काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले पछिल्लो समय शैक्षिक परामर्श संस्थामाथि भइरहेको प्रहरी अनुगमन तथा अनुसन्धान प्रक्रियालाई सकारात्मक रूपमा लिँदै सबै कन्सल्टेन्सीलाई एउटै दृष्टिकोणबाट नहेर्न आग्रह गरेको छ ।
फेकनले विज्ञप्ति जारी गर्दै शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, मर्यादित र विद्यार्थीमैत्री बनाउन प्रभावकारी अनुगमन आवश्यक रहेको जनाएको हो ।
संघका अनुसार केही विकृति र अस्वस्थ अभ्यास देखिए पनि सम्पूर्ण क्षेत्रलाई अपराधीकरण गर्ने प्रवृत्तिले इमानदार व्यवसायी र विद्यार्थी दुवैमा नकारात्मक असर पार्न सक्छ ।
विज्ञप्तिमा विदेश अध्ययनका क्रममा विद्यार्थीले बुझाउने शुल्कहरू नेपाल सरकारबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरी बैंकिङ प्रणालीमार्फत सम्बन्धित शैक्षिक संस्थामा पठाइने भएकाले धरौटी वा अतिरिक्त शुल्कका विषयमा भ्रम सिर्जना गर्नु उपयुक्त नहुने उल्लेख गरिएको छ ।
यद्यपि, कतिपय संस्थाले अनुचित गतिविधि गरेको गुनासो आएकाले आफ्ना सदस्य संस्थालाई निरन्तर सचेत गराउँदै सुधारका पहल गरिरहेको फेकनले जनाएको छ ।
संघले हाल भइरहेको अनुगमनका क्रममा कतिपय शैक्षिक परामर्श संस्थाले सबै कानुनी प्रक्रिया पूरा गरिसकेको भए पनि सम्बन्धित निकायबाट समयमै नवीकरण वा स्वीकृति नपाउँदा समस्या भोग्नुपरेको दाबी गरेको छ ।
यस्तो अवस्थामा आवश्यक अध्ययन र समन्वयबिनै कडाइका साथ कारबाही गर्दा व्यवसायीहरू अन्यायमा पर्ने खतरा रहेको फेकनको भनाइ छ ।
फेकनले अनुसन्धान तथा सोधपुछको प्रक्रियामा रहेका व्यवसायीहरूको व्यक्तिगत विवरण, तस्बिर र संस्थागत पहिचान सार्वजनिक गर्दा गोपनीयता, प्रतिष्ठा र मनोबलमा गम्भीर असर पर्ने भएकाले यस्ता विषयमा संवेदनशील बन्न प्रशासन र सञ्चारमाध्यमलाई आग्रहसमेत गरेको छ ।
संघले शैक्षिक परामर्श क्षेत्रलाई अझ जिम्मेवार, व्यवस्थित, पारदर्शी तथा विद्यार्थीमैत्री बनाउन सरकार, सरोकारवाला निकाय र व्यवसायीसँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेको समेत जनाएको छ ।