सेयर बजारमा ४ अर्ब ७० करोडको कारोबार
काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २७६६ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ६३ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३५३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एभरेष्ट बैंकको भएको छ । एभरेष्ट बैंकको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युतको ३२ करोड, सेन्ट्रल फाइनान्सको १८ करोड, नेपाल रिइन्योरेन्सको १७ करोड र सप्तकोशी डेभलपमेन्टको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार कालिन्चोक हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज १२ कम्पनीको उपसमूहको सूचक घटेका छन् । म्यूचल फन्डको सूचक ०.३२ प्रतिशले बढेकाे छ ।
६६ करोडको आईपीओ ल्याउँदै पिपुल्स इनर्जी, ज्योति क्यापिटल प्रत्याभुतिकर्ता
काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) का लागि ज्योति क्यापिटल लिमिटेडलाई प्रत्याभुतिकर्ता नियुक्त गरेको छ । प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका दरले जारी हुने उक्त सेयरको कुल मूल्य ६६ करोड रुपैयाँ बराबर रहने कम्पनीले जनाएको छ । सो सम्बन्धी सम्झौतामा सोमबार काठमाडौंको कमलपोखरीस्थित ज्योति क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गरिएको हो । सम्झौतामा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र पिपुल्स इनर्जी लिमिटेडका महाप्रबन्धक जनार्दन अर्यालले हस्ताक्षर गरेका छन् । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति प्राप्त गरी धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, प्रत्याभूति सेवा तथा सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ ।
कास्कीका सामुदायिक विद्यालयमा मेटलाइफ नेपालको सहयोग, फुटबलमार्फत शिक्षा र नेतृत्व विकासमा टेवा
काठमाडौं । विश्वभर फुटबलले समुदायलाई एकताबद्ध गरिरहेको सन्दर्भमा मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम सुरु गरेको छ । 'शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने' लक्ष्यसहित सुरु गरिएको यस पहलअन्तर्गत कास्कीका पाँच विद्यालयमा फुटबल सामग्री वितरण गरिएको छ । यस कार्यक्रमबाट शहरी तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । कार्यक्रम कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन भइरहेको छ, जसले पहुँचबाट वञ्चित युवायुवतीहरूलाई खेलकुद र शिक्षामा अवसर विस्तार गर्दै आएको छ । कार्यक्रममार्फत करिब १६० वटा फुटबलका साथै प्रशिक्षणका लागि आवश्यक सामग्रीहरू कोन, गोलपोस्ट नेट, एयर पम्प लगायतका उपकरणहरू उपलब्ध गराइनेछ । साथै, छनोट भएका विद्यार्थीहरूलाई जर्सी पनि प्रदान गरिनेछ, जसले विद्यालयमा व्यवस्थित खेल गतिविधि सञ्चालन गर्न सहयोग पुर्याउनेछ । यो पहल मेटलाइफ नेपालको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो । यसले कक्षाकोठाको शिक्षासँगै खेलकुदमार्फत सिकिने टोली भावना, निष्पक्षता, धैर्यता र आपसी सम्मानजस्ता मूल्यहरूको विकासमा सहयोग पुर्याउने विश्वास गरिएको छ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठका अनुसार, 'अवसर सीमित भएका सामुदायिक विद्यालयहरूमा खेलकुदले बालबालिकालाई एकताबद्ध गर्ने अद्वितीय शक्ति राख्छ। फुटबलमार्फत विद्यार्थीहरूमा आत्मविश्वास, सिकाइप्रतिको रुचि र चुनौती सामना गर्ने क्षमता विकास गर्न हामी प्रतिबद्ध छौँ ।'