एआईमार्फत बीमा पहुँच विस्तार गर्न सानिमा जिआईसी र वाइज याकबीच सम्झौता

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रालिबीच एआई प्रविधिमार्फत कृषि तथा पशुपन्छी बीमा विस्तार गर्ने उद्देश्यसहित सम्झौता भएको छ । जेठ १७ सम्पन्न सम्झौताअनुसार सिराहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लामा बीमा पहुँच नपुगेका क्षेत्र तथा वर्गका नागरिकलाई लक्षित गर्दै स्थानीय भाषामै बीमा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ शैलीमा नभई प्रत्यक्ष समुदायमा केन्द्रित हुनेछ, जसमा प्रविधिको प्रयोगमार्फत बीमाबारे जानकारी दिनुका साथै बीमा सेवा विस्तारमा सहकार्य गरिने बताइएको छ । सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ ) सुद्युम्नप्रसाद उपाध्याय र वाइज याक सोलुसन्स प्रालिका सीईओ  प्रा.डा. सुरेश मानन्धरले हस्ताक्षर गरेका छन् । यो सहकार्यले विशेषगरी ग्रामीण क्षेत्रमा बीमा सेवाको पहुँच बढाउने, बीमा साक्षरता अभिवृद्धि गर्ने तथा डिजिटल प्रविधिमार्फत सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको २८औं वार्षिक साधारण सभा जेठ १८ ले संस्थापक सेयरधनीको तर्फबाट उनलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेपछि समितिले आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । अग्रवालसँग बैंक तथा वित्तीय क्षेत्र, बीमा र कर्पोरेट क्षेत्रमा लामो अनुभव रहेको छ । उनले विभिन्न संस्थामा सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याएका छन् ।    

१८४ कम्पनीको सेयर मूल्य बढ्यो, ५ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२ अंकले बढेर २ हजार ७७७ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १८४ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३४६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २६ कराेड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्सको २६ करोड ७८ लाख, रिडिपावरको २६ करोड, ५ लाख, सेन्ट्रल फाइनान्सको २२ करोड र हिमालयन रिइन्स्योरेन्सको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  मंगलबार कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य १४.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सेन्ट्रल फाइनान्स, क्रेष्ट माइक्रो लाइफ, नेपाल रिइन्स्योरेन्स र गुरखाज फाइनान्सको लगानीकर्ताले कमाएका छन् । आज १२ उपसमूहको सूचकमा हरियाली छाएको छ । बैंकिङ ०.१४ प्रतिशत, डेभलपमेन्ट बैंकको ०.५९ प्रतिशत, फाइनान्स ६.०३ प्रतिशत, होटल तथा पर्यटन ०.१२ प्रतिशत, हाइड्रोपावर ०.६१ प्रतिशत, इनभेष्टमेन्ट ०.२० प्रतिशत र लाइफ इन्स्योरेन्स ०.२७ प्रतिशत बढेका छन् । साथै माइक्रो फाइनान्स ०.४० प्रतिशत, म्यूचल फन्ड ०.२९ प्रतिशत, नन लाइफ इन्स्योरेन्स, अन्य ३.८४ प्रतिशत र ट्रेडिङ १.१३ प्रतिशतले बढेका छन् ।