नेपालका दूरसञ्चार पूर्वाधारमा हुवावेको दवदवा, विटिएस टावरदेखि अन्तराष्ट्रिय गेटवेसम्म

  २०७३ भदौ ४ गते ९:५८     विकासन्युज

काठमाडौं, ५ भदौ। मुलुकको दूरसञ्चार क्षेत्रमा प्रयोग हुने पूर्वाधारमा चीनको हुवावे टेक्नोलोजिज कम्पनीको वर्चश्व देखिएको छ । सेवाप्रदायक कम्पनी नेपाल टेलिकम, एनसेल, युनाइटेड टेलिकम (यूटीएल), स्मार्ट टेलिकमलगायत कम्पनीमा अधिकांश पूर्वाधार हुवावेका छन् ।

पछिल्लोपटक बोलपत्रमार्फत वा सिधै हुने सम्झौता दुवैमा हुवावेको छनोट बढ्दो छ । हुवावे चीनको निजी क्षेत्रको सबैभन्दा ठूलो सूचना, सञ्चार र प्रविधि पूर्वाधार वितरक कम्पनी हो ।

huawei

टेलिकमका १ करोड लाइन क्षमताको जीएसएम मोबाइलका दुवै परियोजनामा हुवावे छनोट भएपछि कम्पनीमा एकाधिकारजस्तै देखिएको छ । टेलिकमका २० लाख आईपी सीडीएमए, साधारण टेलिफोनलाई आईपी प्रविधिमा लैजाने प्रविधि (टीडीएम माइग्रेसन, अन्तरराष्ट्रिय गेटवेलगायत मुख्य परियोजनामा हुवावेकै पूर्वाधार प्रयोग भएका छन् ।

 

चालू आर्थिक वर्षको अन्त्यसम्म सबै पुराना पूर्वाधारलाई प्रतिस्थापन गर्दै हुवावेमा रूपान्तरण हुने र तिनिहरु प्रविधिमैत्री रहेको उनले बताए। त्यस्तै एनसेलका कर्पोरेट कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माका अनुसार काठमाडौं उपत्यकाभित्र कम्पनीको सेवा आधुनिकीकरणमा सबै जिम्मा हुवावेले नै पाएको छ भने काठमाडौंबाहिर पनि जेडटीईसँगै हुवावेले राम्रो सर्भिस दिइरहकेको बताए।

प्रतिस्पर्धामा कम लागत भएकै कारण हुवावेको ‘डिपेन्डेन्सी’ टेलिकममा बढ्दो छ । हुवावेका बेस्ड स्टेसन टावर (बीटीएस) टुजीबाट थ्रीजी र एलटीईमा जाँदा थोरै मात्रै प्राविधिक परिवर्तनपछि सपोर्ट गर्ने भएकाले पनि कम्पनीहरूको रोजाइमा पर्ने गरेका छन् ।

३५ लाखको जीएसएम परियोजनामा जेडटीईले निर्धारित समयभन्दा ढिला र गुणस्तरमा अपेक्षाकृत प्रभाव देखाउन नसकेपछि टेलिकममा हुवावेको पूर्वाधार प्रयोग बढेको हो । निजी क्षेत्रको एनसेलले पूर्वाधार खरिद गर्दा सार्वजनिक खरिद पालन गर्नु नपर्ने भए पनि उसको छनोटमा पनि हुवावेकै पूर्वाधार पर्ने गरेका छन् ।

एनसेलले पुरानो नेटवर्कको मर्मतमा जेडटीईलाई संलग्न बनाए पनि नयाँ परियोजनाका लागि भने हुवावेकै पूर्वाधार छान्ने गरेको छ । नयाँ आउने प्रविधिमा ‘अपग्रेड’ गर्न सजिलो हुँदा दीर्घकालमा लागत कम पर्ने हुँदा कम्पनीहरू हुवावेलाई छनोट गर्छन् ।

पछिल्लोपटक जीएसम मोबाइल सेवाको लाइसेन्स लिएको स्मार्ट टेलिकमले पनि नेटवर्क विस्तार गर्दा अधिकांश पूर्वाधार हुवावे कम्पनीकै प्रयोग गरेको जनाएको छ । स्मार्ट टेलिकम छिट्टै राजधानीमा मोबाइल सेवा विस्तार गर्ने तयारीमा रहेको कम्पनीका कर्पाेरेट कम्युनिकेसन प्रमुख पवन शाक्यले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणले ‘पूर्वाधारको सहप्रयोगसम्बन्धी निर्देशिका २०७२’ कार्यान्वयनमा ल्याई नयाँ आउने कम्पनी तथा हाल सञ्चालित कम्पनीले ठूला पूर्वाधार निर्माण गर्दा पूर्वाधारको सहप्रयोग अनिवार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.