पुर्वाधार विकास कम्पनीमा लगानी थप्दै सञ्चालक, त्रिपक्षिय विवाद पनि कायमै

  २०७२ फागुन १८ गते १६:३३     विकासन्युज

काठमाडौं, १८ फागुन । काठमाडौं र हेटौडालाई जोड्ने सबै भन्दा छोटो मार्गका रुपमा प्रस्ताव गरिएको काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ मार्गको निर्माण कर्ता नेपाल पुर्वाधार विकास कम्पनीका सञ्चालकहरुले लगानी थप्ने निर्णय गरेका छन् ।

नारायण पौडेल 
संस्थापक अध्यक्ष कुश कुमार जोशीले दिएको राजीनामा स्विकृत गरेपछि बसेको पहिलो बैठकले लगानी थप्ने निर्णय गरिएको हो । माघ २७ गते जोशीको राजीनामा स्विकृत गरिएको थियो भने माघ २९ गते नव नियुक्त अध्यक्ष भट्टको अध्यक्षमा बसेको पहिलो बैठकले लगानी थप्ने निर्णय गरेको हो ।

सो बैठकमा अध्यक्ष भवन भट्टले थप पाँच करोड रुपैंयाँ तत्काल थप्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस्तै, कुश कुमार जोशी र लालकृष्ण केसीले समेत एक एक करोड लगानी थप्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सोही बैठकले लगानी थप्ने निर्णयलाई पारित समेत गरेको थियो । भवन भट्टले एक अर्बको लगानी प्रतिवद्धता व्यक्त गर्दै यस अघि न ९ करोड ६० लाख लगानी गरिसकेका थिए । पुर्वाधार विकास कम्पनीमा अब भट्टको लगानी १४ करोड ६० लाख पुगेको छ ।

सबै भन्दा ठुलो लगानी कर्ताका रुपमा अध्यक्ष चुनिएका भट्टले आफ्नै कम्पनी टिबिई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सनत न्यौपानेलाई प्रबन्ध निर्देशक(एमडी)मा नियुक्त गरेका छन् । भट्टले न्यौपानेलाई यसअघि नै आफ्नो तर्फबाट कम्पनीको सञ्चालक समितिमा राखिसकेका थिए । ‘कुश कुमार जोशीको मनलाग्दी रोक्न भट्टलाई अध्यक्ष चयन गरियो तर भट्टले पनि त्यही बाटो अपनाए ।’ एक सञ्चालकले विकासन्युजसँग भने ।

हाल कम्पनीमा तीन वटा समुहबिच शक्ति संघर्ष चलिरहेको छ । पुर्व अध्यक्ष कुशकुमार जोशी, वर्तमान अध्यक्ष भवन भट्ट र सञ्चालक सुभाषचन्द्र ठकुरीबिचको अन्तरसंघर्षले कम्पनीलाई थप संकटमा पुर्याएको ति सञ्चालकले बताए ।

नयाँ अनुहार पनि भित्रिए
श्रोतका अनुसार नविन कँडेल नाम गरेको हेटौडाका स्थानिय बासिन्दा समेत कम्पनीमा भित्रिएका छन् । उनलाई सो माग बनाउने प्रक्रियामा सहजीकरणका लागि भन्दै कम्पनीमा भित्र्याइएको हो । उनी माघ २९ कै बैठकबाट कम्पनीमा भित्रिएका हुन् ।
सुवर्ण लालको निरन्तर डिमोसन
कुश कुमार जोशीका विश्वास पात्रका रुपमा कम्पनीमा भित्रिएका सुवर्ण लाल बज्राचार्यलाई कम्पनीले निरन्तर डिमोसन गर्दै आएको छ । सुरुमा प्रमुख कार्यकारी अधिकृत(सिईओ) नियुक्त भएका बज्राचार्यलाई पछि चिफ अपरेटिङ अफिसर(सिओओ) बनाईएको थियो । हाल उनी कर्पाेरेट हेडका रुपमा कार्यरत छन् ।
उपाध्यक्ष खारेज गर्दै सह अध्यक्ष
माघ २९ गतेकै बैठकले उपाध्यक्ष पद खारेज गरेर सह अध्यक्ष पद सृजना गरेको छ । पहिले उपाध्यक्ष रहेका लाल केसीलाई हाल सह अध्यक्ष बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.