मदिराको बिक्री वितरणमा रोक लगाएपछि भारतीय पर्यटक नेपाल आउने क्रम बढ्दो

  २०७३ भदौ १२ गते ७:४३     विकासन्युज

मोरङ, १२ भदौ । पूर्वका पर्यटकीयस्थल घुम्न आउने भारतीय पर्यटकको चाप बढेको छ । मोरङलाई केन्द्र बनाएर पूर्वका भेडेटार, नमस्ते झरना, हिले, वसन्तपुर, मिल्केजलजले, जेफाले पर्यटकीय क्षेत्रलगायतका ठाउँ घुम्न जाने भारतीय पर्यटक बढेका हुन् । भारतमा मदिराको बिक्री वितरणमा रोक लगाएपछि झनै भारतीय पर्यटक आउने क्रम बढेको पर्यटन व्यवसायीको भनाइ छ ।

मोरङका पर्यटन व्यवसायी पुण्य भट्टराईका अनुसार साउनयता भारतीय पर्यटकको सङ्ख्या अत्यधिक बढेको छ । उनका अनुसार दुई दिनअघि मात्रै ६३ जनाको एउटै टोली आएको थियो । २ वटा रिजर्भ गाडीमा आएका उनीहरु विराटनगरलाई केन्द्र बनाएर भेडेटार र नमस्ते झरना घुमेर फर्किएका थिए । गत वर्षको वैशाखमा गएको विनाशकारी भूकम्प र त्यसपछि लगत्तै सुरु भएको मधेस आन्दोलन र नाकाबन्दीका कारण पूर्वमा पर्यटन व्यवसाय सुस्ताएको थियो ।

मधेस आन्दोलन मत्थर भएसँगै पूर्वमा पर्यटकको चहलपहल बढेको थियो । गत वर्ष गएको भूकम्पको गलत प्रचार हुँदा लामो समयसम्म भारतीय पर्यटक आएनन् । जसका कारण पूर्वका पर्यटन व्यवसायीले मात्रै करिब ५ अर्बभन्दा बढीको नोक्सानी व्यहोर्नुपरेको पूर्वाञ्चल क्षेत्रीय होटल व्यवसायी सङ्घका अध्यक्ष सुरेश भट्टराईको भनाइ छ ।

गत वैशाखयता दैनिक एक हजारभन्दा बढी भारतीय पर्यटक जोगबनी नाकाबाट भित्रिने गरेको व्यवसायीको अनुमान छ । नाकामा पर्यटक आवागमनको तथ्याङ्क राख्ने निकाय छैन । यो क्षेत्रका पर्यटन व्यवसायीले लामो समयदेखि रानी भन्सार नाकामा अध्यागमन कार्यालय स्थापना गर्न माग गर्दै आएका छन् । पूर्वमा पर्यटनको सम्भावना देखेर भट्टराईले हालै रु २५ करोड लगानीमा होटल एसियाटिक सञ्चालनमा ल्याएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.