आक्रामक बजार विस्तारमा राष्ट्रिय बाणिज्य बैंक, ३५ शाखा र ५० एटिएम थप्दै

  २०७२ माघ ११ गते १०:३४     विकासन्युज

काठमाडौं, ११ पुस । राष्ट्रिय बाणिज्य बैंकले आक्रामक रुपमा बजार विस्तार गर्ने योजना बनाएको छ । बैंकले नयाँ २ सहायक कम्पनी स्थापना गर्नदेखि शाखा संजाल विस्तार गर्नेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ ।

बैंकको ५१ औं बार्षिकोत्सबको अवसरमा सो जानकारी दिइएको हो । बैंकले निकट भविष्यमै ३५ नयाँ शाखा स्थापना गर्ने कायममुकायम प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले जानकारी दिए ।

यस्तै थप ५० स्थानमा नयाँ एटिएम र १० स्थानमा शाखा रहित बैंकिङ्ग सुरु गर्ने तयारी बैंकको छ । अहिले बैंकले देशका विभिन्न ६८ जिल्लामा १ सय ६३ शाखा, ८० एटिएम काउन्टर, १७ स्थानमा एक्सटेन्सन काउन्टर र ६७ स्थानवाट शाखारहित बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

यस्तै बैंकले निकट भविष्यमै सेयर कारोवार गर्नको लागि सहायक कम्पनी मर्चेन्ट बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्नको लागि लघुवित्त कम्पनी स्थापनाको तयारी गरेको छ । दुवै कम्पनी स्थापनाको लागि कम्पनी रजिष्टार कार्यालयमा दर्ता प्रक्रियामा रहेको बैंकले जानकारी दिएको छ ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ राज्यमन्त्री दामोदर भण्डारीले देशको सुगमदेखि दुर्गम क्षेत्रसम्म सेवा प्रवाह गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रतिस्पधी बजारमा अग्रणी बैंक बन्न सुझाव दिएका छन् । उनले बैंकलाई सेवाग्राहीमूखी र प्रविधिमूखी बनाउनुपर्नेमा जोड दिए ।

वित्तीय सुशासन विना बैंकलाई विश्वसनीय बनाउन नसकिने भन्दै बैंकको स्वास्थ्य बलियो बनाउँदै वित्तीय सुधार र जनताको विश्वास जित्न सफल हुनुपर्ने उनको भनाइ छ ।

बैंकका कायममुकाय प्रमुख कार्यकारी अधिकृत पन्थीले भूकम्प पिडित परिवारलाई घर बनाउको लागि प्रदान गरिने कर्जा दिन थालिएको जानकारी दिए । सो सम्बन्धि कार्यविधि तयार पारेर कर्जा दिन थालिएको पन्थीको भनाइ छ ।

बैंकले गत पुस मसान्तसम्ममा १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन र ७७ अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको छ । अहिले बैंकको चुक्ता पूजी ८ अर्ब ५८ करोड रुपैयाँ छ भने संचित नोक्सानी १ अर्ब रुपैयाँको हारहारीमा छ ।

बैंकमा क्रियाशिल कर्मचारी संगठनहरुका अगुवाहरुले ब्यवसायिक ब्यक्तिलाई नयाँ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिनुपर्ने धारणा राखे । गत २० पुसदेखि तत्कालिन प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माको कार्यकाल सकिएपछि बैंक अहिले ब्यवस्थापन प्रमुख विहिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.