जनता बैंकका सीईओ भट्टराईले राजनीनामा दिए, व्यापार विस्तार र नाफा कमाउन नसकेको आरोप

  २०७१ चैत २१ गते ११:४२     विकासन्युज

२१ चैत । जनता बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा रमेश कुमार भट्टराईले राजीनामा दिएका छन् । उनको राजीनामा शुक्रबार बसेको सञ्चालक समितिले स्वीकृत गरेको छ ।

विकासन्युज/काठमाडौं

डा रमेशकुमार भट्टराई

शुक्रबार सञ्चालक समितिको बैठकमा भट्टराईले राजीनामा दिएको र सोही बैठकले राजीनामा स्वीकृत गरेको बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले विकासन्युजलाई जानकारी दिए ।

बैठकले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पृथ्वी श्रेष्ठलाई दिएको छ । श्रेष्ठ सोही बैंकमा उप–प्रमुख कार्यकारी अधिकृत हुन् ।

डा भट्टराईले जनता बैंकमा जम्मा १८ महिना मात्र जिम्मेवारी समालेका छन् । उनी २३ कात्तिक २०७० मा नियुक्त भएका थिए । दुई वर्षको लागि नियुक्ती पाएका भट्टराईले ७ महिनाअघि नै राजीनामा दिएका छन् ।

बैंक स्रोतका अनुसार व्यापार विस्तार गर्न नसकेको र बैंकको नाफा कम भएको भन्दै आक्रामक बैकिङ गर्न सञ्चालक समितिले उनलाई दवाव दिएको थियो । गैरबैकिङ क्षेत्रबाट आएका भट्टराई बढी जोखिम लिएर आक्रमक बैकिङ गर्ने पक्षमा थिएनन् । उनी कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक हुन् ।

गैर बैंकिङ क्षेत्रबाट भट्टराईलाई एकैपटक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको जनता बैंकले उनको कार्यकाल खासै सफलता हासिल गर्न सकेन । भट्टराई प्रवेश गर्दा बैंक नोक्सानमा थियो । गत आर्थिक वर्षमा सेयरधनीलाई लांभाश दिन सक्ने गरी कमाउन सकेन भने चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले जम्मा १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । स्रोतका अनुसार चैत मसान्तको वित्तीय विवरणमा नाफा अतिकति मात्र थपिदैछ । सेयरधनीलाई १० प्रतिशत लाभांश दिन पनि कम्तिमा २५ करोड खुद नाफा आर्जन गर्नुपर्छ ।

६ वर्षअघि सञ्चालनमा आएको यस बैंकको सेयरपँुजी २ अर्ब ६ करोड रुपैयाँ सेयर पुँजी छ भने संचित कोषमा २५ करोड रुपैयाँ छ । पुस मसान्तसम्मका निक्षेप करिव २१ अर्ब र कर्जा लगानी करिव २० अर्ब रुपैयाँ रहेको छ । जवकी जनता बैंकभन्दा पछि खुलेका बैंकहरुको वित्तीय आकार निकै ठूलो भईसकेको छ ।

पूर्व प्रधानमन्त्री डा माधवकुमार नेपालदेखि पूर्व गर्भनर डा युवराज खतिवडासम्मको सेयर लगानी रहेको यस बैंकका धेरै प्रवद्र्धन नेकपा एमालेमा आवद्ध छन् । त्यसैले यस बैंकलाई एमालेको बैंक पनि भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.