एनसीसी बैंक डुबे ८७ हजार सेयरधनी जिम्मेवार, गभर्नर भन्छन्- सानो ढुंगाले हान्दा घक्क्रक्क ढल्ने बैंक के काम ?

  २०७३ पुष १७ गते १३:४२     विकासन्युज

dr_nepalकाठमाडौं, १७ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले बैंक चलाउने काम सेयरधनीको भएको बताएका छन् । विगत तीन वर्षदेखि राष्ट्र बैंकले चलाउँदै आएको एनसीसी बैंक आजदेखि लगानीकर्तालाई सुम्पेको छ ।

एनसीसी बैंकमा चार वटा विकास बैंक मर्जपछि एकिकृत कारोबारको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै गभर्नरले भने– ‘बैंक सेयरधनीले चलाउने हो, बैंक राम्रो बनाउने पनि सेयरधनीले हो, विगार्ने पनि सेयरधनीले हो । वाहिरको मान्छे आएर बैंक विगार्न पनि सक्दैन, तपाईहरुको बैंक बाहिरको मान्छे आएर चलाउन पनि सक्दैन ।’

राष्ट्र बैंकले छोडेर गएपछि पनि बैंकको संस्थागत सुशासन राम्रो हुने, सञ्चालक समितिले व्यवस्थापकिय काममा हस्तक्षेप नगर्ने, राष्ट्र बैंकको निर्देशन पूर्ण रुपमा पालाना हुने र सीमित कर्मचारीमा मात्र संस्था हावी नहुने आफूले विश्वास गरेको उनले बताए ।

‘व्यस्थापकिय काम नियन्त्रणभन्दा वाहिर नजाओस्, मैले सिईओ सावलाई भनि सकेको छु । जथाभावी कर्जा लगानी हुँदैन भन्ने विश्वास लिएको छु । अबको दिनमा धितोको अधिक मूल्याङकन हुने छैन’ उनले भने ।

‘फेरी पनि यो बैंक राष्ट्र बैंकले समाल्ने स्थिति नआओस’ गभर्नर नेपालले भने–‘राष्ट्र बैंक अब विग्रेको संस्था समाल्ने पक्षमा छैन । नेपाल राष्ट्र बैंक सम्बन्धि नयाँ ऐनले बिग्रेको संस्था सोझै खारेज गर्न सक्छ । कसैले अदालतमा गएर राष्ट्र बैंकको निर्णय रोक्छु वा उल्ट्याउँछु भनेर नसोचे हुन्छ । त्यस्तो सपना नदेखे हुन्छ ।’

संस्थागत सुशासनमा चरम लापरवाही भएकोले १६ वटा बैंक तथा वित्तीय संस्था समस्यामा परेको इतिहास कोल्ट्याउँदै उनले भने ‘अब एनसीसी बैंकमा त्यस्तो हुने छैन ।’

ncc_mergeयो बैंक फेरी पनि समस्यामा परेमा यस बैंकका सेयरधनी जिम्मेवार हुने उनले बताए । ‘बैंक तलमाथि भए ८७ हजार सेयरधनी जिम्मेवार हुनेछन्’ गभर्नर नेपालले भने ।

सानो बैंकको काम नभएको बताउँदै उनले बैंकलाई ठूलो बनाउन पुँजी वृद्धिको निर्णय भएको बताए । २०६३ असारमा बैकिङ क्षेत्रको कुल निक्षेप २८४ अर्ब रुपैयाँ थियो । २०७३ असार मसान्तमा निक्षेप २०९६ अर्ब र कर्जा लगानी २०३५ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै बैैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि गरेको बताए । त्यतिबेला जीडीपी ६५४ अर्बको थियो । ७३ असारमा २२४९ अर्बको छ । यति ठूलो अर्थतन्त्र भएको देशमा २ अर्बको बैंकले के गर्न सक्छ ?

अहिले पनि ६० प्रतिशत नेपाली बैकिङ प्रणाली भित्र आएका छैनन् । उनीहरुको उद्दार गर्नुछ । एउटा सानो हाइड्रोपावरमा कर्जा लगानीगर्दा ६ वटा बैंकले कन्सोर्टिएममा कर्जा लगानी गर्नु पर्ने अवस्था छ । ‘एउटा सानो ढुंगाले हान्दा घक्क्रक्क ढल्ने बैंक तथा वित्तीय संस्था राखेर के काम ?’ उनले प्रश्न गरे । एनसीसी बैंकले असार मसान्तसम्ममा ८ अर्ब पुँजी पुर्याउने विश्वास गर्दै अब यस बैंकका सेयरधनी सुरक्षित भएको र उनीहरुलाई राती आनन्दले निन्द्रा लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.