काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनमा क्षतिग्रस्त तारागाउँ रिजेन्सी होटल्सले २ अर्ब रुपैयाँ ऋण लिएको छ । होटल पुन:निर्माणका लागि कम्पनीले विभिन्न बैंकबाट २ अर्ब रुपैयाँ ऋण लिएको कार्यकारी सञ्चालक सुरेश लाल श्रेष्ठले बताए ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले होटलमा आगजनीसहित लुटपाट गरेका थिए । होटलको लबी र केही कोठामा आगजनी भएपछि अहिले सबै संरचना भत्काएर पुन:निर्माण भइरहेको श्रेष्ठको भनाइ छ । उनका अनुसार सन् २०२६ को डिसेम्बरसम्म होटल पुनःसञ्चालन गर्ने गरी काम भइरहेको छ ।
‘पुन:निर्माणको कार्य भइरहेकाे छ । सन् २०२६ डिसेम्बरसम्म सम्पन्न गर्ने योजनामा छौं । यदि रोकटोक भएन र स्मुथ रूपमा काम भयो भने डिसेम्बरमा ओपनिङ हुन्छ,’ उनले भने, ‘३-४ सय जना मानिसले धमाधम काम गरिरहेका छन् । युद्धस्तरमा काम हुँदैछ ।’
उनका अनुसार दैनिक घाटा बेहोरिरहेको होटललाई आम्दानीतर्फ डोर्याउन पनि निर्माण काय तीब्र बनाएर छिटो सञ्चालनमा ल्याउनुपर्ने बाध्यता छ । होटल पुन:निर्माणका लागि करिब ३ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने कम्पनीले जनाएको छ । जसमध्ये २ अर्ब रुपैयाँ ऋणमार्फत जुटाइएको श्रेष्ठले बताए ।
‘होटल पुन:निर्माणका लागि रिटेन्ड अर्निङमा रहेको रकम परिचालन भइरहेको छ । त्यसपछि नपुगेको रकम बैंकबाट ऋण लिएको हो । ढिलाई भए लागत बढेर दबाब पर्न सक्ने भएकाले तीव्र गतिमा काम भइरहेको छ,’ उनले भने, ‘यति ठूलो प्रोजेक्ट निर्माणका लागि ऋण लिनै पर्ने बाध्यता भयो । बैंकबाट ऋण पास भएको छ, अब विस्तारै प्रयोग हुँदै जान्छ ।’
कम्पनीले करिब १२-१३ वर्षपछि बैंकबाट ऋण लिएको उनले दाबी गरे । ‘हामी लोन-फ्री कम्पनी थियौं । सन् २०१३-२०१४ देखि ऋणमुक्त थियौं । तर, भदौको दुर्घटना पछि पुनर्निर्माण गर्नुपर्यो । यो दुर्घटनाले ड्यामेज गरेको पार्टबाहेक पनि अरू धेरै कुरा गर्नुपर्ने थियो,’ उनले भने ।
हाल २८० कोठा रहेको होटलको संख्या पुन:निर्माणपछि २९१ पुग्ने कम्पनीले जनाएको छ । साथै १३ वटा भिल्ला थप गर्ने योजना छ, जसको सञ्चालन सन् २०२८ जनवरीदेखि सुरु हुने कम्पनीको भनाइ छ ।
उनले भने, ‘होटल पुरानै शैलीमा निर्माण हुन्छ । तर, भित्रको संरचना सबै ब्रान्डिङ हुन्छ-एयर कन्डिसन सिस्टमदेखि लिएर इलेक्ट्रिकल, पाइपिङ, प्लम्बिङ र बाहिर देखिने इन्टेरियर डिजाइन सबै नयाँ हुन्छ ।’
आम्दानी शून्य
होटल पूर्ण रूपमा बन्द भए पनि चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा कम्पनीको आम्दानी १७ करोड १९ लाख रुपैयाँ छ । तर, उक्त आम्दानी आन्दोलन अगाडिको भएकाले वर्षभरि नै देखिने श्रेष्ठको भनाइ छ ।
‘होटल पूर्ण रूपमा बन्द भएपछि आम्दानी शून्य छ । कम्पनीको वित्तीय विवरणमा देखिएको आम्दानी आन्दोलन अगाडिको हो । त्यो आम्दानी वर्षभरि नै रहन्छ । असारपछिको ब्यालेन्स सिटमा आम्दानी शून्य नै हुन्छ । त्यसपछि सञ्चालनमा आइसकेपछि मात्रै आम्दानी देखिन्छ,’ उनले भने ।
चालु आवको तेस्रो त्रैमासमा कम्पनी १४ करोड ४८ लाख रुपैयाँ खुद नोक्सानीमा छ । जबकि गत वर्ष चैतमा कम्पनीले ३३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको थियो ।
सन् १९९० मार्च २९ मा स्थापना भएको पाँचतारे तारागाउँ रिजेन्सी होटल्स काठमाडौंको बौद्धमा ‘हायात रिजेन्सी’ ब्रान्डमार्फत सञ्चालन हुँदै आएको छ । कम्पनीलाई मुख्य रूपमा सराफ तथा श्रेष्ठ समूहले प्रवर्द्धन गरेका हुन् । होटलले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै उच्चस्तरीय आवास, सम्मेलन, भोजन तथा आतिथ्य सेवा प्रदान गर्दै आएको छ ।
जेनजी आन्दोलनअघि कम्पनीको कुल सञ्चालन आम्दानी १ अर्ब ५२ करोड २० लाख रुपैयाँ पुगेको थियो, जुन अघिल्लो वर्ष १ अर्ब ४९ करोड ५० लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०२५ मा होटलको औसत कोठा भाडादर (एआरआर) १२ हजार ३२५ रुपैयाँ रहेको थियो भने अकुपेन्सी दर ५९.२० प्रतिशत थियो ।