बाल आश्रमका बालबालिकालाई सानिमा रिलायन्स लाइफको सहयोग

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बानेश्वरस्थित नेपाल वाल सेवा फाउन्डेसनमा आश्रित बालबालिकाका लागि आर्थिक सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आश्रममा बसोबास गर्ने बालबालिकामध्ये शाम्भवि स्कुलमा अध्ययनरत ८ जनाको वार्षिक शैक्षिक शुल्कबापत २ लाख ४० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । उक्त फाउन्डेसनले स्थापना कालदेखि विभिन्न जिल्लाका अनाथ तथा असहाय बालबालिकाको संरक्षण गर्दै आएको छ। हाल संस्थामा ४५ जना बालबालिका आश्रित रहेका छन् । सानिमा रिलायन्स लाइफले मानव कल्याण तथा सामाजिक हितका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा योगदान पुर्‍याउने लक्ष्यसहित यस्ता कार्यक्रमहरू अघि बढाइँदै आएका छन् । कम्पनीले नाफामुखी व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने रणनीति लिएको उल्लेख गरेको छ । आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना रहेको पनि जनाएको छ । सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता तथा ग्राहक सेवा सुदृढीकरणमार्फत आफूलाई भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल कम्पनीले देशभर १६८ शाखामार्फत सेवा दिँदै आएको छ ।

सिटिजन लाइफले एनएफआरएस १७ लागू गर्न केपीएमजीसँग गर्‍यो सहकार्य

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले एनएफआरएस १७ कार्यान्वयनका लागि केपीएमजी इन्डियालाई परामर्शदाता नियुक्त गरेको छ । नेपाल लेखामान बोर्डद्वारा जारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू गरिएको उक्त मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कम्पनीले यो रणनीतिक पहल गरेको जनाएको छ । नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीले केपीएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिसेस एलएलपीलाई कार्यान्वयन परामर्शदाताका रूपमा नियुक्त गरेको हो । केपीएमजी विश्वका ‘बिग फोर’ व्यावसायिक सेवा प्रदायक संस्थामध्ये एक हो । यसले एसुरेन्स, कन्सल्टिङ, कर, जोखिम व्यवस्थापन लगायतका क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । जटिल वित्तीय प्रतिवेदन मापदण्ड, विशेषगरी आईएफआरएस १७/एनएफआरएस १७ कार्यान्वयनमा यसको अन्तर्राष्ट्रिय अनुभव महत्वपूर्ण मानिन्छ । कम्पनीका अनुसार यस नियुक्तिसँगै सिटिजन लाइफले अन्तर्राष्ट्रिय स्तरको प्राविधिक विशेषज्ञता प्राप्त गर्नेछ भने ज्ञान हस्तान्तरणमार्फत आन्तरिक क्षमता अभिवृद्धि गर्ने अवसर समेत मिल्नेछ । सम्झौता अवधि साढे तीन वर्ष रहनेछ । यसअन्तर्गत प्रारम्भिक कार्यान्वयनका साथै त्यसपछिका तीन वर्षसम्म पोस्ट–इम्प्लिमेन्टेसन सपोर्टसमेत समावेश गरिएको छ । कम्पनीले यस पहलले संस्थालाई अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्डअनुसार थप पारदर्शी, सुदृढ र विश्वसनीय बनाउने विश्वास व्यक्त गरेको छ ।

सेयर बजारमा ६ अर्ब ३ करोड रुपैयाँको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.९९ प्रतिशतले बढेर २७८२ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १५१ कम्पनीको सेयर मूल्य बढ्दा १०५ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३५४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । आँखु खोलाको ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिडि पावरको ४३ करोड, नेसनल हाइड्रोको ३२ करोड, एपीआई पावरको २० करोड र न्यादी गुप्रको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको कारोबारमा कालिन्चोक हाइड्रोको सेयर मूल्य १४.९८ प्रतिशतले बढेको छ ।