मेयरमा पराजित, ‘अटेरी’ देखि पर्यटन मन्त्रालयको कमानसम्म : गनेस पौडेलको नयाँ यात्रा
काठमाडौं । पोखराको सडक र चोकहरूमा कहिले पठन संस्कृतिको वकालत गर्दै त कहिले बेथितिविरुद्ध ‘अटेरी’ अभियानको झण्डा बोक्दै हिँड्ने एउटा परिचित अनुहार हो, गनेस पौडेल । हिजोका अभियन्ता र लेखक पौडेल अब देशको पर्यटन क्षेत्रको बागडोर सम्हाल्ने गरी मन्त्रीको कुर्सीमा पुगेका छन् । २०७९ सालको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिँदा पौडेलले दलीय एकाधिकार र भ्रष्टाचारविरुद्ध ‘अटेरी अभियान’ को विगुल फुकेका थिए । त्यसबेलाको पराजयले उनलाई थकाएन, बरु अझ ठूलो मञ्चका लागि तयार गर्यो । हालै सम्पन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत ३९ हजार ८८३ मतका साथ सानदार जित हासिल गर्दै पौडेल व्यवस्था परिवर्तनको मुद्दा बोकेर सिंहदरबार छिरेका हुन् । नागरिकतामा ‘खडगराज’ नाम भएपनि साहित्यिक र सामाजिक वृत्तमा उनी ‘गनेस’ नामले नै स्थापित छन् । उनी केवल राजनीतिज्ञ मात्र होइनन्, एक कुशल लेखक र अनुवादक पनि हुन् । २०७४ सालमा प्रकाशित उनको पहिलो उपन्यास ‘पैताला’ ले उनलाई नेपाली आख्यानमा बलियो परिचय दियो । विश्वप्रसिद्ध लेखक जोन स्टेनबेकको कृति ‘अफ् माइस एण्ड मेन’ लाई उनले ‘मुसा मानुष’ का रूपमा नेपालीमा अनुवाद गरी आफ्नो भाषिक पकडलाई प्रमाणित गरिसकेका छन् । पोखरामा बौद्धिक बहस र पठन संस्कृतिको लहर ल्याउने ‘¥यान्डम रिडर्स सोसाइटी अफ नेपाल’का परिकल्पनाकारमध्ये उनी एक हुन् । २०३६ सालमा पोखराको मझेरीपाटनमा जन्मिएका पौडेल शैक्षिक रूपमा पनि उत्तिकै अब्बल छन् । उनले पोखरा विश्वविद्यालयबाट एमबिए र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेका छन् । शिक्षण पेशा र सामाजिक पैरवीमा लामो अनुभव सँगालेका पौडेलले अब आफ्नो व्यवस्थापकीय र बौद्धिक क्षमता पर्यटन मन्त्रालयमा खर्चनेछन् । वातावरण, सम्पदा, कला र संस्कृतिको संरक्षणमा विगतदेखि नै प्रखर आवाज उठाउँदै आएका पौडेलका लागि पर्यटन मन्त्रालय एक सुहाउँदो जिम्मेवारी हो । उनले नीति निर्माण र स्थानीय विकासका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता वादी
काठमाडौं । सीता वादी महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेकी सीता वादी समुदायबाट पहिलो मन्त्री बनेकी हुन् । दलित समुदायभित्र पनि सामाजिक, आर्थिक रूपमा निकै पछाडि रहेको वादी समुदायले पहिलो पटक मन्त्री पाएको हो । कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरको नयाँगाउँमा २०५२ साल भदौ १३ गते जन्मिएकी हुन् । सीताको बाल्यकाल आफ्ना बुवाआमासँगै भेरी नदीको किनारमा बालुवा चल्नमै बित्यो । अन्य वादी समूहजस्तै सीताको परिवार पनि भूमिहीन छ । गरिब परिवारमा जन्मेर पनि सीताले विद्यालयलाई भने निरन्तरता दिएकी थिइन् । घन्टौं हिँडेर विद्यालय जानुपर्ने बाध्यता थियो । उनी १३ वर्ष हुँदा एउटा संस्थाको सहयोगमा उनी पढ्न काठमाडौं आउने अवसर जुर्यो । काठमाडौं आएपछि उनको जीवनले नयाँ मोड लियो । उनले काठमाडौंमा शिक्षामात्र पाइनन्, आत्मसम्मान र अधिकारको बारेमा पनि जान्ने बुझ्ने मौका पाइन् । उनी पढ्दै त्यहीँ संस्थामा काम गर्न थालिन् । पढ्दै दलित र गरिबका विरुद्ध आवाज उठाउँदै आएकी सीतालाई रास्वपाले समानुपातिक सांसदमात्र नबनाई मन्त्री नै बनाएकाे हाे ।
बालेन्द्र शाहले लिए प्रधानमन्त्रीको शपथ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा उनलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले उनलाई आजै बिहान नेपालको संविधानको धारा, ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो । समारोहमा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए । प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा भल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो । बालेन मुलुकको ४० औं प्रधानमन्त्री हुन् ।