सफाइ पाएपछि टेलिकमकी प्रबन्ध निर्देशक अर्यालको पुनर्बहाली
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनर्बहाल भएकी छन् । उनीमाथि लागेको आरोपमा विशेष अदालतबाट पूर्ण सफाइ पाएपछि सरकारको निर्णयअनुसार उनको निलम्बन फुकुवा गर्दै पुनर्बहाली गरिएको हो । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय २०८३ असार २६ गतेको निर्णयअनुसार अर्याललाई प्रबन्ध निर्देशकको जिम्मेवारीमा पुनर्बहाल गरिएको नेपाल टेलिकमले जनाएको छ । पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले संस्था र देशको हितमा इमानदारीपूर्वक काम गर्न कर्मचारीहरू डराउन नपर्ने बताइन् । उनले विगतमा कर्मचारीमाथि लागेका आरोप र फैलिएका भ्रम अन्ततः सत्यका आधारमा हटेको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई निरन्तर नेतृत्व र सहयोग गर्ने सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरिन् । अर्यालले कम्पनीमा प्रक्रियागत सुधारलाई प्राथमिकतामा राखिने बताउँदै आगामी दिनमा आन्तरिक व्यवस्थापनसँगै बाह्य सरोकारवालाको अपेक्षालाई समेत ध्यानमा राखेर काम गरिने स्पष्ट पारिन् । नेपाल सरकारको नीति र मार्गनिर्देशनअनुसार सत्यनिष्ठ र पारदर्शी ढंगले काम गर्दै नेपाल टेलिकमप्रतिको जनविश्वास र बजारको साख अझ मजबुत बनाउने तथा सेवालाई थप ग्राहकमैत्री बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् । नेपाल टेलिकमले गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह, कानुनी शासनको सम्मान तथा देशको दूरसञ्चार क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो भूमिका अझ प्रभावकारी ढंगले निर्वाह गर्दै जाने जनाएको छ ।
सिटी एक्सप्रेसको २०औँ वार्षिकोत्सव, रक्तदानसँगै उत्कृष्ट कर्मचारी सम्मानित
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले स्थापना भएको २० वर्ष पूरा गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले २०औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय परिसरमा ‘रक्तदान जीवनदान, हामी सबैको योगदान’ भन्ने मूल नारासहित संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खुला रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ । उक्त कार्यक्रममा कम्पनीका कर्मचारीसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो । वार्षिकोत्सवकै अवसरमा कम्पनीले उत्कृष्ट कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत पनि गरेको छ । कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा चर्चित हास्यकलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो । कम्पनीले विगत १९ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै विश्वका विभिन्न मुलुकबाट नेपालमा सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध गराइरहेको जनाएको छ । साथै, कम्पनीले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सञ्चालन गर्नुका साथै सोही प्लेटफर्मबाट रेमिट्यान्स भुक्तानी सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
काठमाडौं । विश्वका प्रमुख सङ्गीत उद्योगसम्बद्ध संस्थाहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सिर्जना गरिएका सङ्गीत सामग्रीको पहिचान गर्न नयाँ स्वेच्छिक लेबलिङ प्रणाली सार्वजनिक गरेका छन् । यसको उद्देश्य एआईबाट उत्पादित सामग्रीबारे श्रोतालाई स्पष्ट जानकारी उपलब्ध गराउनु हो । फोनोग्राफिक उद्योगको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफपीआई) र रेकर्डिङ इन्डस्ट्री एसोसिएसन अफ अमेरिका (आरआईएए) ले ग्रामी अवार्ड आयोजकसहित अन्य संस्थाहरूसँग मिलेर शुक्रबार उक्त प्रणाली सार्वजनिक गरेका हुन् । संस्थाहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा श्रोताहरूले सङ्गीत सिर्जनामा एआई कसरी र कति प्रयोग भएको छ भन्ने जानकारी चाहेको उल्लेख गर्दै नयाँ लेबलले पारदर्शिता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । नयाँ प्रणालीअन्तर्गत दुई प्रकारका लेबल प्रयोग गरिनेछन् । पहिलो ‘एआईद्वारा सिर्जना गरिएका’लेबल त्यस्ता सामग्रीमा प्रयोग हुनेछ, जहाँ गीत वा रेकर्डिङका अधिकांश वा सम्पूर्ण सिर्जनात्मक पक्ष कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएको हुन्छ । यसमा एआईबाट पूर्ण रूपमा सिर्जित गीत, एआईद्वारा तयार गरिएका मुख्य स्वर वा प्रमुख वाद्य ट्र्याकसमेत समावेश हुनेछन् । दोस्रो ‘एआई–सहायता प्राप्त’लेबल भने मुख्य रूपमा मानव सिर्जनामा आधारित भए पनि केही सिर्जनात्मक अंशमा एआईको सहयोग लिइएको सङ्गीतमा प्रयोग गरिनेछ । यस प्रकारका सामग्रीमा मुख्य स्वर र प्रमुख वाद्य प्रस्तुतीकरण भने मानव कलाकारले नै गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । यो स्वेच्छिक लेबलिङ प्रणाली सङ्गीत स्ट्रिमिङ सेवासहित विश्वव्यापी रूपमा लागू गर्ने लक्ष्य राखिएको छ । सङ्गीत स्ट्रिमिङ सेवा डिजरले एआईबाट सिर्जित सामग्रीलाई स्वचालित रूपमा चिह्न लगाउने व्यवस्था गरिसकेको छ । कम्पनीका अनुसार हाल नयाँ अपलोड हुने सामग्रीमध्ये करिब आधा एआईबाट सिर्जित छन् । जुन महिनामा डिजरले ९९ दशमलव आठ प्रतिशत शुद्धतासहित एआई सङ्गीत पहिचान गर्ने प्रणालीसमेत सार्वजनिक गरेको थियो । यसै वर्षको सुरुमा एप्पल म्युजिकका एक अधिकारीले नयाँ अपलोड हुने सामग्रीमध्ये एक तिहाइभन्दा बढी पूर्ण रूपमा एआईबाट सिर्जित हुने बताएका थिए । एप्पल म्युजिक, अमेजन म्युजिक र स्पोटिफाइजस्ता स्ट्रिमिङ सेवाहरूको प्रतिनिधित्व गर्ने ‘डिजिटल मिडिया एसोसिएसन’(डिमा)ले पनि नयाँ लेबलिङ प्रणालीको स्वागत गर्दै प्रयोगकर्तालाई थप पारदर्शी जानकारी उपलब्ध गराउन एआईसम्बन्धी मेटाडाटा अझ सुदृढ बनाइने जनाएको छ । स्पोटिफाइले गत अप्रिलमा कलाकारको आधिकारिक सामग्री पहिचान गर्न ‘स्पोटिफाइद्वारा प्रमाणित’ लेबल सुरु गरेको थियो भने एआईद्वारा हुने प्रतिरूपण (इम्पर्सोनेसन) रोक्न नयाँ उपायहरू पनि लागू गरेको जनाएको छ । रासस