काठमाडौं । नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले पछिल्लो समय शैक्षिक परामर्श संस्थामाथि भइरहेको धरपकड तथा अनुसन्धान प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ ।
संघले दर्ताविहीन रूपमा सञ्चालन भएका संस्थामाथि कारबाही हुनु स्वाभाविक भए पनि सामान्य प्रशासनिक त्रुटिलाई समेत अपराधको रूपमा व्याख्या गर्दै सञ्चालक तथा प्रतिनिधिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिनु न्यायोचित नभएको जनाएको हो ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक निर्देशन दिई सुधारको अवसर प्रदान गर्नुपर्ने उल्लेख गरेको छ ।
हरेक सानो त्रुटिमा समेत नियन्त्रणात्मक कारबाही अघि बढाउँदा व्यवसायीमा निराशा बढेको र यसले शैक्षिक परामर्श व्यवसाय नै धराशायी हुने अवस्था सिर्जना हुन सक्ने नेक्साको भनाइ छ ।
विज्ञप्तिमा शिक्षा मन्त्रालयलाई कन्सलटेन्सी दर्ता प्रक्रिया सरल, सहज र व्यवहारिक बनाउन आग्रह गरिएको छ । दर्ताबिना सञ्चालन हुने कार्यलाई निरुत्साहित गर्न स्पष्ट र प्रभावकारी मापदण्ड आवश्यक रहेको संघले जनाएको छ ।
नेक्साले अनुसन्धान प्रक्रिया अघि बढाउँदा निष्पक्षता अपनाउन पनि सरकारसँग माग गरेको छ । अनुसन्धानपछि सबुत प्रमाणका आधारमा दोषी देखिएकामाथि मात्रै पारदर्शी ढंगले कारबाही गर्नुपर्ने संघको भनाइ छ ।
संघले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित तथा उत्तरदायी बनाउन शैक्षिक परामर्श सेवा संस्था सञ्चालन सम्बन्धी नियमावली निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउन समेत सरकारलाई आग्रह गरेको छ ।
