कुवेतमा १२५ नेपालीले तलब पाएनन्, काम छाडे
काठमाडौँ । रोजगार करार सम्झौताअनुसार तलब नदिइएको भन्दै कुवेतस्थित इनासको कम्पनीमा कार्यरत १ सय २५ नेपालीले काम रोकेका छन् । नियमित तलब नदिएको, दुर्घटनामा पर्ने कामदारलाई बिमाको सुविधा नदिएको र मोटरसाइकलमा पेट्रोल हाल्ने पैसासमेत नदिएको भन्दै उनीहरूले काम छाडेका हुन् । उनीहरू ुबाइक राइडरु हुन् । उनीहरू अधिकांश स्यारोन म्यानपावर कम्पनीमार्फत कुवेत गएका हुन् । ‘म जनवरी ११ मा कुवेत आएको हुँ । आजसम्म ३९ कुवेती दिनार मात्रै पाएको छु,’ कम्पनीमा कार्यरत मोरङका एकेन्द्र राईले कान्तिपुरलाई भने, ‘हामी जहाँबाट अर्डर आउँछ । त्यहाँ खाना पुर्याउने काम गर्ने हो । पछिल्लो समय कम्पनीले तलबसमेत नदिएको मात्र नभई मोटरसाइकल चलाउनसमेत पैसा दिएको छैन । कहाँबाट पेट्रोल हाल्ने पैसा जुटाउने ? कसरी काममा जाने ?’ कामदारहरूले आफूहरूलाई म्यानपावरले सम्झौता गरेर पठाएअनुसार कम्पनीले सेवा सुविधा नदिएको बताए । बाहिर सडकमा मोटरसाइकल कुदाउने काम निकै खतराजनक छ । बिमा कार्ड छैन । कति साथीहरूको त हेल्थ कार्ड र परिचय पत्रसमेत बनाइदिएको छैन, उनले भने, ‘काम गर्न चाहिने न्यूनतम आधार नै बनाइदिएन ।’ कामदारहरूले आफूहरू सामाजिक सेवा गर्न कुवेत नआएको बताए । ‘मैले १ सय २० दिनार पाउने सर्तमा एक लाख ७० हजार रुपैयाँ एजेन्टलाई बुझाएर आएको हुँ । यहाँ पैसा कमाउन आएको हो । कम्पनीको सेवा गर्न होइन,’ राईले भने, ‘पैसा नै नदिने भए किन काम गर्ने ?’ कम्पनीले काम गरेपछि पैसा दिने बताइरहेको नेपाली दूतावासले जनाएको छ । दूतावासले कम्पनीको व्यवस्थापनसँग छलफल गरी विवाद समाधान प्रयास भइरहेको जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
जापानद्वारा नेपाललाई तत्काल पठाउन सक्ने श्रमिकको सीपयुक्त क्षेत्र किटान गर्न आग्रह
काठमाडौँ । जापान सरकारले रोजगारका लागि किटान गरेका १४ वटा क्षेत्रमध्ये नेपालले तत्काल पठाउन सक्ने श्रमिकको सीपयुक्त क्षेत्रको श्रमिक जनशक्ति विवरण माग गरेको छ । नेपाल र जापान सरकारबीच गएको चैत ११ गते सम्पन्न भएको श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’ पछि श्रमिक अध्ययन गर्न बनेको जापानको प्राविधिक टोलीले नेपालबाट पठाउन सकिने सीपयुक्त जनशक्तिको विवरण माग गरेको हो । जापान सरकारले विदेशी श्रमिकले जापानमा गर्नुपर्ने काम कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटल, रेष्टुरेन्ट, पर्यटन निर्माण, नर्सिङ, केयरगिभर व्यवसायलगायत १४ वटा क्षेत्रभित्र रहेर कामको विवरण पठाउनुपर्ने हुन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
नवीकरण नगर्ने १० म्यानपावर खारेज
काठमाडौं । समयमा नवीकरण नगर्ने १० ओटा म्यानपावरको दर्ता खारेज गरिएको छ । बैदेशिक रोजगार विभागले इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी स्टामफार्ड ब्रिज इन्टरनेशनल, ध्वनी इन्टरनेशनल, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट, प्रिसाइस इन्टरनेशनल, इनोभेटिभ सर्भिस, रिक्रियशन इन्टरनेशनल, प्रसिद्ध ओभरसिज, वल्र्ड फस्र्ट जब प्लेसमेन्ट र निजम ओभरसिजको दर्ता खारेज गरेको विभागले जनाएको छ । विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँले नियमानुसार आफ्नो वार्षिक विवरण पेश गरी आवश्यक शुल्क बुझाएर म्यानपावर कम्पनीहरुले आफ्नो इजाजतपत्र नवीकरण नगरेपछि नियमानुसार ती कम्पनीहरुको दर्ता खारेज गरिएको जानकारी दिए । दर्ता खारेजीसँगै ती म्यानपावरहरुको नामबाट वैदेशिक रोजगारीसम्बन्धी कुनै पनि प्रक्रिया अघि बढ्न नसक्ने गुरागाईँले बताए ।