माइक्रोसफ्टले ४ हजार ८०० कर्मचारी कटौती गर्ने, सबैभन्दा बढी असर एक्सबक्समा

काठमाडौं । विश्वप्रसिद्ध सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले ४ हजार ८०० कर्मचारीको जागिर कटौती गर्ने घोषणा गरेको छ । यो संख्या कम्पनीका कुल कर्मचारीको करिब २.१ प्रतिशत हो । यस कटौतीको सबैभन्दा ठूलो असर कम्पनीको एक्सबक्स डिभिजनमा पर्ने बताइएको छ । माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष एमी कोलम्यानले कर्मचारीहरूलाई पठाएको सन्देशमा द्रुत गतिमा परिवर्तन भइरहेको सूचना प्रविधि उद्योगका कारण कम्पनीले ग्राहकलाई बढी लाभ पु‍र्याउन सक्ने क्षेत्रहरूमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेकी छन् । यस पुनर्संरचनाअन्तर्गत एक्सबक्स डिभिजनबाट तत्काल १ हजार ६०० भन्दा बढी जागिर कटौती गरिनेछ । हालै मात्र एक्सबक्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेकी आशा शर्माले कर्मचारीहरूलाई पठाएको सन्देशमा कम्पनीले ‘एक्सबक्सको इतिहासकै सबैभन्दा ठूलो पुनर्संरचना प्रक्रिया सुरु गरिरहेको’ बताएकी छन् । उनले आगामी एक वर्षभित्र थप १ हजार ६०० कर्मचारीको जागिर समाप्त गरिने जानकारी पनि दिएकी छन् । यसका साथै एक्सबक्सअन्तर्गत रहेका चार गेम विकास स्टुडियो कम्पल्सन गेम्स, डबल फाइन प्रोडक्सन्स, निन्जा थ्योरी र अनडेड ल्याब्लाई पनि कम्पनीको पुनर्संरचना योजनाअन्तर्गत अलग गरिनेछ । आशा शर्माले भनिन्, ‘यी परिवर्तनहरू एक्सबक्सलाई सानो बनाउन होइन, अझ ठूलो भविष्यका लागि तयार बनाउन गरिएको हो ।’ ‘इतिहासमा यस्ता धेरै उदाहरण छन् जहाँ कम्पनीहरूले लामो समयसम्म टिकिरहनुलाई नै आफ्नो भविष्यको ग्यारेन्टी ठाने । हामी त्यस्तो गल्ती गर्नेछैनौं,’ उनले थपिन् ।

पोको एम८ सिरिजका दुई स्मार्टफोन सार्वजनिक, मूल्य कति ?

काठमाडौं । टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक प्रविधिसहितका यी दुई स्मार्टफोन नेपाली उपभोक्तामाझ ल्याइएको कम्पनीले जनाएको छ । कम्पनकिा अनुसार पोको एम८एस ५वस् मा ७ हवा एमएच क्षमताको शक्तिशाली ब्याट्री रहेको छ । जसले लामो समयसम्म निर्बाध रूपमा प्रयोग गर्न सकिने सुविधा रहेको छ । यसमा ३३ वाट टर्बो चार्जिङ र १८ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ । फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा तथा ८ मेगापिक्सेलको अगाडिको क्यामेरा समावेश गरिएको छ, जसले स्पष्ट र गुणस्तरीय तस्बिर तथा भिडियो खिच्न मद्दत गर्छ । यस स्मार्टफोनमा ६.९ इन्चको पूर्ण एचडी प्लस डिस्प्ले तथा अधिकतम १४४ हर्ज रिफ्रेस दर रहेको छ, जसले स्पष्ट, आकर्षक र सहज दृश्य अनुभव प्रदान गर्छ । फोनमा स्न्यापड्रागन ६एस जेन ३ प्रोसेसर, अष्ट–कोर सीपीयू तथा एड्रेनो जीपीयू जडान गरिएको छ । त्यसैगरी पोको एम८ प्रो लाई एम८ सिरिजको थप उन्नत संस्करणका रूपमा प्रस्तुत गरिएको छ । यसमा ६.८३ इन्चको क्रिस्टलरेस एमोलेड डिस्प्ले, १.५के रिजोल्युसन, १२० हर्ज रिफ्रेस दर तथा अधिकतम ३,२०० निट्ससम्मको उज्यालोपन रहेको छ, जसले अझ उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ ।  फोटोग्राफीका लागि यस स्मार्टफोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा तथा ३२ मेगापिक्सेलको अगाडिको क्यामेरा समावेश गरिएको छ। साथै, ६,५०० एमएच क्षमताको ब्याट्री, १०० वाट हाइपरचार्ज तथा २२.५ वाट रिभर्स चार्जिङ सुविधाले यसलाई अझ प्रभावकारी बनाएको छ । ४ न्यानोमिटर प्रविधिमा आधारित स्न्यापड्रागन ७एस जेन ४ प्रोसेसरले २.७ गिगाहर्जसम्मको गतिसहित अष्ट–कोर कार्यसम्पादन प्रदान गर्छ । यी दुवै स्मार्टफोन पानीका छिटा तथा धुलोबाट सुरक्षित रहने आईपी वाटर तथा डस्ट रेसिस्टेन्स सुविधासहित उपलब्ध छन् । टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानका अनुसार, यी दुबै फोनले उत्कृष्ट कार्यसम्पादन, किफायती मूल्य र सहज फाइभ–जी अनुभवलाई एकैसाथ समेटेका छन् । दैनिक प्रयोगलाई ध्यानमा राखेर तयार पारिएका यी स्मार्टफोनहरूले प्रतिस्पर्धी मूल्यमा आधुनिक प्रविधि उपलब्ध गराउँदै धेरै उपभोक्तासम्म गुणस्तरीय प्रविधिको पहुँच विस्तार गर्ने पोको को प्रतिबद्धतालाई थप सुदृढ बनाएका छन् । पोको एम८एस फाइभजी कालो र सेतो रङमा उपलब्ध छ । यसको ६ जीबी र्याम तथा १२८ जीबी भण्डारण क्षमता भएको संस्करणको मूल्य ३७ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम तथा २५६ जीबी भण्डारण क्षमता भएको संस्करणको मूल्य ४४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी, पोको एम८ प्रो फाइभजीको ८ जीबी र्याम तथा २५६ जीबी भण्डारण क्षमता भएको संस्करण कालो, हरियो र चाँदी रङमा उपलब्ध छ । यस स्मार्टफोनको मूल्य ५६ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै, पोको ले सबै मोडेलमा १ वर्षको आधिकारिक ब्रान्ड वारेन्टीसहित अधिकतम ९ महिनासम्मको किस्ता (इएमआई) सुविधा उपलब्ध गराएको छ । यी दुवै स्मार्टफोनहरू अब टेलिटकका आधिकारिक शोरुम, खुद्रा बिक्रेता तथा दराज मार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।  

भारत र नेपालबीचको डिजिटल भुक्तानी थप सहज बनाउँदै सानिमा बैंक

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा भारत–नेपालबीच रियल टाइम पर्सन–टु–पर्सन (पी–टु–पी) भुक्तानी सेवा सुरु गरेको छ । बैंकका अनुसार नयाँ सेवामार्फत दुई देशबीच सुरक्षित, तत्काल र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सकिनेछ । यस सेवामा भारत र नेपालका प्रयोगकर्ताले बैंक खाताको विवरण साझा नगरी भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) र युपिआई आईडी प्रयोग गरेर रकम आदानप्रदान गर्न सक्नेछन् । नेपाली प्रयोगकर्ताले भीपीएमार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोगकर्ताले युपिआई आईडी प्रयोग गरेर भारत–नेपालबीच रकम पठाउन र प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार यो सेवाले सीमापार भुक्तानी प्रक्रियालाई थप सरल, सुरक्षित र सहज बनाउनेछ । साथै विद्यार्थी, पेशाकर्मी, यात्रु तथा भारत–नेपालबीच नियमित आर्थिक कारोबार गर्ने परिवारका लागि परम्परागत रेमिट्यान्स प्रणालीको आधुनिक विकल्प बन्ने अपेक्षा गरिएको छ । सानिमा बैंकले हाल देशभरका सातै प्रदेशमा रहेका १३४ शाखा र १२७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले सुरक्षित र नवीन डिजिटल बैंकिङ समाधान विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ ।