पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

गण्डकी । नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताको ९० प्रतिशत बढी भरिभराउ भएका छन् । नेपाली नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटेल भरिभराउ भएको होटेल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली नयाँ वर्षकै अवसरमा सङ्घले सञ्चालन गर्दै आएको फेवा नव वर्ष महोत्सवको २१औँ संस्करणका कारण पनि पोखरामा पर्यटकको आगमन बढाएको उनले बताए । प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण चासो र चर्चा कमाएको पोखरालाई पर्यटन राजधानी घोषणा गरिनुका साथै यसको प्रवर्द्धनमा निरन्तर गरिएका प्रयाससँगै पर्यटकको आगमन पनि बढ्दो क्रममा रहेको पर्यटन व्यवसायी बताउँछन् ।      पोखरा क्षेत्रमा कुल एक हजार २०० होटेल रहेकामा प्रत्येक दिन ४० हजारसम्म पर्यटक राख्न सकिने अध्यक्ष सुवेदीले बताए ।    

पर्यटन प्रवर्द्धन गर्न क्यानडाको प्रदर्शनीमा नेपालको सहभागिता

काठमाडौं । क्यानडाको ओटावामा आयोजित ‘२७औँ वार्षिक यात्रा तथा बिदा प्रदर्शनी’मा त्यहाँस्थित नेपाली दूतावासले सहभागिता जनाएको छ ।      आइतबार र सोमबार सम्पन्न उक्त प्रदर्शनीमा दूतावासले छुट्टै स्टल स्थापना गरी नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा कलात्मकतालाई उजागर गर्ने विभिन्न पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्री, परम्परागत कलाकृति र मौलिक नेपाली उत्पादनहरू प्रदर्शन गरेको थियो । साथै, नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू समेटिएका प्रचारात्मक वृत्तचित्र तथा भिडियोहरू पनि प्रदर्शन गरिएको दूतावासले जनाएको छ ।      यस कार्यक्रमले क्यानडेली पर्यटकहरूमाझ नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  

नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढ्यो

रमेश गिरी काठमाडौं । नयाँ वर्ष २०८३ को आगमन भएसँगै आजको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढेको छ । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीय स्थल नगरकोटबाट रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा पर्यटन एवं होटल व्यवसायी उत्साहित भएका छन् । पर्यटन व्यवसायमा विदेशी पर्यटक मात्रै नभई आन्तरिक पर्यटकको आगमनको बढ्दो चापले व्यवसायी उत्साहित भएका हुन् । नयाँ वर्ष २०८३ को आगमनले भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म आन्तरिक तथा विदेशी पर्यटकले भरिएका छन् । नगरकोटमा नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिभराउ भएका व्यवसायी बताउँछन् । वि.सं २०८२ को बिदाइ गर्दै २०८३ को पहिलो सूर्योदय र यहाँका हिमाली दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकले नगरकोटको आकर्षण थप बढाएका होटल व्यवसायी एवं होटल चौतारीको सञ्चालक बद्री माकले बताए ।  अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकीय चाप बढ्दा व्यवसायीमा उमङ्ग थपेको बताउँदै माकले भने, ‘विदेशी पर्यटकको चाप पनि बढेको छ, स्वदेशी पर्यटकको चाप निकै बढेको छ, अङ्ग्रेजी नयाँ वर्षमा करिब ५० प्रतिशत विदेशी पर्यटक र ५० प्रतिशत स्वदेशी पर्यटकले यहाँको होटल भरिएका छन् ।’ सामान्यदेखि फाइभ स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप बढेपछि व्यवसायी थप होटल र कोठा थप्न उत्साहित भएका बताउँदै नगरकोट बेसक्याम्पका सञ्चालक अनुप केसीले नगरकोटमा थप होटल खुल्ने क्रम जारी रहेको उल्लेख गरे । चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मज्जा लिन यहाँ पर्यटकको आगमन बढेको बताउँदै सञ्चालक केसीले व्यवसायी उत्साहित भएका बताए ।  अर्का पर्यटन व्यवसायी एवं होटल ‘पिसफुल’ नगरकोटका सञ्चालक रामशङ्कर ध्वजुले नयाँ वर्षले पर्यटन व्यवसायीलाई उत्साह थपेको बताउँदै यस वर्ष विगत वर्षको तुलनामा पर्यटकको आगमन बढेको जानकारी दिए । विदेशीभन्दा स्वदेशी पर्यटकको आगमनले नगरकोट होटल भरिएका व्यवसायी एवं होटल मेरीगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछानेले बताए । उनले भने, ‘मैले होटल क्षेत्रमा काम गरेको २७ वर्ष भयो । पछिल्ला केही वर्षयता कोरोनाले थला पारेको व्यवसायलाई उठाएको छ, नयाँ होटल थपिँदै छन् ।’ नगरकोटमा सामान्यदेखि ७ स्टारसम्मका होटल सञ्चालनमा आएका नगरकोट नाल्दुम पर्यटन व्यवसायी समितिका अध्यक्ष नवीन लामाले जानकारी दिए । नगरकोट भ्रमण वर्ष २०८२ ले पनि पर्यटकको आगमन बढाएको उनको भनाइ छ । केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका-७ गुण्डु र वडा नंं ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटल नयाँ वर्षमा आन्तरिक पर्यटकले भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्य हेर्ने र रातभर नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचो लागेको रानीकोटका पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले बताए । समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङखलासमेत अवलोकन गर्न सकिन्छ । पर्यटन व्यवसायी बकेले भने, ‘रानीकोटबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङ्टाङजस्ता आठ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल हेर्न सकिन्छ । पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको छ । नयाँ वर्षमा आन्तरिक पर्यटकले यहाँका होटल भरिएका छन्, रानीकोट पर्यटकको रोजाइमा पर्न थालेपछि व्यवसायी उत्साहित भएका छन् ।’ सहज पक्की सडकदेखि सूर्यविनायक(रानीकोट-आशापुरी एवं सूर्यविनायक-रानीकोट-फुल्चोकी पदयात्राको रुट, सूर्यविनायकबाट रानीकोट हुँदै पनौती जाने छोटो दूरीको सडक, रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको भन्दै उनले कोरोना महामारी पछि यति धेरै आन्तरिक पर्यटकको आगमनले यहाँका सबै होटल खचाखच भएको बताए ।  नयाँ वर्षको भीडले पर्यटन व्यवसायीलाई ऊर्जा र उत्साह थपेको बताउँदै व्यवसायी बकेले भने, ‘पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नु अगाडि बनाएको गढी र पछि त्यही मल्ल राजाहरुले रानीका लागि दरबार बनापछि रानीकोट नाम रहेको यो क्षेत्र ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको छ ।’ नयाँ वर्ष आफ्नो होटल ७ दिनअघिदेखि नै बुक भएको बताउँदै उनले यहाँको रानीकाट गढी, बाघ भैरवलगायत ऐतिहासिक पर्यटकीय क्षेत्र पनि घुम्न पाइने बताउँछन् । सूर्यविनाकबाट घ्याम्पेडाँडा हुँदै रानीकोट पुग्न सकिने यस क्षेत्रमा पर्यटकको आगमन बढेसँगै दर्जनभन्दा बढी नयाँ होटल थप भएका छन् । ‘घ्याम्पेडाँडा रिसोर्ट’ का सञ्चालक राजेन्द्र प्याथले आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यवसायमा उत्साह थपेको बताए । घ्याम्पेडाँडामा अहिलेसम्मको बढी लागतमा निर्माण भएको होटलले विदेशी र स्वदेशी पर्यटकलाई राख्दै आएको बताउँदै उनले नयाँ वर्षमा यहाँको होटल खचाखच भएको उल्लेख गरे ।