उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव सिफारिस
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव सिफारिस गरिएको छ । उनीहरूलाई शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिसमक्ष मन्त्रीका लागि सिफारिस गरेका हुन् । उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यसूची तय गरिएको छ । गौरीकुमारीले महोत्तरी- ४ र रामजीले सप्तरी- २ बाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए । बिहीबार प्रधानमन्त्री बालेन्द्र साहले श्रममन्त्री दीपक साहलाई पदमुक्त गरेका थिए भने उद्योग मन्त्रालय आफैले सम्हाल्दै आएका थिए । यससँगै शाह नेतृत्वको मन्त्रिपरिषद् १६ सदस्यीय बनेको छ ।
रास्वपाको समर्थन रूबीकुमारी ठाकुरलाई, उपसभामुख निर्वाचनमा मतदान गर्ने निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले ठाकुरको पक्षमा मतदान गर्ने प्रस्ताव पारित गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)लाई उपसभामुखमा समर्थन गर्ने चर्चा चलेपनि श्रम संस्कृति पार्टीलाई समर्थन गरेको हो । राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन् ।
कांग्रेसको पन्ध्रौं महाधिवेशन रोक्न सर्वोच्चमा पूरक रिट
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा देखिएको छ । पार्टीमा विशेष महाधिवेशन पक्षले अघि बढाएको १५औं महाधिवेशनको तयारी रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेसँगै पार्टीको विवाद सतहमा आएको हो । निवेदनमा रिटमार्फत विवाद समाधान नभएसम्म नयाँ कार्यतालिका कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ । निवेदक पक्षले पार्टीको आधिकारिकता, विधानअनुसारको प्रक्रिया र महाधिवेशनको वैधतामाथि प्रश्न उठाउँदै अदालतको हस्तक्षेप माग गरेको जनाएको छ । कांग्रेसभित्र संस्थापन र असन्तुष्ट समूहबीच लामो समयदेखि जारी शक्ति संघर्षले महाधिवेशनको प्रक्रिया प्रभावित हुँदै आएको छ । पछिल्लो कदमसँगै आन्तरिक कचिंगल फेरि चर्किने संकेत देखिएको छ । वरिष्ठ अधिवक्ता यदुनाथ खनालका अनुसार यो नयाँ रिट नभएर पुरानै रिटको पूरक निवेदन हो । ‘निवेदक पक्षले निवेदन दिएको हामीले पेसीसूची हेरेर थाहा पायौं । तर हामीलाई सूचना आएको छैन,’ उनले भने । विशेष महाधिवेशन पक्षको नेतृत्वलाई कानुनी परामर्श दिइरहेको खनालले जानकारी दिए । निवेदक समूहले छुट्टै रिट नदिई यसअघि दर्ता भएको मुद्दामै पूरक निवेदन पेश गरेको उनले बताए । सो निवेदनमाथि कामू प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुने तय भएको खनालले जानकारी दिए ।