कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, कसरी दिने आवेदन ?
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये छ हजार ९१३ उत्पादनमूलक र दुई हजार ७४१ कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ । कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने शाखाले जनाएको छ । भाषा परीक्षामा सहभागी हुन आगामी चैत १४ देखि २१ गतेसम्म आवदेन फारम भर्न सक्ने शाखाले जनाएको छ । आवेदन फाराम eoers.epsnepal.gov.np मार्फत भर्न सकिनेछ । परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ । आवेदन फारम शुल्क अमेरिकी डलर २४ लाग्नेछ । आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षा र सीप परीक्षण आगामी वैशाख २६ देखि जेठ १३ सम्म पहिलो चरण र आगामी जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणमा हुनेछ । यस्तै उत्पादनमूलक क्षेत्रतर्फको परीक्षा आगामी असार २० देखि भदौ १० सम्म पहिलो चरण र आगामी भदौ १६ देखि असोज २१ गतेसम्म दोस्रो चरणमा हुनेछ । परीक्षा एक दिनमा चार सिफ्टमा सञ्चालन हुने शाखाले जनाएको छ । कृषि तथा पशुपालन क्षेत्रतर्फ पहिलो चरणमा भएको भाषा परीक्षाको नतिजा आगामी जेठ २४ गते र दोस्रो चरणमा भएको परीक्षाको नतिजा आगामी असार २३ गते प्रकाशन हुनेछ । यस्तै उत्पादनमूलक क्षेत्रतर्फ पहिलो चरणमा सम्पन्न भाषा परीक्षाको नतिजा आगामी भदौ १६ गते र असोज २७ गते प्रकाशन हुनेछ ।
आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रायलले कार्यकारी निर्देशकका लागि आवेदन परेका १७ जनाबाट तीन जनाको नाम सिफारिस गरेको हो । मन्त्रालय अन्तर्गत गठित छनोट तथा सिफारिस समितिले चन्डिकाप्रसाद भट्ट, जीवन प्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस गरेको हो । १७ जनाबाट पहिलो नम्बरमा नाम सिफारिस भएका भट्ट यसअघि निगमका कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन । उनी हाल विशेष आर्थिक क्षेत्र (सेज) का कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् । यस्तै, दोस्रो नम्बरमा परेका सिटौला उद्योग विभागका पूर्व महानिर्देशक हुन । यस्तै, थानी सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन् । रिक्त कार्यकारी पदका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७८ पुस २५ मा सूचना प्रकाशित गर्दै २१ दिनभित्र आवेदन दिन भनेको थियो । उक्त पदका लागि १७ जनाले आवेदन दिएका थिए । तीमध्ये सबैभन्दा बढी अंक ल्याउने तीन जनाको नाम सिफारिस गरिएको जनाएको छ । मन्त्रालयले छनोट गरेका तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी निर्देशकको रुपमा नियुक्त गर्नेछ ।
विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिन आह्वान
काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन दिन आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज एक सूचनामार्फत आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिन सूचित गरेको हो । यसअघिका अध्यक्ष डिल्लीबहादुर सिंहलगायतले तोकिएको काम नगरेको पाइएपछि सरकारले छानविन समिति गठन गरी बर्खास्त गरेको थियो । विद्युत् तथा ऊर्जा क्षेत्रको काम कारवाहीको नियमनका लागि सरकारले आयोग स्थापना गरेको हो । सूचनाअनुसार आयोगमा एक अध्यक्ष, तीन सदस्य (एक महिलासहित) रहने कानूनी प्रबन्ध छ । सूचनाअनुसार १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आयोग नियमन आयोग नियमावली, २०७५ को अनुसूची १ बमोजिम आवेदन दिन आग्रह गरिएको छ । आवेदन पेश गरेका उम्मेदवारको कार्ययोजनाको मूल्याङ्कन छनोट भई सङ्क्षिप्त सूचीमा परेका बढीमा पाँच उम्मेदवारलाई कार्ययोजन प्रस्तुतिका लागि इमेल वा एसएमएस वा टेलिफोनबाट सूचित गरिने ऊर्जा मन्त्रालयले जनाएको छ । विद्युत् व्यापार, महसुल तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित विषयमा नियमन गर्ने उद्देश्यका साथ सरकारले २०७२ सालमा आयोग स्थापना गरेको हो ।