वैदेशिक रोजगारीको नाममा ठगी, अढाई लाखदेखि चार लाखसम्म उठाएर भरत र भोपाल फरार

गाईघाट । वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिएका छन् । जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र लिम्चुङबुङ गाउँपालिका जाँतेका भोपाल थापाले जिल्लाका साउने, खाबु, त्रियुगा नगरपालिका, जाँते, लाफागाउँ, चुहाडे क्षेत्रका तीन दर्जन युवालाई विदेश पठाइदिने भन्दै करोडौँ रकम असुलेर बेपत्ता भएपछि आफूहरु ठगिन पुगेको पीडित युवाको गुनासो रहेको छ । जिल्लाका पीडितमध्येका हरिबहादुर कार्कीका अनुसार कसैलाई युरोप, कसैलाई दुबई र अफगानिस्थान पठाइदिने भनेर आफूहरुबाट रु अढाइ लाखदेखि चार लाखसम्म रकम उठाएर मगर र थापा अहिले सम्पर्कविहीन भएका छन् । अर्का पीडित अमृत आलेमगरले काठमाडौँस्थित सिनामङ्गलमा रहेको भेरी ओभरसिज मार्फत आफूहरुलाई विदेश पठाइदिने भन्दै आफूहरुबाट रकम असुलेर उनीहरु अहिले सम्पर्कविहीन भएको कारण आफूहरुको रकम डुबेको बताए । केही पीडित युवाले न्यायको लागि जिल्ला प्रशासन उदयपुरमा समेत निवेदन दिएको र आफूहरुलाई ठगी गर्नेविरुद्ध कारवाहीको लागि निवेदन दिएको बताउँछन् । यस विषयमा उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का भन्नुहुन्छ, “केही युवा आफूहरु ठगिएको गुनासो लिएर प्रशासनमा आएको तर पठाउने कम्पनी आधिकारिक हो कि हैन, ती पठाउने व्यक्ति सम्बन्धित कम्पनीका हुन् कि हैनन भनेर बुझ्न र आधिकारिकता र कारवाहीका लागि क्षेत्रीय श्रम कार्यालय विराटनगरमा जान सुझाव दिएको छु ।” पीडित युवामा जिल्लाका विभिन्न स्थानका इन्द्र मगर, रामबहादुर मगर, गोविन्द मगर, सुपबहादुर मगर, अम्बर रिमाल, अमृत आले, हरिबहादुर कार्की, डम्बर मगर रहेका छन् । त्यसैगरी राजेश श्रेष्ठ, पूर्णथापा मगर, रामकुमार मगर, खगेन्द्र मगर, बमहादुर राईसहित तीन दर्जन युवा वैदेशिक रोजगारी पठाइदिने नाममा दलालबाट ठगिन पुगेको पीडितले बताएका छन् । विदेश पठाइदिने भन्दै पटक–पटक सबैबाट रु चार लाखसम्म रकम सङ्कलन गरेर अब तयारी रहनु भनेर उनीहरु हाल मोबाइलसमेत स्विचअफ गरेर बेपत्ता भएपछि आफूहरु ठगिएका रहेछौँ भनेर जानकारी भएको पीडित युवाले बताएका छन् । रासस

कृषि विकास बैंकमा ३८४ जनालाई अवसर, वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको विज्ञापन

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले ३८४ जना कर्मचारी माग गरेको छ । बैंकको आव २०७५÷०७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेका कर्मचारी लोक सेवा आयोगको सहमतिमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागेको बैंकले जनाएको छ । बैंकले नवौँ तह वरिष्ठ शाखा प्रमुख ८ जना, सातौँ तह वरिष्ठ लेखा अधिकृत २२ जना, वरिष्ट इञ्जिनियर(आइटी) २० जना, पाँचौ तह व्यवसाय सहायक १०७ जना, एमआइएस सहायक १३ जना, ओभरसियर(सिभिल) ५ जना, चौथो तह लेखापाल(विराटनगर केन्द्र) ६७ जना, लेखापाल(भैरहवा केन्द्र) १०० जना र लेखापाल(सुर्खेत केन्द्र) ४२ जना माग गरेको हो । माग भएका कर्मचारी मध्ये खुल्ला २०९ जना, महिला ५६ जना, आदिवासी जनजाति ५० जना, मधेसी ३७ जना, दलित १७ जना, अपाङ्ग १० जना र पिछडिएको क्षेत्रका लागि ५ जना कोटा विभाजन गरिएको छ । सम्बन्धित पदमा इच्छुक र योग्यता पुगेकाहरुले असार ३१ गतेदेखि साउन २० गतेसम्म अनलाइन मार्फत दरखास्त दिन सक्नेछन् । साउन २१ गतेदेखि २७ गतेसम्म दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ । तह ४ र ५ का लागि खुलातर्फ रु.८०० र समावेशीतर्फ प्रत्येक समूहका लागि थप रु.४००, तह ७ र ९ का लागि खुलातर्फ रु.१००० र समावेशीतर्फ प्रत्येक समूहका लागि थप रु.५०० शुल्क बुझाउनु पर्नेछ ।

कोरियामा जाने नेपालीको तलब बढ्यो, मासिक न्यूनतम १७ लाख ४५ हजार वोन

काठमाडौं । सन् २०२० मा कोरिया जाने कामदारको न्यूनतम ज्याला/तबलमा वृद्धि भएको छ । कोरियामा २०२० का लागि सबै मजदुरको न्युनतम ज्याला २.९ प्रतिशतले वृद्धि भई प्रतिघण्टा ८ हजार ५ सय ९० वोन प्रतिघण्टा निर्धारण गरिएको छ । न्युनतम ज्याला समितिमा भएका मतदानपछि बहुमतको आधार उक्त ज्यालादर तोकिएको हो । न्युनतम ज्याला समितिको बैंठकमा १३ घण्टा लामो छलफल पछि सरकार पक्षले राखेको प्रस्ताव ८ हजार ५ सय ९० र मजदुर पक्ष सदस्यले राखेको ८ हजार ८ सय ८० वोनबीच मतदान गरिएको थियो । मतदान गर्दा सरकार पक्षले गरेको प्रस्ताव ८ हजार ५ सय ९० वोनको पक्षमा १५ मत खसेको थियो । त्यस्तै, मजदुर पक्षले प्रस्ताव गरेको ८ हजार ८ सय ८० वोन ११ मत परेको थियो । कोरियामा सामान्यतया हप्तामा ४० घण्टा तथा महिनामा २०९ घण्टामा काम गर्ने अभ्यास छ । महिनामा २०९ घण्टा काम गर्ने कामदारले कम्तिमा १७ लाख ९५ हजार ३ सय १० वोन प्राप्त गर्ने इपिएस नेपाल कोरियाले जनाएको छ । हप्तामा ४० घण्टा भनेको दैनिक ६ घण्टा भन्दा पनि कम हो । कोरियामा जाने नेपालीले दैनिक १२ घण्टाभन्दा बढी काम गर्ने भएकोले उनीहरुको कमाई ३५ लाख वोनभन्दा बढी हुनेछ । दक्ष जनशक्तिले त्यो भन्दा बढी ज्याला पाउनेछन् । कोरियाली मुद्रा १०० वोन बराबर नेपालीमा ९ रुपैयाँ ३६ पैसा हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । कोरियामामा सन् २०१९ को लागि कामदारको ज्याला प्रतिघण्टा ८ हजार ३५० वोन तोकिएको थियो । त्यस्तै, सन् २०१८ मा नेपाली कामदारले प्रतिघण्टा ५ हजार ५३० वोन नेपाली कामदारले प्राप्त गर्ने गरेका थिए । सन् २०१७ र २०१८ मा कोरियामा ज्यालादर घटेको थियो । सन् २०१७ मा प्रतिघण्टा ६ हजार ४ सय ७० वोन रहेको थियो । त्यस्तै २०१६ मा दक्षिण कोरिया जाने नेपाली कामदारले प्रतिघण्टा ६ हजार ३० वोन पारिश्रमिक प्राप्त गर्ने गरेको तथ्याङ्ग नेपालका लागि कोरियाली भाषा परीक्षण केन्द्र इपिएस् जानकारी दिएको छ ।