नेपालमा ३५० तारे होटल सञ्चालनमा, एक वर्षमै थपिए १५ वटा
अच्युत रेग्मी काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक वृद्धिसँगै तारे स्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि बढ्दै गएको पाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको देश र भगवान् गौतम बुद्धको जन्मस्थल नेपालमा पछिल्लो समय पर्यटनका क्षेत्रमा लगानी बढ्दै गएको देखिएको हो । फलस्वरूप नेपालमा होटलजस्ता पर्यटन सेवाका क्षेत्रमा पनि लगानीकर्ता बढ्दै गएका छन् । पर्यटन सेवा क्षेत्रमा बढ्दो यो आकर्षणको पछिल्लो उदाहरण नेपालमा थपिँदै गएका तारे होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरू पनि हुन् । सङ्घीय राजधानी काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगन्ज, भद्रपुरजस्ता प्रमुख सहर र अन्य अन्य प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट सञ्चालनमा आउने क्रम बढेको पाइएको छ । पर्यटकस्तरका होटल प्रदेश सरकारमा दर्ता भएर सञ्चालन हुँदै आए पनि तारे होटल र रिसोर्ट भने पर्यटन विभागले नै दर्ता गरेर सञ्चालन अनुमति दिँदै आएको छ । पर्यटन विभागका अनुसार हालसम्म देशभर ३५० तारेस्तरका होटल तथा रिसोर्ट दर्ता भई सञ्चालनमा रहेका छन् । विभागका सूचना अधिकारी हिमाल गौतम पछिल्लो समय नेपालमा तारेस्तरका होटल तथा रिसोर्ट दर्ताको क्रम बढेको बताउँछन् । गत वर्ष ३३५ होटल तथा रिसोर्ट विभागमा दर्ता भएकामा यस वर्ष बढेर ३५० पुगेको हो । उनका अनुसार ४४ एकतारा, ४९ दुईतारा, ३७ तीन तारा, ४० चारतारा र २८ पाँचतारा स्तरका होटल दर्ता भएका छन् । त्यसैगरी, पाँचतारा डिलक्सस्तरका होटल तीन, पाँच तारास्तरका लक्जरी बुटिक हेरिटेज होटल तीन, डिलक्स हेरिटेज चारतारा होटल पाँच, नर्मल हेरिटेज बुटिक (तीन तारास्तर) एक, साधारण रिसोर्ट १२७, डिलक्स रिसोर्ट १० र लक्जरी रिसोर्ट तीन रहेका छन् । विभागका अनुसार दर्ता भएका ३५० होटलमा १६ हजार ६१३ कोठा रहेका छन् । उक्त कोठामा २६ हजार २८५ शय्या रहेका छन् । उक्त तारे होटल तथा रिसोर्ट सञ्चालनसँगै पर्यटकलाई गुणस्तरीय आवास, आधुनिक सेवासुविधा तथा अन्तरराष्ट्रियस्तरको आतिथ्य प्रदान गर्ने क्षमता पनि विस्तार हुँदै गएको छ । विभागका सूचना अधिकारी गौतम पछिल्लो समय होटल तथा रिसोर्टमा लगानी गर्नेको सङ्ख्या बढ्दै गएसँगै विभागले समायनुकूल होटलको मापदण्ड परिमार्जन गर्न सुरु गरेको छ । नेपालमा होटल तथा रिसोर्टलाई व्यवस्थित र स्तरीकरण गर्न पहिलोपटक २०७० सालमा होटल वर्गीकरण मापदण्ड निर्माण गरिएको थियो । समयको माग र अन्तरराष्ट्रिय अभ्यासअनुसार सरकारले २०७६ सालमा उक्त मापदण्डलाई संशोधन गरेको थियो । अन्तरराष्ट्रिय मापदण्ड, गुणस्तर र इको टुरिजमलाई ध्यानमा राखेर होटल मापदण्ड परिमार्जनको भइरहेको सूचना अधिकारी गौतम बताउँछन् । उक्त मापदण्डलाई परिमार्जन गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन महाशाखाका सहसचिवको नेतृत्वमा निर्देशक समिति गठन गरिएको छ भने पर्यटन विभागका निर्देशक एवं होटल शाखा प्रमुख (उपसचिव)को नेतृत्वमा मस्यौदा कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले यही असार मसान्तभित्र परिमार्जित होटल मापदण्ड मस्यौदा मन्त्रालयमा पेस गर्नेछ । होटल सङ्घ नेपाल (हान) का का अध्यक्ष विनायक शाह नेपालमा तारे होटल तथा रिसोर्टको सङ्ख्या बढ्नुले नेपालप्रति विदेशी पर्यटकको आकर्षण बढेको छ भन्ने देखाएको बताउँछन् । नेपालको प्रकृति, संस्कृति र साहसिक यात्राको मज्जा लिन विदेशी पर्यटक नेपालमा आउने गरेको उनको भनाइ छ । अध्यक्ष शाह पछिल्लो समय नेपालमा भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य बढेको बताउँछन् । प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार रहेको र नेपालको पर्यटन क्षेत्रमा क्रमशः विश्वासको वातावरण सृजना हुँदै गएको अध्यक्ष शाहको भनाइ छ । ‘नेपाल भारत र चीनको बीचमा रहेको सुन्दर भूमि हो, दुवै देश आर्थिक हिसाबले शक्तिशाली छन्, यी देशबाट बर्सेनि करोडौँ मानिसहरू यात्राका लागि निस्किन्छन्, त्यहाँका पर्यटकलाई नेपाल भित्र्याउन सकियो भने नेपालको पर्यटक क्षेत्रले ठूलो फड्को मार्न सक्थ्यो,’ उनले भने । भक्तपुर र काभ्रेपलाञ्चोकको सिमानामा मण्डनदेउपुरमा बन्दै गरेको निगालो होटलकी कार्यकारी सहायक प्रबन्धक क्रिस्टिना श्रेष्ठ होटल क्षेत्रमा बढ्दो लगानीले रोजगारी सृजना, स्थानीय अर्थतन्त्रको चलायमान र पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्याएको बताउँछिन् । नेपाली व्यवसायीको झन्डै २ अर्ब लगानीमा निर्माण सम्पन्न हुन लागेको निगालो होटलमा हाल सुविधासम्पन्न ६५ कोठा रहेका छन् । एक दशक लामो अष्ट्रेलिया बसाइपछि नेपाल फर्केर द्वारिकाज, पोखराको रूपाकोट, मल्ल, हिल्टनजस्ता चर्चित होटलमा काम गरेकी श्रेष्ठ पछिल्लो समय अन्तरराष्ट्रिय होटल ब्रान्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि विस्तार भइरहेको बताउँछिन् । अन्तरराष्ट्रिय पर्यटक आगमन वृद्धि, पर्यटन प्रवर्द्धन, पूर्वाधार सुधार र सेवा गुणस्तरमा निरन्तर ध्यान दिनुपर्ने उनको भनाइ छ । अर्का पर्यटन व्यवसायी अभिषेकविक्रम शाह पछिल्लो समय पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी व्यापक रूपमा बढेको बताउँछन् । नयाँ सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेसँगै भविष्यका लागि होटल क्षेत्रमा लगानी बढेको उनको भनाइ छ । व्यवसायी शाह निर्माण भएका अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न सकिए विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य बढ्ने बताउँछन् । केही समयदेखि लाजिम्पाटस्थित बुकी बुटिक होटल, नागार्जुनस्थित नागार्जुन रिसोर्टको व्यवस्थापनको नेतृत्व गर्दै आएका शाहले नेपालमा पछिल्लो समय भित्रिएका भारतीयका साथै आन्तरिक पर्यटनको आगमन र चहलपहलले यस क्षेत्रमा हौसला थपिएको धारणा राखेका छन् । त्यसैगरी, लाजिम्पाट बुटिक होटलका सञ्चालक लिलाप्रसाद ढकाल पछिल्लो समय नेपालमा होटल तथा रिसोर्टको सङ्ख्या बढ्नु सकारात्मक भएको बताउँछन् । विदेशीमात्र नभई आन्तरिक पर्यटकलाई लक्षित गरेर पनि थुप्रै पर्यटकस्तरीय होटल सञ्चालन आएको भन्दै राज्यले यस्ता होटललाई होटलवालामात्र नभई होटल व्यवसायीको दृष्टिकोणले हेनुपर्ने उनको भनाइ छ । कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कँदै गएको छ । कोरोनापछि सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ र सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपालमा भित्रिएका छन् । यो वर्षको जुनसम्म पाँच लाखभन्दा बढी पर्यटक नेपाल भित्रिसकेका छन् । रासस
यी हुन् प्रमुख १० पर्यटकीय गन्तव्य
काठमाडाै । नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको सूची सार्वजनिक भएको छ । तथ्यांक कार्यालयले बढी घुमघाम गरेको ठाउँको आधारमा प्रमुख १० पर्यटकीय गन्तव्य सार्वजनिक गरेको हो । तथ्यांक कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार काठमाडौं पहिलो स्थानमा रहेको छ । त्यसपछि दोस्रोमा चितवन र तेस्रोमा कास्की रहेका छन् । सार्वजनिक सूचीअनुसार रुपन्देही, बाँके, मोरङ, सुर्खेत, कैलाली, नवलपरासी (पूर्व) र पाल्पा नेपालका शीर्ष १० पर्यटकीय गन्तव्यमा परेका छन् । यी गन्तव्यहरू आन्तरिक पर्यटकका मात्र नभई अन्तर्राष्ट्रिय पर्यटकका लागि पनि नेपालका प्रमुख आकर्षणका रूपमा परिचित छन् । काठमाडौं सांस्कृतिक सम्पदा, ऐतिहासिक दरबार क्षेत्र र विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक स्थलका कारण स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षक गन्तव्य हो । चितवन वन्यजन्तु सफारी, जैविक विविधता र प्राकृतिक पर्यटनका लागि विश्वभर परिचित छ भने कास्कीले पोखरा, फेवाताल, अन्नपूर्ण हिमश्रृंखला र साहसिक पर्यटनमार्फत ठूलो संख्यामा पर्यटक तान्दै आएको छ । यसैगरी रुपन्देहीमा रहेको लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि प्रमुख धार्मिक गन्तव्य हो । बाँके, मोरङ, सुर्खेत, कैलाली, नवलपरासी (पूर्व) र पाल्पाले पनि धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक सम्पदामार्फत पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । तथ्यांक कार्यालयले गरेको सर्वेक्षणअनुसार रात बिताउने आन्तरिक पर्यटनका प्रमुख गन्तव्य जिल्लामा काठमाडौं, चितवन तथा कास्की रहेका छन् । मनोरञ्जन तर विदा मनाउने उद्देश्यले गरिने भ्रमणमा कास्की जिल्ला सबैभन्दा लोकप्रिय गन्तव्यका रूपमा देखिएको छ । पर्यटकको जनसांख्यिकीय विशेषता पर्यटक घरपरिवारमा युवा उमेर समूहको बाहुल्यता देखिएको छ । जेनेरेसन जेड (१३–२८ वर्ष) को हिस्सा २६ प्रतिशत रहेको छ । त्यसपछि जेनेरेसन अल्फा तथा विटा (०–१२ वर्ष) को हिस्सा २२.६ प्रतिशत तथा जेनेरेसन (२९–४४ वर्ष) को हिस्सा २२.० प्रतिशत रहेको छ । सोही दिन फर्किने आन्तरिक भ्रमणको प्रमुख उद्देश्य किनमेल रहेको छ, जसको हिस्सा ३२.६ प्रतिशत रहेको छ । त्यसपछि स्वास्थ्य उपचार तथा साथीभाइ र आफन्त भेटघाटको हिस्सा समान रूपमा २०.१ प्रतिशत रहेको छ। रात विताउने आन्तरिक भ्रमणको सन्दर्भमा भने साथीभाइ तथा आफन्त भेटघाट प्रमुख उद्देश्यका रूपमा देखिएको छ, जसको हिस्सा ६५.५ प्रतिशत रहेको छ । रात विताउने आन्तरिक भ्रमणको औसत अवधि ५.३३ दिन रहेको छ भने एक पर्यटकले वर्षभरिमा औसत ४.८१ पटक यस्ता भ्रमण गर्ने गरेको देखिएको छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा लामो औसत बसाइ अवधि ८.१८ दिन रहेको छ । मधेश प्रदेशमा पनि औसत बसाइ अवधि ८.१८ दिन नै रहेको देखिन्छ । भ्रमण आवृत्तिको दृष्टिले गण्डकी प्रदेश सवैभन्दा अगाडि रहेको छ जहाँ बार्षिक औसत भ्रमण संख्या ६.२६ पटक रहेको छ । सुदूरपश्चिम प्रदेशमा भने यो संख्या ३.३२ पटक रहेको छ । भ्रमणको उद्देश्यअनुसार शिक्षा तथा तालिमका लागि गरिने यात्रामा सबैभन्दा लामो बसाइ (औसत ९.१६ दिन) रहेको छ । तीर्थयात्रा तथा किनमेलसम्बन्धी भ्रमणहरू अपेक्षाकृत छोटो अवधिका हुने गरेका छन् । वार्षिक भ्रमण आवृत्तिका आधारमा व्यावसायिक भ्रमण सबैभन्दा बढी (औसत ६.९ पटक) हुने गरेका छन् भने विद तथा मनोरञ्जनसम्बन्धी भ्रमणको औसत आवृत्ति ३.०२ पटक रहेको छ।
नेपालीले घुमघाममै खर्चिए ४ खर्ब ५९ अर्ब, स्वदेशमै ३ खर्ब ९५ अर्ब
काठमाडौं । नेपालीहरूले एक वर्षको अवधिमा आन्तरिक तथा बाह्य पर्यटनमा गरी कुल ४ खर्ब ५९ अर्ब रुपैयाँ खर्च गरेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ अनुुसार नेपालीले सो खर्च गरेका हुन् । यसमध्ये सबैभन्दा ठूलो हिस्सा स्वदेशभित्रको यात्रामा खर्च भएको देखिएको छ । तथ्यांकअनुसार नेपालीहरुले स्वदेशमै ३ खर्ब ९५ अर्ब र विदेश यात्रामा ६३ अर्ब ६४ करोड खर्च गरेका छन् । त्यसैगरी वाह्य पर्यटनअन्तर्गत रात विताउने भ्रमणमा ४७ अर्व ९७ करोड रुपैयाँ तथा सोही दिन फर्किने भ्रमणमा १५ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ । उद्देश्यगत रूपमा स्वास्थ्य उपचारसम्बन्धी भ्रमणमा कुल खर्चको ३१.७८ प्रतिशत खर्च भएको छ, जुन सवैभन्दा उच्च हिस्सा हो । स्वयंसेवा, बसाइँसराइ तथा अन्य प्रयोजनका भ्रमणमा खर्चको हिस्सा ०.८ प्रतिशत मात्र रहेको छ । खर्चका शीर्षकहरूमध्ये किनमेलमा २६ प्रतिशत खर्च भएको छ, जुन सवैभन्दा बढी हिस्सा हो। साहसिक गतिविधिमा खर्चको हिस्सा ०.०४ प्रतिशत मात्र रहेको छ । यातायात खर्चमध्ये ६८.७ प्रतिशत सार्वजनिक सवारी साधनमा खर्च हुने गरेको देखिन्छ, जसले सार्वजनिक यातायात आन्तरिक पर्यटनको प्रमुख माध्यम रहेको तथ्यांकले स्पष्ट पारेको छ । तथ्यांकअनुसार प्रति भ्रमण औसत खर्च ११ हजार ९२२ रुपैयाँ रहेको छ । स्वास्थ्य उपचारसम्बन्धी भ्रमणमा प्रति भ्रमण औसत खर्च २३ हजार ५१६ रुपैयाँ रहेको छ । तथ्यांक कार्यालयले सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ नेपालमा आन्तरिक पर्यटनको अवस्था, भ्रमणको उद्देश्य, खर्चको ढाँचा तथा पर्यटन क्षेत्रको आर्थिक योगदान मापन गर्ने उद्देश्यले पहिलो राष्ट्रियस्तरको विस्तृत सर्वेक्षण हो । सर्वेक्षणअनुसार नेपालमा रहेका कुल ६९ लाख १० हजार घरपरिवारमध्ये ३६ लाख २१ हजार (५२.४ प्रतिशत) घरपरिवारले सन्दर्भ अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएको देखिएको छ । यस्ता घरपरिवारलाई ‘पर्यटक घरपरिवार’ का रूपमा वर्गीकरण गरिएको छ । पर्यटक घरपरिवारमध्ये ३३.३ प्रतिशतले वर्षमा एक पटक, ३२.२ प्रतिशतले दुई पटक तथा ३४.५ प्रतिशतले तीन वा सोभन्दा बढी पटक भ्रमण गरेको देखिएको छ । सर्वेक्षणले युवा पुस्ता, विशेष गरी जेनेरेसन अल्फा र जेनेरेसन जेड, अन्य उमेर समूहको तुलनामा बढी पटक भ्रमण गर्ने गरेको देखाएको छ । उमेर बढ्दै जाँदा भ्रमणको आवृत्ति क्रमशः घट्दै गएको पाइन्छ । बाह्य पर्यटनको अवस्था २०८१ असोजदेखि २०८२ भदौसम्म नेपाली वासिन्दाले कुल २ लाख ९३ हजार सोही दिन फर्किने तथा ६ लाख २० हजार रात विताउने वाह्य भ्रमण गरेका छन् । सोही दिन फर्किने बाह्य भ्रमणको मुख्य उद्देश्य किनमेल रहेको छ, जसको हिस्सा ६३.९ प्रतिशत रहेको छ । रात विताउने बाह्य भ्रमणमा किनमेल ४०.३ प्रतिशत तथा धार्मिक उद्देश्य १९.६ प्रतिशत प्रमुख रहेको देखिन्छ । त्यस्तै बाह्य भ्रमणको मौसमी वितरण हेर्दा कार्तिकदेखि पुससम्मको दोस्रो सिजनमा सबैभन्दा बढी भ्रमण हुने गरेको देखिएको छ । यस अवधिमा सोही दिन फर्किने भ्रमणको ५०.२ प्रतिशत तथा रात बिताउने भ्रमणको ३२.८ प्रतिशत हिस्सा रहेको छ । वाह्य भ्रमणमा प्रति भ्रमण सहभागी सदस्यको औसत संख्या १.२ जना रहेको छ, जसले अधिकांश भ्रमण व्यक्तिगत रूपमा हुने गरेको संकेत गर्दछ। भारततर्फ गरिने सोही दिन फर्किने भ्रमणमा कुल खर्चको ७०.७ प्रतिशत किनमेलमा खर्च हुने गरेको देखिएको छ । प्रदेशगत रूपमा मधेश प्रदेशवाट भारततर्फ हुने यस्ता भ्रमणको संख्या सवैभन्दा बढी रहेको पाइएको छ । पर्यटन स्याटलाइट लेखाको ढाँचाअनुसार नेपालमा आन्तरिक पर्यटनबाट सिर्जित कुल पर्यटकीय उपभोग ४ खर्व ७ अर्थ १७ करोड रुपैयाँ पुगेको अनुमान गरिएको छ । यस उपभोगका आधारमा आन्तरिक पर्यटन क्षेत्रबाट कुल ३ खर्ब ३१ अर्व ८४ करोड रुपैयाँ बरावरको उत्पादन सिर्जना भएको अनुमान गरिएको छ । उत्पादन प्रक्रियामा १ खर्व ८७ अर्व ३४ करोड रुपैयाँ बराबरको मध्यवर्ती उपभोग कटाउँदा कुल पर्यटन मूल्य अभिवृद्धि१ खर्च ४४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। सर्वेक्षणका नतिजाअनुसार आन्तरिक पर्यटनले आर्थिक वर्ष सन् २०२४/२५ मा नेपालको कुल गार्हस्थ्य उत्पादन ५४ खर्व ५४ अवसँग तुलना गर्दा २.६५ प्रतिशत योगदान पुन्याएको अनुमान गरिएको छ । आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ ले नेपालमा आन्तरिक पर्यटनको व्यापकता, सामाजिक महत्त्व तथा आर्थिक योगदानलाई तथ्याङ्कीय रूपमा पुष्टि गरेको छ। आधाभन्दा बढी घरपरिवार पर्यटन गतिविधिमा सहभागी हुनु, पर्यटन क्षेत्रमा ४ खर्व रुपैयाँभन्दा बढी उपभोग सिर्जना हुनु तथा कुल गार्हस्थ्य उत्पादनमा २.६५ प्रतिशत योगदान रहनु आन्तरिक पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ बनेको स्पष्ट संकेत हो । ४७.६ प्रतिशतले कुनै प्रकारको पर्यटकीय भ्रमण गरेनन् तथ्याकअनुसार ३२ लाख ८९ हजार (४७.६ प्रतिशत) घरपरिवारले कुनै पनि प्रकारको पर्यटकीय भ्रमण नगरेको पाइएको छ । प्रति एक हजार घरपरिवारमा ५२३ पर्यटक घरपरिवार तथा ४७७ गैर–पर्यटक घरपरिवार रहेको देखिन्छ। यसले नेपालका आधाभन्दा बढी घरपरिवार प्रत्यक्ष रूपमा पर्यटन गतिविधिमा सहभागी रहेको संकेत गर्दछ । पर्यटक घरपरिवारको औसत सदस्य संख्या राष्ट्रिय स्तरमा ३.९४ रहेको छ। ग्रामीण क्षेत्रमा यो संख्या ४.०२ रहेको छ भने सहरी क्षेत्रमा ३.८७ रहेको छ । यसले ग्रामीण क्षेत्रका पर्यटक घरपरिवारमा परिवारको आकार तुलनात्मक रूपमा ठूलो रहेको देखाउँछ । आन्तरिक पर्यटनको उद्देश्य, अवधि तथा गन्तव्य सोही दिन फर्किने आन्तरिक भ्रमणको प्रमुख उद्देश्य किनमेल रहेको छ, जसको हिस्सा ३२.६ प्रतिशत रहेको छ । त्यसपछि स्वास्थ्य उपचार तथा साथीभाइ र आफन्त भेटघाटको हिस्सा समान रूपमा २०.१ प्रतिशत रहेको छ। रात विताउने आन्तरिक भ्रमणको सन्दर्भमा भने साथीभाइ तथा आफन्त भेटघाट प्रमुख उद्देश्यका रूपमा देखिएको छ, जसको हिस्सा ६५.५ प्रतिशत रहेको छ। यसले नेपालमा सामाजिक तथा पारिवारिक सम्बन्ध आन्तरिक पर्यटनको प्रमुख प्रेरक शक्ति रहेको संकेत गर्दछ। रात विताउने आन्तरिक भ्रमणको औसत अवधि ५.३३ दिन रहेको छ भने एक पर्यटकले वर्षभरिमा औसत ४.८१ पटक यस्ता भ्रमण गर्ने गरेको देखिएको छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा लामो औसत बसाइ अवधि ८.१८ दिन रहेको छ। मधेश प्रदेशमा पनि औसत बसाइ अवधि ८.१८ दिन नै रहेको देखिन्छ। भ्रमण आवृत्तिको दृष्टिले गण्डकी प्रदेश सवैभन्दा अगाडि रहेको छ जहाँ बार्षिक औसत भ्रमण संख्या ६.२६ पटक रहेको छ। सुदूरपश्चिम प्रदेशमा भने यो संख्या ३.३२ पटक रहेको छ। भ्रमणको उद्देश्यअनुसार शिक्षा तथा तालिमका लागि गरिने यात्रामा सबैभन्दा लामो बसाइ (औसत ९.१६ दिन) रहेको छ। तीर्थयात्रा तथा किनमेलसम्बन्धी भ्रमणहरू अपेक्षाकृत छोटो अवधिका हुने गरेका छन्। वार्षिक भ्रमण आवृत्तिका आधारमा व्यावसायिक भ्रमण सबैभन्दा बढी (औसत ६.९ पटक) हुने गरेका छन् भने विद तथा मनोरञ्जनसम्बन्धी भ्रमणको औसत आवृत्ति ३.०२ पटक रहेको छ। रात बिताउने आन्तरिक पर्यटनका प्रमुख गन्तव्य जिल्लामा काठमाडौं, चितवन तथा कास्की रहेका छन्। मनोरञ्जन तर विदा मनाउने उद्देश्यले गरिने भ्रमणमा कास्की जिल्ला सबैभन्दा लोकप्रिय गन्तव्यका रूपमा देखिएको छ । पर्यटकको जनसांख्यिकीय विशेषता पर्यटक घरपरिवारमा युवा उमेर समूहको बाहुल्यता देखिएको छ । जेनेरेसन जेड (१३–२८ वर्ष) को हिस्सा २६ प्रतिशत रहेको छ। त्यसपछि जेनेरेसन अल्फा तथा विटा (०–१२ वर्ष) को हिस्सा २२.६ प्रतिशत तथा जेनेरेसन (२९–४४ वर्ष) को हिस्सा २२.० प्रतिशत रहेको छ ।