एनआईसी एशिया बैंकमा काम गर्ने अवसर, यी पाँच पदका लागि माग्यो कर्मचारी
काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले डाटा साइन्टिस्ट, बिजनेस एनलाइस्ट, डाटा भिजुलाइजेशन एण्ड रिर्पोट डेभलोपर, डाटा इन्जिनियर, डाटा प्लेटफर्म एडमिनिस्ट्रेटर लगायतको पदमा कर्मचारीको माग गरेको हाे । बैकले विभिन्न पदका लागि जुनियर अफिसरदेखि सिनियर अफिसरसम्मका लागि कर्मचारीको माग गरेको छ । बैंकले काठमाडौं उपत्यकाका लागि कर्मचारकाे माग गरेको हो । आवेदनका लागि स्नाकोत्तर तह उर्तिण गरी ५ वर्षे अनुभव तथा स्नातक तह उत्तीर्ण भई १० वर्षे अनुभव भएको हुनुपर्ने छ । बैंकले यी विभिन्न पदको लागि अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।
चाडपर्व सकिएसँगै युवा रोजगारीका लागि भारत फर्किए
कैलाली । दशैं र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन् । मङ्सिर ४ गतेको निर्वाचन आउन दुई साताको अवधि रहँदा नेताहरु मतदाता रिझाउन गाउँगाउँ पस्दै गर्दा युवाहरु गाउँ छाड्न थालेका छन् । चाडबाड बनाउन दशैंअघि गाउँ आएका युवाहरु तिहार सकिएसँगै कामको खोजीमा भारतका विभिन्न गन्तव्यका लागि टिकट काट्न थालेका हुन् । सुदूरपश्चिमका युवाहरुका लागि श्रमको भरपर्दो गन्तव्य भारत हो । हाल कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ चार सयभन्दा बढी युवाहरु कामको खोजीमा छिमेकी मुलुक भारत फर्कन थालेको सीमास्थित सशस्त्र प्रहरी बल बोर्डर अफ पोस्टले जानकारी दिएको छ । लामो समयदेखि भारतको मुम्बईमा काम गर्दै आएका डोटीका नारद खडकाले आफू चाडपर्व मनाउन घर आएको र अब फेरि भारत फर्कन लागेको बताए । ‘नेपालमा काम पाउन गाह्रो छ, काम पाइहाले पनि यहाँको कमाइले खर्च धान्न गाह्रो पर्ने भएपछि भारत जान बाध्य भएको हुँ’, उनले भने । भारतको पञ्चाबमा काम गर्दै आएका धनगढी उपमहानगरपालिका– २ का सन्तोष आउँजीले काम गर्नका लागि भारत जानुको विकल्प नभएको बताए । गाउँमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै नेताहरु विभिन्न योजना लिएर गाउँ पस्दै गर्दा बेरोजगार युवाहरु भने भारतमा मजदुरी गर्नका लागि बाटो तताउँदै गरेका छन् । दशैं र तिहार मनाउन घर फर्किएका कैलाली ओलानीका जीतबहादुर कामी पनि यतिबेला भारत फर्कने तयारीमा छन् । ‘यहाँ भोट हाल्न बस्ने हो भने आम्दानी केही हुँदैन, घर खर्चका लागि भारत जानुको विकल्प छैन’, उनले भने । सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका युवाहरु जागिरको खोजीमा भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, हरियाणा, बैङ्लोर लगायतका शहरमा जाने गरेका छन् ।
अब स्किल सेवासँग मिलेर व्यवसाय गर्न सकिने
काठमाडौं । युवाहरुलाई लक्षित गरी ‘जे गरौं नेपालमै गरौं’ भन्ने नाराका साथ स्किल सेवाले लोकल बिजनेस पार्टनरसिप योजना ल्याएको छ । सो कार्यक्रममा युवाहरुले स्किलसेवासँग मिलेर काम गर्न सक्ने कम्पनीले जनाएको छ । व्यवसायमा पार्टनरसिप गर्दा आवश्यक पर्ने तालिम, वित्तीय जोखिम, प्राविधिक सहायता, मोवाईल एप र वेबसाइट स्किल सेवाले नै प्रदान गर्नेछ । विदेशबाट फर्किएर वा स्वदेशमा रहेर केही गर्न चाहने युवाहरुसँग सहकार्य गर्ने योजना रहेको स्किल सेवाले जनाएको छ । कम्पनीले सो योजनामा काम गर्दा सम्बन्धित व्यक्तिले केही लगानी गर्नुपर्ने, त्यसको स्वामित्व शतप्रतिशत स्वयं व्यक्तिको हुने र कमाईको नाफा बाँडफाँड गर्ने जनाएको छ । यो व्यवसायमा लोकल बिजनेस पार्टनरहरुलाई घर मर्मत, पेन्टिङ, प्लम्बिङ, इलेक्ट्रिसियन, आदि जस्ता ३० भन्दा धेरै व्यवसायमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।