विस्तार गरिरहेको बताए । उनले पोखरा नगरलाई वाइफाइ फ्रि जोनको रुपमा विकास गर्न कम्पनीले सहयोग गर्नुपर्ने बताएका छन् ।

उक्त अवसरमा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल टेलिकम ब्यवसायिक संस्था मात्र नभएर सामाजिक उत्तरदायित्व बहन गर्दै देशको आर्थिक, सामाजिक क्षेत्रमा समेत योगदान गर्ने कम्पनी भएको बताइन् । उनले एक्सचेञ्जको समुद्घाटनका अवसरमा पचास रुपैयाँ बराबरको टक भ्यालु रहेको निःशुल्क सिम वितरण गरिएको समेत जानकारी दिएकी छन् ।

उक्त अवसरमा दूरसञ्चार कार्यालय पोखराका प्रमुख नरेशकाजी शाक्यले एक्सचेञ्जको क्षमता ७३६ लाइन रहेको तथा माग अनुरुप लाइन थप गर्दै लान सकिने सुविधा पनि रहेको जानकारी दिएका छन् । सो एक्सचेञ्जबाट हाललाई टेलिफोन, इन्टरनेट तथा फ्याक्स सुविधा लिन सकिने र त्यसपछि आवश्यकता अनुसार टेलिभिजन तथा मल्टिमिडियाको सुविधा पनि लिन सकिने जानकारी दिएका छन् ।

उक्त अवसरमा सो क्षेत्रका सभासद शारदा पौडेल, कम्पनी प्रमुख ब्यावसायिक अधिकृत प्रदीप राज उपाध्याय, स्थानीय वासिन्दा, व्यवसायी, समाजसेवी लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.