नयाँ गभर्नर कुर्दै राष्ट्र बैंक, दौडधुपमा को–को छन् ?

  २०७१ माघ २० गते १०:५५     विकासन्युज

२० माघ । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नको लागि दौडधुप सुरु भएको छ । आगामी ६ चैतदेखि पद खाली हुने भएपनि राष्ट्र बैंक ऐनले एक महिना अगाडि नै गभर्नर नियुक्तिको बाटो खुल्ला गरेकोले यस्तो दौडधुप बढेको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाको कार्यकाल आगामी ६ चैतवाट सकिदैछ । उनले एक महिना अघि अर्थात ६ फागुनवाट घरविदा बस्न पाउने छन् । राष्ट्र बैंक ऐन २०५८ ले पनि गभर्नरको कार्यकाल सकिन एक महिना बाँकी हुदै सरकारले नयाँ गभर्नरको नियुक्ति गरी सार्वजनिक सुचना प्रकाशित गर्नु पर्ने ब्यवस्था गरेको छ ।
‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रुपमा प्रकाशन तथा प्रसारण गर्नेछ,’ राष्ट्र बैंक ऐन २०५८ को दफा २५ मा गभर्नर नियुक्तिको सार्वजनिक सूचनामा उल्लेख छ ।
गभर्नरका आकांक्षी धेरै भएपनि अहिले करिब आधा दर्जन ब्यक्तिको नाम भने चर्चामा रहेको छ । यसरी चर्चामा रहेका नामहरुमा बर्तमान डेपुटी गभर्नर गोपाल प्रसाद काफ्ले, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरनाथ शर्मा र सिटिजन्स बैंक इन्टरनेसनलका बर्तमान प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी रहेका छन् । यस्तै प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. चिरन्जीबी नेपाल र पूर्व सचिवहरु युवराज भुसाल र कृष्ण ज्ञवालीको नाम पनि गभर्नर बन्ने चर्चामा रहेको छ ।
गभर्नर नियुक्तिको लागि अर्थमन्त्रालयले अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गर्नुपर्ने कानुनी ब्यवस्था छ । तर अर्थमन्त्रालयले यस्तो समिति भने गठन गरिसकेको छैन । अर्थमन्त्रीको अध्यक्षतामा रहने सिफारिस समितिमा एक जना पूर्व गभर्नर र एक जना अर्थशास्त्री समावेश गर्नुपर्ने कानुनी ब्यवस्था छ । सो समितिले एक जना डेपुटी गभर्नर सहित तीन जनाको नाम सिफारिस गर्ने र सोही मध्येवाट मन्त्रीपरिषले एकजनालाई ५ बर्ष कार्यकालको लागि गभर्नर नियुक्त गर्ने छ ।
तर अर्थमन्त्री माघ २४ गते जापान जादैछन् । आफ्नै अध्यक्षतामा आफैले समिति गठन गर्नुपर्ने भएकाले अर्थमन्त्री नभएको समय यस्तो समिति गठन हुने अवस्था छैन । अर्थमन्त्री माघको मसान्तमा मात्रै नेपाल फर्कने कार्यक्रम रहेकोले उनी फर्केपछि समिति गठन गर्न पनि ढिलाइ हुने हुदा उनी जापान जानु अघि नै सिफारिस समिति गठन हुने सम्भावना बलियो रहेको अर्थमन्त्री निकट स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.