काठमाडौं । अहिले प्रहरीको मुख्य अनुसन्धानको विषय कन्सल्टेन्सीमाथिको अनुसन्धान बनेको छ । कन्सल्टेन्सी सञ्चालकहरूले विद्यार्थीबाट ठूलो शुल्क लिने, दर्ताबिनै सञ्चालन गर्ने तथा विद्यार्थीलाई अनेकन प्रभाव देखाएर रकम असुल गर्ने विषय विकासन्युजले प्रकाशन गरेपछि प्रहरीले त्यसतर्फ अनुसन्धान अगाडि बढाएको थियो ।
विकासन्युले सुरुमा विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार र दोस्राे पटक कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ? शीर्षकमा समाचार सम्प्रेषण गरेकाे थियाे ।
तिनै समाचारकाे आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले बताए । अनुसन्धान गर्दा प्रहरीले ६९ सञ्चालकलाई नियन्त्रणमा लिएको थियो।
अहिले उनीहरूविरुद्ध मुद्दा पनि चलेकाे छ । कन्सल्टेन्सीविरुद्ध मुद्दा चलेपछि दैनिक सञ्चालकहरू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुग्न थालेका छन् ।
केही दिनअघिमात्र काठमाडौं उपत्यकाका ९५ वटा कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा नमारेका कन्सल्टेन्सी सञ्चालक समूह बनाएर कार्यालयमा पुग्ने गरेका छन् ।


कार्यालयका प्रमुख सन्तोष खड्काले प्रक्रिया नपुर्याएर सञ्चालनमा आएका कन्सल्टेन्सीलाई मात्र कानुनी कारबाहीमा ल्याइएको बताए ।
उनका अनुसार कन्सल्टेन्सी सञ्चालक पक्राउ परेपछि कार्यालयमा सञ्चालकको भीड हुने गरेको छ । आइतबार २०-२५ जना सञ्चालकहरू आएका र आज मात्रै ५ जना भेटवार्ता गरेर गएको उनले बताए ।
प्रहरीको त्रास बढेकाले सञ्चालकहरू कन्सल्टेन्सी बन्द गर्नु परेको गुनासो बोकेर आउने गरेको खड्काले बताए । प्रहरीले कुनै सञ्चालक तथा व्यवसायीलाई नियतवश कारबाही नगरेको उनले बताए । कुनै पनि व्यवसायीलाई दुःख दिने नियत नभएको उनले प्रस्ट पारे ।
‘कार्यालयले अहिलेसम्मकै ठूलो संख्यामा कन्सल्टेन्सीमा छापा मारेको छ,’ उनले भने, 'केही सञ्चालकहरू भने बन्द गरेर अन्तै गइसकेको भन्दै यहाँ आउने गरेका छन् ।‘विधि प्रक्रिया पुर्याएर व्यवसाय गर्नेहरूलाई कोही पनि डराएर नभाग्नुपर्ने भनेर सम्झाउने गरेको खड्काले बताए ।
दर्ता नभएका कन्सल्टेन्सीहरूले प्रहरीले नियतवश कन्सल्टेन्सीलाई दुःख दिन थालेको भन्दै प्रचार गर्न थालेको उनले बताए । राज्यको कानुन मानेर व्यवसाय गरेकालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको उनले उल्लेख गरे ।
३१ वटा कन्सल्टेन्सी सञ्चालकविरुद्ध मुद्दा
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लिखतसम्बन्धी कसुर, ठगी र शिक्षा ऐन, २०२८ अनुसार तीनवटा कसुरमा ३१ जनाविरुद्ध मुद्दा चलाएको छ ।
केही दिनअघि मात्र कार्यालयले गैरकानुनी रूपमा ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ९५ वटा कन्सल्टेन्सीमा छापा मारी ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो ।
उनका अनुसार कन्सल्टेन्सी दर्ता नभएका, ठगी र सरकारी छाप किर्ते गरेर चलाएकाहरू कारबाहीमा परेका हुन्।
कार्यालयले मुद्दा चलाएका सबैलाई ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको खड्काले बताए । अनुमति बिना चलाएका धेरै कन्सल्टेन्सी पाइएको उनले जानकारी दिए ।
उपत्यकाका तीनवटा जिल्लामा लामाे समय लगाएर अनुसन्धान गरिएको उनले जानकारी दिए। अधिकांश कन्सल्टेन्सीहरू बिना दर्ता चलेको पाइएको उनले उल्लेख गरे ।
सम्बन्धित सामग्री :
कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ?
विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार
विदेश पठाइदिने बहानामा ठगी गर्ने ६९ कन्सल्टेन्सी सञ्चालक प्रहरी नियन्त्रणमा
१ वटा कन्सल्टेन्सीविरुद्ध मुद्दा, दर्ता नभएका धेरै
विकासन्युजको समाचारका नेक्साको खण्डन