गभर्नरमा डा नेपालको नियुक्तीले निजी क्षेत्र उत्साहित

  २०७१ चैत ५ गते १९:५८     विकासन्युज

Chiranjibi-Nepal५ चैत । सरकारले डा चिरञ्जीवि नेपाललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । नयाँ गभर्नरमा डा नेपालको नियुक्तीप्रति निजी क्षेत्र उत्साहित छ ।
डा नेपाल खुला अर्थतन्त्रका पक्षपाती हुन् । बीपी कोइरालाको समाजबादी पुँजीबादको वकालत गर्दै आएका डा नेपालले उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रलाई अगाडी बढाउनु पर्ने र निजी क्षेत्रको लगानीलाई नै प्रोत्साहित गर्नुपर्नेमा जोड दिदै आएका छन् ।
उद्योगी व्यवसायीसँग डा नेपालको सम्वन्ध पनि धेरै राम्रो छ । सजिलै सम्पर्कमा आउने, आफ्ना विचार खुलस्त राख्ने स्वभाव र व्यवसायीको समस्या समाधान गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने उनको बानीले पनि निजी क्षेत्र उत्साहित छन् ।
डा. नेपालले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शमा धेरै वर्ष परमर्शदाताको रुपमा काम गरेकाले पनि उनीसँग धेरै उद्योगी व्यवसायीहरुको प्रत्यक्ष सम्बन्ध छ ।
निवर्तमान गभर्नर डा युवराज खतिवडाले वित्तीय क्षेत्र सुधारका लागि निकै कडा नीति लिएका थिए । उनलाई निजी क्षेत्रप्रति अनुदार गभर्नरको रुपमा पनि हेरिएको थियो । उनी लगत्तैको गभर्नर निकै उदार व्यक्ति आएकोले पनि निजी क्षेत्र उत्साहित भएको देखिएकोछ ।
निजी क्षेत्रका प्रतिनिधि मुलक पात्रले गभर्नरमा डा नेपालको नियुक्तीलाई कसरी हेरेका छन् ? प्रस्तुत छ उनीहरु कै शब्दमा ।

मौद्रिक स्थायित्वको अपेक्षाhari_Bhakta_sharma

हरिभक्त शर्मा, बरिष्ठ उपाध्यक्ष
नेपाल उद्योग परिसंघ

डा. चिरञ्जीवि नेपाललाई सरकारले धेरै ठूलो जिम्मेवारी दिएको छ । मौद्रिक स्थायीत्वका लागि उहाँले काम गर्नु पर्ने देखिन्छ । मौद्रिक स्थायीत्वका लागि पूर्व गर्भनरले धेरै राम्रा काम गर्नु भएको छ । डा. नेपालबाट त्यसको निरन्तरताको कामना गरेका छौं ।
उहाँको कार्यकालमा देशको उदार अर्थनीतिले फड्को मार्दै देश आर्थिक समृद्धिको बाटोमा हिड्न सकोस् । मुलुकको मौद्रिक नीमिा धेरै सुधारको आवश्यकता छ । त्यसमा सफलता मिलोस् ।
उहाँ निजी क्षेत्रमैत्री व्यक्ति हुनुहुन्छ । आफ्नो विचार कार्यान्वयन गराउन उहाँले महत्वपूर्ण स्थान र जिम्मेवारी पाउनु भएको छ । नेपाल रेमिट्यान्समा निर्भर बन्दै गएको छ । उत्पादन वृद्धि, निर्यात वृद्धिमा सहयोग पुग्ने खालको मौद्रिक नीति देशको आवश्यकता हो । नेपाल उद्योग परिसंघ उहाँसँग मिलेर काम गर्न संधै तयार हुन्छ ।

अर्थतन्त्रका लागि सुखद दिन

दिनेश श्रेष्ठ– उपाध्यक्ष

नेपाल उद्योग बाणिज्य महासंघ
Dinesh Shresthaडा. चिरञ्जीवी नेपाल एक जना निजी क्षेत्रमैत्री अर्थशास्त्रीका रुपमा चिनिनु हुन्छ । नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रले मुल नेतृत्व लिनु पर्छ र सरकारले उसलाई सहयोग गर्नुपर्छ भन्ने उदार अर्थतन्त्रका व्याख्याता समेत रहनु भएका डा. नेपालको नेतृत्वमा राष्ट्र बैंकले निजी क्षेत्रलाई थप फल्ने फुल्ने अवसर दिने अपेक्षा गर्न सकिन्छ । उहाँसँग हामीले लामो समय देखि सहकार्य गर्दै आएका थियौं । उहाँको उदार अर्थतन्त्रको नीतिले हामी उहाँप्रति निकै आशावादी छौं ।
जनताको पैसा बैंकमा रहन्छ, त्यहि पैसा लिएर उद्योगी व्यवसायीले काम गर्ने हो । अब उद्योगी व्यवसायीले लगानी गरेको पैसाको समेत सुरक्षाको ग्यारेन्टी गर्ने गरि नेपाल राष्ट्र बैंक अघि आउने हाम्रो विश्वास छ । डा. नेपालको नियुक्तीले नेपालको निजी क्षेत्रका लागि सुखद दिन आउने छ र निजी क्षेत्रको सुखद दिन भनेको नेपाली अर्थतन्त्रका लागि पनि सुखद् दिन नै हो ।

उदार अर्थव्यवस्थाका पक्षपाती

देवीप्रकाश भट्टचन
अध्यक्ष, प्रभु बैंक लिमिटेड

Debi-prakas-bhattachan

डा चिरञ्जीति नेपाल अर्थतन्त्रको विज्ञ हुनुहुन्छ । प्रधानमन्त्रीको आर्थिक सल्लाहकार हुनुहुन्छ । नेपाल धितोपत्र बोर्डको नेतृत्व गरिसक्नु भएको मान्छे पनि हो । निजी क्षेत्रमैत्री, उदार अर्थ व्यवस्थाका पक्षपाती हुनुहुन्छ । हामी उहाँबाट निकै आशावादी छौं ।
मुलुक राजनीतिक संक्रमणकालबाट गुज्रिरहेको अवस्थामा पनि नयाँ सरकारबाट अर्थतन्त्र सुधारका पक्षमा निकै काम भैरहेका छन् । दोस्रो संविधान सभाको निर्वाचन पछि बनेको वर्तमान सरकार गठन भएदेखि नै देशमा लगानीको बातावरण बन्दै गएको छ । उहाँले केन्द्रीय बैंकको नेतृत्व गरेर त्यसलाई अझै गतिशित ढंगले अघि बढाउने अपेक्षा गर्न सकिन्छ ।

 

काम गर्न सजिलो व्यक्ति

उपेन्द्र पौड्याल, अध्यक्ष
नेपाल बैंकर्स एशोसिएशन
Upendra-paudelडा. चिरञ्जीवि नेपालसंग नेपाली अर्थतन्त्रको राम्रो ज्ञान छ । राष्ट्र बैंकको गभर्नरले पुँजी बजारको पनि राम्रो ज्ञान राख्नुपर्ने हुन्छ । धितोपत्र बोर्डको अध्यक्ष समेत भइसक्नु भएका उहाँको लागि यो एउटा बिशेषता नै हो । त्यससंगै उहाँको सबल पक्ष भनेको उहाँसंग हामी सजिलै पहुँच राख्न सक्छौं । उहाँसंग सम्पर्क गर्न र छलफल गर्न सजिलो पनि छ । गभर्नरको रुपमा उहाँको चुनौति पनि रहेका छन् । हाम्रो वित्तीय क्षेत्र ‘कन्सलटेसन’ को चरणमा रहेको छ । यो चरणमा यस क्षेत्रको चुनौतीहरु पहिचान गर्नु र त्यसअनुसार नीति बनाउदै जानु पर्ने हुन्छ । हालै राष्ट्र बैंकबाट आएका नयाँ निर्देशन आफैमा बेठिक होइन तर तिनीहरुको कार्यानवयनको लागि केही समय दिइनु पर्दथ्यो । जस्तै, हालै राष्ट्र बैंकले नेपाल फाइनान्सियल रिपोर्टीङ स्ट्याण्डर्ड लागू गर्न निर्देशन दियो । यो तत्कालै लागू गर्न सक्ने अवस्था थिएन ।
हामीले हाम्रो तर्फबाट पनि राष्ट्र बैंकलाई भनेका थियौं । सरोकारवाला पक्षहरुसंग राष्ट्र बैंकले छलफल पनि गर्नुपर्दथ्यो । व्यवहारिक पक्षको ध्यान नदिएर ल्याइएको यो निर्देशन लागु गर्न समस्या देखिएको छ । डा. नेपालले पनि वाणिज्य बैङ्कमा हालसम्म काम गर्नुभएको छैन । त्यसैले उहाँले पनि यो क्षेत्रको ‘कन्फिडेन्स’ लिनुपर्ने चुनौति छ । राष्ट्रियस्तरमा कुरा गर्नुपर्दा बैकिङ क्षेत्रप्रति आम मानिसको धारणा सकारात्मक बन्न सकेको छैन । हामीले निकै अनुशासित ढंगमा रहेका कार्य सम्पादन गरिरहेका छौं । यो क्षेत्र जस्तै अन्य क्षेत्र पनि अनुशासित भएको भए आज मुलुक पनि सायद अर्कै हुन्थ्यो । त्यसैले उहाँले बैंकिङ क्षेत्रमा रहेको यो नकारात्मक धारणा चिर्नु पनि चुनौतिको रुपमा रहेको छ ।

निर्यात प्रवद्र्धनमा सहयोगि नीतिको अपेक्षाAnup_Bahadur_malla

अनुप बहादुर मल्ल
निर्यात प्रवद्र्धन समिति सभापति, उद्योग बाणिज्य महासंघ

केन्द्रीय बैंकको गभर्नरका लागि उहाँको नाम चर्चामा आउँदा नै हामी उत्साही थियौं । नेपाल उद्योग वाणिज्य महासंघमा आर्थिक सल्लाहकारका रुपमा काम गर्दा नै म उहाँबाट प्रभावित भएको थिएँ । धितोपत्र बोर्डमा बसेर पनि उहाँले राम्रो छाप छोड्नु भएको थियो ।
प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रुपमा पनि डा. नेपालले आफ्नो खुबी प्रदर्शन गरिसक्नु भएको हो । खुल्ला बजार अर्थनीतिका प्रवर्तकका रुपमा रहनुभएका डा. नेपालको नेतृत्वमा नेपाल राष्ट्र बैंकले हामी निर्यातकर्ताहरुलाई थप प्रोत्साहन दिने अपेक्षासहित उत्साह थपिएको छ ।

ब्रोकरहरुले नै मार्जिन लेण्डिङ

प्रियराज रेग्मी, अध्यक्ष

स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल

Priyaraj-regmiडा. चिरञ्जीवि नेपाल सेयर बजार सम्बन्धि राम्रो ज्ञान भएका व्यक्ति हुनुहुन्छ । उहाँ यसअघि धितोपत्र बोर्डका अध्यक्ष समेत भइसक्नु भएको थियो । अर्थमन्त्रीका सल्लाहकार समेत भइसकेका उहाँलाई राष्ट्र बैंकले गर्ने निर्णयले बजारमा कस्तो प्रभाव पर्छ भन्ने थाहा छ । त्यसैले उहाँले गभर्नरको रुपमा रहेर बजारलाई प्रभाव पर्ने निर्णय गर्दा धितोपत्र बोर्डसंग पनि समन्वय गर्नुहुनेछ भन्ने अपेक्षा छ । यसअघि बोर्ड र राष्ट्र बैंकबीच समन्वयको अभाव हुने गरेको थियो । यसले गर्दा पहिले जसरी बजारमा नकारात्कम असर पर्ने निर्णयहरु कम हुने विश्वास गर्न सकिन्छ । हाम्रो संघको नेपालसंग विभिन्न अपेक्षा पनि रहेको छ । ब्रोकरहरुले नै मार्जिन लेण्डिङ प्रदान गर्न सक्ने व्यवस्था गरिदिनुहन वहाँलाई हाम्रो आग्रह छ । नेपालको नियुक्तिले बजारमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएका छौं । निजी क्षेत्रप्रति मैत्री व्यवहार गर्ने नेपालले आगामी दिनमा बजार अनुकुल नीति ल्याउनु हुनेमा हामी विश्वस्त छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.