श्रम बजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धिमा आइएलओले सघाउने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघको रोजगारदाता परिषद्का सभापति एवम् उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनका देशीय निर्देशक रिचार्ड हवार्डबीच मंगलबार महासंघ सचिवालयमा भेटवार्ता भयो । सो अवसरमा महासंघ र आइएलओ नेपाल कार्यालय बीच श्रम वजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धि सम्बन्धी परियोजना कार्यक्रम सञ्चालन गर्ने संझौता पत्रमा हस्ताक्षर समेत भएको छ । संझौता अनुसार महासंघ रोजगारदाता परिषदद्वारा संचालन गरिने परियोजना कार्यक्रम अन्र्तगत महासंघका सातवटै प्रदेश च्याप्टरहरूको क्षमता विस्तार, नया“ श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन, सामाजिक संवाद लगायतका विषयमा चेतना अभिवृद्धि गरी औद्योगिक सम्बन्धको सुधारमा केन्द्रित रहनेछन् । सो अवसरमा महासंघ र आइएलओ बीचको सहकार्य, नेपालको पछिल्लो आर्थिक वस्तुस्थिति, रोजगारी, औद्योगिक श्रम सम्बन्ध, सामाजिक सुरक्षा तथा श्रम ऐन लगायत विषयमा समेत विस्तृत छलफल भयो । बैठकमा महासंघका अध्यक्ष राणाले आइएलओको सहयोगप्रति आभार प्रकट गर्नुभयो । सो अवसरमा महासंघका अध्यक्ष राणाले देशीय निर्देशक रिचार्डको स्वागत गर्नुहुंदै नेपालको आर्थिक विकास, श्रम सम्बन्ध सुधारमा आइएलओले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । अध्यक्ष राणाले नेपाली निजी क्षेत्र मुलुकभित्र औद्योगिक विकास मार्फत रोजगारी सृजनामा केन्द्रीत भएको, रोजगारदाता एवम् श्रमिक बीचको सम्बन्ध सुमधुर बन्दै गएकोले मुलुक अव विस्तारै आर्थिक समृद्धितर्फ अगाडी बढ्ने आशा निजी क्षेत्रले गरेको बताए । महासंघको रोजगारदाता परिषद्का सभापति एवम् उपाध्यक्ष ढकालले आइएलओबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुहु“दै महासंघ आइएलओस“ग निरन्तर सहकार्य गर्न तयार रहेको र आइएलओबाट प्राप्त सहयोगबाट महासंघको स्थानीय प्रदेश च्याप्टहरुको क्षमता अभिवृद्धि भई स्थानीय तहमा श्रम सम्बन्धलाई थप मजवुद बनाउन सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो । सो अवसरमा देशिय निर्देशक हवार्डले महासंघको आवश्यकताका आधारमा आगामी दिनहरूमा पनि थप प्राविधिक सहयोग एवं कार्यक्रमहरू विस्तार गर्दै जाने प्रतिवद्धता जनाए । नेपालको औद्योगिक श्रम सम्बन्ध विकासमा महासंघ र आइएलओ निकै लामो समयदेखि सहकार्य गर्दै आएको र आगामी दिनहरूमा पनि निरन्तर सहकार्य गर्दै जाने विश्वास दिलाए । सो अवसरमा महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी, उपमहानिर्देशक हंसराम पाण्डे र आइएलओका वरिष्ठ अधिकृत प्रकाश शर्माको उपस्थिति रहेको थियो ।

सुदुरपश्चिम प्रदेश पुग्यो श्रम कार्यालय

काठमाडौं । अब सुदुरपश्चिम प्रदेशबाटै श्रम स्वीकृति प्राप्त हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट सुदुरपश्चिम प्रदेशमा श्रम कार्यालय खोलेको हो । श्रम कार्यालय खुलेसँगै त्यहिँबाट श्रम स्वीकृति लिन सकिनेछ । सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले श्रम कार्यालयको उद्घाटन गरेका हुन् । सुदुरपश्चिम प्रदेशमा श्रम कार्यालय खुलेसँगै अब सातै प्रदेशबाट श्रम स्वीकृति पाइने भएको छ ।

शुक्रबारदेखि सुदूरपश्चिमबाटै श्रम स्वीकृति, स्थानीयलाई राहत

काठमाडौँ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशको श्रम तथा रोजगार कार्यालय धनगढीबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए । श्रममन्त्री विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गरेका थिए । सोहीअनुरुप सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो । मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट पुनः श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो । त्यस्तै सरकारले गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो । सरकारले गत आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्न शुरु गरिसकेको छ । अब प्रदेश नं १ को श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने गरी आवश्यक व्यवस्था अन्तिम चरणमा पु¥याइएको र छिट्टै सेवा प्रवाह गरिने तयारी रहेको संयोजक खनालले जानकारी दिए । सूपवासीलाई राहत प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । सुपवासीले हजारौँ खर्चेर काठमाडौँ आइ श्रम स्वीकृति लिनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । श्रम स्वीकृतिलगायत अन्य सेवा केन्द्रिकृत हुँदा सेवाग्राहीले सानो कामका लागि पनि राजधानी धाउनुपर्ने बाध्यता थियो । श्रम स्वीकृतिकै लागि ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा निकै लामो लाइन लाग्नुपर्ने अवस्था थियो । रासस