निक्षेपको व्याजदर बढदै, कर्जाको व्याज पनि बढ्न सक्ने

  २०७२ चैत १० गते १२:०८     विकासन्युज

काठमाडौं, १० चैत । सर्वसाधारणले बैंकमा जम्मा गरेको बचतको व्याज बढ्ने भएको छ । सरकारले उच्च व्याजदरमा ऋणपत्र जारी गरेपछि र बैंकमा कर्जाको माग बढ्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरुलाई व्याजदर बढाउन दवाव परेको छ ।

राष्ट्र बैंकले ३ अर्ब रुपैयाँको नागरिक वचतपत्र २०७७ ‘क’ जारी गरेको छ । पाँच वर्षे वचत पत्रको व्याज ८ प्रतिशत तोकिएको छ । ६÷६ महिनामा व्याज भुक्तानी हुनेछ । नागरिक बचत पत्र खरिद गर्न चैत २३ गतेसम्म आवेदन गर्न सकिने छ । बचतपत्र किन्न सर्वसाधारणले बैंकमा रहेको बचत खाताको पैसा निकाल्न थालेको बैंकर्सहरुले बताएका छन् ।

त्यस्तै राष्ट्र बैंकले बैदेशिक रोजगारीमा जानेको लागि २५ करोड रुपैयाँको बचतपत्र जारी गरेको छ । बैदेशिक रोजगार बचतपत्र २०७७ को व्याजदर ९ प्रतिशत छ । यसले पनि व्याजदर बढाउन दवाव परेको छ ।

राष्ट्र बैंकले जारी गरेको बचत पत्रमा ८ देखि ९ प्रतिशतसम्म व्याजदर निर्धारण गरेको कारण सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाको निक्षेप फिर्ता लिन थालेको नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधर बताउँछन् ।

राष्ट्र बैंकले व्याज बढाबढमा जारी गरेको विकास ऋणपत्रको व्याजदर पनि बढेको छ । राष्ट्र बैंकले फागुनमा १२ अर्बको विकास ऋणपत्रमा जारी गरेको थियो । त्यसमा बैंकहरुले औषतमा ३ दशमलव ९७ प्रतिशत व्याज तिरेका छन् । यो दर चालु आर्थिक वर्षमा जारी भएको अन्य ऋणपत्रको तुलनामा महँगो हो ।

यसअघि चालु आर्थिक वर्षमा राष्ट्र बैंकले दुई पटक ऋणपत्र जारी गरेको थियो । त्यतिबेला बैंकहरुले २ दशमलब ६५ देखि २ दशमलब ९९ प्रतिशत मात्र व्याज तिरेका थिए ।

अन्तरबैंक व्याजदर चैत २ गते २ दशमलक ०७ प्रतिशत रहेको छ । यसअघि शुन्य दशमलव ५ प्रतिशतसम्म झरेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको एफपीओमा संकलन भएको ४७ अर्ब रुपैयाँ केही बैंकमा जम्मा भएकोले अन्तरबैंक कर्जाको व्याजदर बढेको विकास बैंकर्स संघका अध्यक्ष कृष्णराज लामिछाने बताउँछन् ।

रिभर्स रिपो रेट पनि बढेको छ । चैत ३ गतेको रिभर्स रिपो रेट २ दशमलब ८४ प्रतिशत छ । ९१ दिनको ट्रेजरी विलको रेट १ दशमलब ०७६ प्रतिशत छ । ३४३ दिने ट्रेजरी विलको रेट १ दशमलब ३१२ प्रतिशत छ । चालु आर्थिक वर्षमा ट्रेजरी विल रेट शुन्य दशमलब ००४ प्रतिशतसम्म झरेको थियो ।

राष्ट्र बैंकमा अनुसार लगानी योग्य पुँजी (तरलत) घट्दै गएको छ । चैत १० गतेको तरलता करिव १८ अर्ब रुपैयाँ छ । गत भदौमा यस्तो रकम करिव ९० अर्ब रुपैयाँ थियो । छोटो अवधिका पुँजीको व्याजदर बढ्न थालेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

बचत खाताको निक्षेपको व्याजदर १ प्रतिशतले बढ्न सक्ने नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधर बताउँछन् । व्यापार, पर्यटन, कृषि क्षेत्रबाट कर्जाको माग बढ्ने संकेतहरु आएको उनले बताए ।

तर तत्काल व्याजदर बढ्ने सम्भावना कम रहेको लामिछानेको विश्लेषण छ । ‘व्याजदर बढ्ने आधार त देखिसकेको छैन । तर व्याजदर अहिलेको यो भन्दा तल जाने ठाउँ नभएकोले विस्तारै बढ्न सक्छ,’ लामिछाने भन्छन् ।

औद्योगिक कर्जाको माग बढ्ने आधारहरु नदेखिए पनि व्यापारिक तथा आवास कर्जाको माग बढ्ने सम्भावना रहेकोले त्यसको असर व्याजदरमा थोरै पर्न सक्ने नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.