काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मंगलबार (भोलि) देखि चीनको दुई दिने आधिकारिक भ्रमणमा जाँदैछन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले गत शनिबार यसबारे जानकारी दिँदै यो राजकीय भ्रमण चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा हुन लागेको बताएका थिए । क्रेमलिनले पनि यसअघि नै एक विज्ञप्ति जारी गर्दै पुटिनको चीन भ्रमणको पुष्टि गरिसकेको थियो ।
यसअघि ट्रम्पले मे १३ देखि १५ सम्म चीनको आधिकारिक भ्रमण गरेका थिए, जुन भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ । किनभने करिब एक दशकमा कुनै अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण थियो ।

बेइजिङमा आयोजित शिखर सम्मेलनमा भाग लिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङ
यद्यपि यस भ्रमणमा ट्रम्प अमेरिकका शीर्ष प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँगै पुगेका थिए । तर, भ्रमण सकिएपछि पनि कुनै सम्झौताको बारेमा घोषणा भने भएन ।
यसको ठीक तीन दिनपछि रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्न लागेका हुन् ।
चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा पुटिन र सी जिनपिङले द्विपक्षीय सम्बन्धका विषयमा छलफल गर्ने, चीन र रुसबीचको व्यापक साझेदारी र रणनीतिक सहयोगलाई अझ सुदृढ बनाउने उपायहरूबारे कुरा गर्ने तथा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने उल्लेख गरिएको छ ।
दुवै देशले एउटा संयुक्त वक्तव्य र धेरै द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर गर्ने योजना बनाएका छन् ।
यसबाहेक चीन र रुसका राष्ट्रप्रमुखहरू ‘चीन–रुस शिक्षा वर्ष’ को उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् ।
सम्बन्धलाई थप प्रगाढ बनाउने प्रयास
रुसले पुटिनको चीन भ्रमण असल छिमेकी र मैत्रीपूर्ण सहयोग सन्धिमा हस्ताक्षर भएको २५औं वर्षगाँठको अवसरमा हुन लागेको जनाएको छ । यो सन्धि सन् २००१ मा मस्कोमा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिन और पुटिनबीच भएको थियो ।
पुटिन र सी जिनपिङबीच यसअघिको भेट गत वर्ष सेप्टेम्बरमा भएको थियो, त्यति बेला दुवैले सांघाई सहयोग संगठन (एससीओ) को वार्षिक शिखर सम्मेलनमा सहभागी भएका थिए ।
त्यसपछि उनीहरू जापानविरुद्धको प्रतिरोधात्मक युद्धमा विजयको ८०औं वर्षगाँठको अवसरमा सेप्टेम्बर ३ मा आयोजित सैन्य परेडमा सामेल हुन बेइजिङ गएका थिए ।
उक्त परेडमा उत्तर कोरियाका नेता किम जोङ उन र इरानी राष्ट्रपति मसूद पेजेसकियान पनि उपस्थित थिए ।
गत मे महिनामा सी जिनपिङले पनि पुटिनको निमन्त्रणामा मस्कोको चार दिने राजकीय भ्रमण गरेका थिए र सोभियत संघको ‘महान देशभक्तिपूर्ण युद्ध’ मा विजयको ८०औं वर्षगाँठको समारोहमा भाग लिएका थिए । राष्ट्रपति बनेपछि सी जिनपिङको यो रुसको ११औं भ्रमण थियो र रुस नै उनले सबैभन्दा बढी भ्रमण गर्ने देश हो ।
त्यस समयमा सी जिनपिङले भाषण दिँदै भनेका थिए कि चीन र रुस ‘यस्ता असल छिमेकी हुन् जसलाई अलग गर्न सकिँदैन, यस्ता साँचो मित्र हुन् जसले सुख–दुःख बाँड्छन् र यस्ता असल साझेदार हुन् जो एक(अर्काको सफलतामा भागीदार बन्छन् ।’
रोयटर्सका अनुसार पुटिन र सी जिनपिङले पछिल्ला केही वर्षहरूमा ४० पटकभन्दा बढी भेट गरिसकेका छन् ।
दुवै नेताले फेब्रुअरी २०२२ मा ‘असीमित’ रणनीतिक साझेदारीमा पनि हस्ताक्षर गरेका थिए, जुन रुसले युक्रेनमाथि आक्रमण गर्नु ठीक अघि भएको थियो ।
रुस-युक्रेन युद्ध सुरु भएपछि रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध र एक्लोपन बढ्यो, तर चीनले न त रुसको सार्वजनिक आलोचना गर्यो न त प्रतिबन्धहरूको समर्थन नै गर्यो।
दुवै देशले राजनीतिक र आर्थिक सहयोग जारी राखे र चीनमाथि रुसको आर्थिक निर्भरता लगातार बढ्दै गयो ।
चीन र रुसले गत सेप्टेम्बरमा मंगोलिया हुँदै ‘पावर अफ साइबेरिया २’ प्राकृतिक ग्यास पाइपलाइन निर्माण सुरु गर्नका लागि कानुनी रूपमा बाध्यकारी सम्झौतामा पनि हस्ताक्षर गरेका थिए र अन्य दुई मार्गबाट प्राकृतिक ग्यास आपूर्ति बढाउन सहमतिसमेत जनाएका थिए ।
रुसी सरकारी सञ्चारमाध्यम आरटीका अनुसार रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले पुटिन सन् २०२६ मा दुई पटक चीन जाने अपेक्षा गरिएको बताएका छन् । नोभेम्बरमा शेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा भाग लिनका लागि पनि उनको अर्को भ्रमण तय भइसकेको छ ।
चीन–अमेरिका बैठकमा रुसको नजर
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसले चीन र अमेरिकाबीच ‘खुट्टा राख र राज गर’ को रणनीति नअपनाउने बताएका छन् ।
उनले भने, ‘यदि चीन र अमेरिकाबीच कुनै सम्झौता भएको छ वा हुन गइरहेको छ भने यो हाम्रा चिनियाँ मित्रहरूको हितमा छ र हामी यसमा खुसी हुनेछौं ।’
‘चीन र रुसको सम्बन्ध परम्परागत सैन्य र राजनीतिक गठबन्धनभन्दा पनि बढी गहिरो र बलियो छ । यो एउटा नयाँ सम्बन्ध हो जसले अन्य कुनै पनि कारकभन्दा बढी वैश्विक राजनीतिक र आर्थिक स्थिरता सुनिश्चित गर्न सक्छ,’ उनले थपे ।
पुटिनको चीन भ्रमणको समयले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराएको छ ।
‘साउथ चाइना मर्निङ पोस्ट’ ले स्रोतहरूलाई उद्धृत गर्दै यो पुटिनको नियमित भ्रमण भएको र कुनै ठुलो सैन्य परेड वा भव्य स्वागत समारोहको अपेक्षा नगरिएको जनाएको छ ।
साउथ चाइना मर्निङ पोस्टले चीनले एकै महिनामा दुई देशका नेताहरूको आतिथ्य गरिरहेको पहिलो पटक भएको पनि जनाएको छ ।
यसले चीनले दुवै देशसँगको सम्बन्धलाई सन्तुलित राख्न प्रयास गरिरहेको बुझिन्छ । साथै ऊ कठिन मोडबाट गुज्रिरहेको विश्वमा आफूलाई एउटा महत्त्वपूर्ण शक्तिका रूपमा स्थापित गर्ने कोसिस गर्दैछ ।
राजनीतिक संस्कृतिका विद्वान एवं समसामयिक मामिलाका टिप्पणीकार हुआङ वेइगुओ चीन, अमेरिका र रुसको सम्बन्धमा फरक प्रकारको शक्ति प्रतिस्पर्धा चलिरहेको र ट्रम्पको चीन भ्रमणबाट चीन–रुस सम्बन्ध प्रभावित नहुने उल्लेख गर्छन्।
उनले भने, ‘सतही रूपमा अमेरिका र रुस विरोधी देखिन्छन्, तर अमेरिका रुस–युक्रेन युद्धमा भूमिका खेल्न चाहन्छ र आफूलाई शान्ति स्थापना गर्ने देशका रूपमा प्रस्तुत गर्न सक्छ ।’
उनको विचारमा यी तीन देशहरूमा यतिबेला चीनसँग सबैभन्दा बढी विकल्पहरू छन् ।
हुआङ वेइगुओले भने, ‘ट्रम्प पुनः सत्तामा आएदेखि अमेरिका र युरोपेली देशहरूको सम्बन्ध तनावपूर्ण भएको छ । हामी देखिरहेका छौं कि युरोपेली देशहरू पनि लगातार चीन भ्रमण गरिरहेका छन् र केही हदसम्म कम टकरावको सम्बन्ध कायम राखिरहेका छन् ।’
अपेक्षाकृत अराजक वातावरणमा चीनले कूटनीतिमार्फत केही पश्चिमी देशहरूसँग सम्बन्ध स्थापित गर्न सक्ने र ‘विरोधी पक्षका सहयोगीहरूलाई आफ्नो पक्षमा ल्याउन सक्ने’ उनको ठहर छ ।
ट्रम्पको भ्रमणमा चासो
अर्कोतर्फ ट्रम्पले चीन भ्रमण पूरा गरेपछि सी जिनपिङलाई सेप्टेम्बरमा ह्वाइट हाउस आउन निमन्त्रणा दिए । चिनियाँ विदेशमन्त्री वाङ यीले पनि सी जिनपिङ यसै वर्ष अमेरिका जाने पुष्टि गरेका छन् ।
पुटिनको चीन भ्रमणको खबर ट्रम्पको चीन भ्रमण सकिएको २४ घण्टाभन्दा कम समयमै बाहिर आएको हो र पुटिनको भ्रमण ट्रम्पको भ्रमणको एक हप्तापछि हुँदैछ ।
रुसी सरकारी समाचार एजेन्सी तासले राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै क्रेमलिनले अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणसँग सम्बन्धित मिडिया रिपोर्टहरूलाई नजिकबाट नियालिरहेको र रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणका क्रममा यसबारे प्रत्यक्ष जानकारी हासिल गर्ने अपेक्षा गरेको जनाएको छ ।
उनले आगामी चीन(रुस बैठकमा दुवै पक्षले चीन र अमेरिकाका नेताहरूबीच हालै भएको कुराकानीबारे पनि विचार आदानप्रदान गर्ने जानकारी दिए ।
पेस्कोभले भने, ‘विश्वका दुई ठुला अर्थतन्त्रका शीर्ष नेताहरूबीचको सीधा संवादले स्वाभाविक रूपमा रुससहित सबै देशहरूको ध्यान आकर्षित गर्नेछ ।’ (बीबीसीबाट अनुदित तथा सम्पादित)
इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू
पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत
इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति