गाउँपालिकामा ‘एक वडा एक खेल मैदान’ भन्ने अभियान चलाएका छौं – अध्यक्ष लिम्बुसँगको कुराकानी

पूर्वी नेपालको मेची अञ्चल अन्तर्गत ताप्लेजुङ जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो मेरिङदेन गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । गाउँपालिकाको सिमाना पूर्वतर्फ फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिका, पश्चिममा संखुवासभा जिल्ला, उत्तरी सिमानामा मिक्वाखोला गाउँपालिका एवं दक्षिणमा मौवाखोला गाउँपालिका रहेको छ । २ सय १० दशमलव ३३ वर्ग किलोमिटरमा फैलिएको यो गाउँपालिकामा १२ हजार ५ सय ४८ जनाको बसोबास रहेको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष गणेश बहादुर लिम्बुसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? गाउँपालिकामा कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । गाउँपालिकाको सबै वडालाई कृषि पकेट क्षेत्रका रुपमा छुट्याएका छौं । अलैंची, किवि, तरकारी पकेट क्षेत्र पनि गाउँपालिकामा छुट्याएका छौं । सहकारी र यसका शाखा बाट हामीले किसानको माग अनुसारको बिउ उपलब्ध गराउने व्यवस्था पनि मिलाएका छौं । गाउँपालिकामा सानातिना तरकारीको बिउ निःशुल्क र त्यसैगरी ५० प्रतिशत अनुदानको बिउ पनि वितरण गर्ने कार्यक्रम रहेको छ । कृषिलाई आधुनिकीकरण गर्ने तर्फ पनि विशेष ध्यान दिइरहेका छौं । कृषिलाई निर्वाहमुखि मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरुलाई आग्रह गरेका छौं । गाउँपालिकाका कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् ? यहाँका धेरैजसो नागरिकहरु कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिब ७५ प्रतिशत मानिसहरु कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ? खेलकुद विकासको लागि गाउँपालिकामा ‘एक वडा एक खेल मैदान’ भन्ने अभियान चलाएका छौं । खेलकुद समितिको पनि गठन गर्ने भनेका थियौं तर समितिको गठन हुन सकेको छैन । युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरु आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, टेबल टेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरेका छौं । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । यो एक वर्ष कोरोनाको कारणले खेलकुदका सबै कार्यक्रमहरू स्थगित भएका थिए । खेलकुद विकासको लागि गाउँपालिकामा ५ लाख रुपैयाँ बजेट रहेको छ । गाउँपालिकामा ‘अध्यक्ष कप’ खेलकुद प्रतियोगिता पनि हुने गरेको छ । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आईरहेको छ त ? शैक्षिक विकासको लागि पनि गाउँपालिकामा धेरै काम गर्दै आईरहेका छौं । यहाँ ३६ ओटा विद्यालयहरु रहेका छन् । जाति अनुसारको मातृभाषा संरक्षण गर्नका लागि विद्यालयहरुमा मातृभाषा पढाउने शिक्षकहरु पनि राखेका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी बेलाबेलामा प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । कतिपय ठाउँमा विद्यालय भवनको पनि अभाव रहेको छ । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ? गाउँपालिकामा ठुला योजना त धेरै रहेको छैन । गाउँपालिकाको ठुलो योजनाको रुपमा सडक निर्माणको काम नै रहेको छ । गाउँपालिकाको सबै वडामा कच्चि सडक पुगेको छ । सहकारी मार्फत गाउँपालिकाका सबै वडामा बिजुलीको काम पनि भइरहेको छ । गाउँपालिकामा खानेपानीको काम पनि भइरहेको छ । अहिलेसम्मको आफ्नो काम गराईबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ? हामीले सोचे र कल्पना गरेअनुसारका सम्पूर्ण काम गर्न नसके पनि अहिलेसम्मको काम गराईबाट म सन्तुष्ट नै छु । यस अवधिमा बजेट के कति खर्च भयो ? खर्चअनुसार उपलब्धि प्राप्त भएको छ कि छैन होला ? गाउँपालिकाको बजेट त सकिएको छैन । विकास निर्माणको काम पनि भइरहेको छ । विकास भए अनुसार खर्च पनि भइरहेको छ । हामीले गाउँपालिकामा बजेट विनियोजन गरेजति यो आर्थिक वर्ष भित्र खर्च हुन्छ होला । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर संभावना बोकेको ठाउँ हो । पर्यटन क्षेत्रको पनि हामीले प्रचारप्रसार गरिरहेका छौं । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । गुराँसे पोखरी संरक्षणको लागि गाउँपालिका र संघबाट बजेट छुट्टिएको छ । घुमाउने पोखरीको संरक्षण र प्रवद्र्धनको लागि संघ बाट १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । पर्यटकीयस्थल सम्म पुग्नको लागि सडक निर्माणको काम पनि भइरहेको छ । कोरोनाको कारणले गाउँपालिकाको पर्यटन क्षेत्रमा ठुलो असर पु¥यायो । गाउँपालिकाको आर्थिक विकासको लागि पर्यटकीय क्षेत्र पनि एक हो । पर्यटन पूर्वधारको विकास गरी मठ मन्दिरको निर्माण गर्ने काम पनि गाउँपालिकामा भइरहेको छ । प्रदेश तथा केन्द्र सरकारसँग कस्तो समन्वय भइरहेको छ ? हाम्रो समन्वय राम्रै गरी भइरहेको छ । समपुरक बजेट पनि प्रदेश र केन्द्रबाट आउने गरेको छ । गाउँपालिकाको विकास निर्माणका कामहरु पनि प्रदेश र केन्द्र सरकार बाटै आएको बजेटमा गर्ने हो । प्रदेश र केन्द्रको सहयोगमा हामीले सडक निर्माणको काम पनि गरेका छौं । गाउँपालिकामा नागरीकहरु प्रायः कस्ता समस्या लिएर आउँछन् नि ? धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । शिक्षामा पनि समस्या आउने गरेको छ । बेलाबेलामा विकास निर्माणको काममा पनि समस्या आउने गरेको छ । तर पनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढी रहेका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? गाउँपालिकाका नागरीकहरुलाई समृद्ध बनाउने योजना छ । जे होस्, आफुले जिताएको जनप्रतिनिधि गाउँपालिकाको अध्यक्ष भएको छ भन्ने अनुभुति जनतालाई भएको छ भन्ने कुरामा विश्वस्त छु । आफुले गरेका विकास निर्माणको काम प्रभावकारी होस् र जनता पनि सन्तुष्ट रहुन् भन्ने इच्छा मुताविक विभिन्न किसिमका योजनाहरु बनाएको छु । मुख्य रुपमा पूर्वाधारको विकास गर्ने योजना पनि बनाएको छु ।

देशभरका १४ पालिकाः युवा रोजगारीका लागि कस्तो कार्यक्रम गरिरहेका छन् ?

काठमाडौं । नेपाल सरकाले चालु आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत युवा रोजगारीका अवसर सिर्जना गरी आगमी पाँच वर्ष भित्र कुनै पनि नेपाली नागरिकले बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको थियो । तर यो लागु हुन सकेको छैन । युवा रोजारको लागि स्थानीय तहमा धेरै कार्यक्रमहरु सञ्चालन भएका छन् । कार्यक्रम सञ्चालन भए पनि अझै धेरै युवाहरु बेरोजगार रहेका छन् । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम २०७५ मा जारी भएको थियो । यो कार्यक्रमबाट धेरै युवाहरुले रोजगारी पाए तापनि सबै गाउँपालिका, नगरपालिकामा लागु हुन सकेकोे छैन । रोजगारीको खोजीमा युवा पलायन भएका छन् । कोरोनाको समयपछि धैरै युवा बेरोजगार भएका छन् । बेरोजगार भएकै कारण युवा पछिल्लो समयमा कृषि र पशु क्षेत्रमा जोडिएका छन् । देशको ठुलो समस्याको रुपमा बेरोजगारी नै रहेको छ । तर पनि केही स्थानीय तहले युवाहरुलाई स्वारोजगार बनाउनका लागि गरेको प्रयास यस्तो छ । सुनकोशी गाउँपालिका बागमती प्रदशको सिन्धुली जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार गाउँपालिकामा कुनै पनि व्यक्तिले आफ्नै गाउँठाउँमा केही गरेर बस्छु, उद्यमी बन्छु भन्छ भने गाँउपालिकाले उसको योजना अनुसारको सुलव व्याजमा ऋण दिने व्यवस्था मिलाएको छ । कुखुरा, बाख्रा पालन गर्नेहरुलाई २ देखि ४ लाख रुपैयाँसम्म रकम ऋण दिने गरेको छ । यसका लागि राष्ट्रिय वाणिज्य बैंकसँग बिनाधितो सहुलियत व्याजदरमा ऋण उपलव्ध गराउने सम्झौता भएको छ । महिलाको लागि यो ऋण १.७८ प्रतिशत र पुरुषलाई २.७८ प्रतिशत व्याजदर रहेको छ । के गर्दैछ पालिका ? युवालाई रोजगारी दिनको लागि विभिन्न कार्यक्रमहरुको योजना तर्जुमा गरी कार्यान्वयन गरेको गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा बताउछिन् । मिक्वाखोला गाउँपालिका प्रदेश १, ताप्लेजुङ्ग जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार गाँउपालिकाभित्र रहेका बेरोजगार युवालाई रोजगारी दिनका लागि गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले वार्षिक रुपमा ४ लाख रुपैयाँ छुट्टाएर गाउँपालिकाको विकाससँगै बेरोजगार युवालाई रोजगारी प्रदान गरेको छ । के गर्दैछ पालिका ? गाउँपालिका भित्रका बेरोजगार युवाहरुलाई विकास निर्माणको काममा सहभागी गरेर रोजगारी दिने गरिएको गाउँपालिकाका अध्यक्ष रामकुमार सावा बताउँछन् । तादी गाउँपालिका यो गाउँपालिका बागमती प्रदेशको नुवाकोट जिल्लामा पर्छ । युवा रोजगार युवा रोजगारको लागि विभिन्न कार्यक्रमहरु गाउँपालिकामा रहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि रहेको छ । गाँउपालिकामा युवाको लागि विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ । गाँउपालिकाको सिफारिसमा तालिम प्राप्त गरेपछि सहुलियत ऋण पनि उपलव्ध गराउने योजना पनि रहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा १ करोड रुपैंया बजेट रहेको छ । के गर्दैछ पालिका ? युवाले के सीप लिन चाहन्छन्, त्यो सिप अनुसारको गाँउपालिकाले युवाको समस्या के हो, कस्तो किसिमको तालिम लिन चाहन्छन्, आर्थिक उन्नती कसरी हुन्छ भन्ने बारेमा विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष नारायण प्रसाद पाण्डे बताउँछन् । दोरम्बा गाउँपालिका यो गाउँपालिका बाग्मती प्रदेशको रामेछाप जिल्लामा पर्छ । युवा रोजगार यो पालिकाका युवामा बढी मात्रामा कृषि र पशुपालन क्षेत्रमा आकर्षण भएको पाइन्छ । युवा रोजगारीको लागि कृषिमा ४३ वटा बाख्रा, भौसीहरु दर्ता भएका छन् । यसमा अनुदान पनि व्यावस्था रहेको छ । धेरै युवा व्यवसाय गर्नतर्फ पनि अगाडि बढेका पनि छन् । जसको आफ्नो जग्गा जमिन छ । व्यवसाय गर्छु भन्नेहरु आफैले कृषि विकास बैंकसँग ५ देखि १० लाख रुपैयाँसम्म ऋण लिन सक्छन् । कुनै व्यक्तिको प्रतिफल अनुुसारको गाँउपालिकाले १ लाखदेखि ३ लाख रुपैयाँसम्म अनुदान दिने गरेको छ । गाँउपालिकामा रहेको दलित, महिला, बेरोजगारीहरुलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रहेको छ । के गर्दैछ पालिका ? गाँउपालिकाका युवालाई स्वरोजगार बनाउनका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको तथा युवालाई स्वरोजगार बनाउनको लागि होटल, रिसोर्टहरु खोल्न समेत आग्रह गरिएको अध्यक्ष कमानसिंह तामाङ बताउँछन् । युवाको लागि सहुलियत ऋण पनि दिने योजना गाउँपालिकाको छ । उनका अनुसार आफ्नो नाममा जग्गा जमिन नभएका तर उद्यम गर्न चाहने युवाका लागि ५ लाखसम्मको सहुलियत पूर्ण ऋणका लागि गाउँपालिकाले सिफारिस गरेर पठाउँने समेत गरेको छ । कालिका गाउँपालिका बागमती प्रदेश अन्तरगत रसुवा जिल्लामा पर्ने गाउँपालिका हो यो । युवा रोजगार युवाको लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि संचालनमा छ । यस गाँउपालिकामा हिमाली र पहाडी क्षेत्र छ । गाउँपालिकामा उद्यम विकास कार्यक्रम पनि लागू भएका छन् । एक सय जना उद्यमी नयाँ निकाल्ने योजना पनि गाउँपालिकाको रहेको छ । ती उद्यमी मार्फत पनि रोजगारी सिर्जना हुनेछ । गाउँपालिकामा ४२ लाख रुपैयाँको कार्यक्रम रहेको छ, त्यसमा सबै कर्मचारीको व्यवस्थादेखि विभिन्न आधारमा कार्यक्रम पनि रहेको छ । के गर्दैछ पालिका ? रोजगार बन्नको लागि युवा आफैमा सशक्त हुनुपर्छ । गत वर्ष विदेशबाट फर्केका युवाहरुलाई प्रपोजल ल्याएर मिलेर काम गर्नु होस् भन्ने लगायतका सुचना पनि प्रकाशन गरेको अध्यक्ष सिताकुमारी अधिकारीले जानकारी दिइन् । उनका अनुसार स्वरोजगार बन्छौं भनेर युवा आएमा गाँउपालिकाले बजेट छुट्याउन सक्छ । खानीखोला गाउँपालिका बागमती प्रदेश अन्तर्गत काभ्रे जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार गाउँपालिकाका बढिजसो युवा कृषिक्षेत्रमा आबद्ध रहेका छन् । युवाहरुलाई विकास निर्माणको काममा लगाएर पनि रोजगारी दिने वातावरण सिर्जना गर्ने पहल गाउँपालिकाले गरेको छ । साना तथा मझौला उद्योग खोल्न चाहने युवाहरुलाई ऋण समेत उपलब्ध गराउने व्यवस्था गाउँपालिकाले मिलाएको छ । के गर्दैछ पालिका ? गाउँपालिकामा रहेका बेरोजगार युवालाई रोजगारीका लागि बिदेशी मुलुक जानबाट रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको अध्यक्ष कृष्णबहादुर खुलाल बताउछन् । भिमसेनथापा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गतको गोरखा जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा रहेको छ । गाउँपालिकाका धेरै युवाहरु रोजगारीको लागि विकास निर्माणको काममा लागि परेका छन् । गाउँपालिकामा धेरै युवाहरु कृषिमा पनि लागेका छन् । यहाँ उद्योग धन्दाको विकास गर्न सकिएको छैन । यदि उद्योेगको विकास गर्न सकिन्थ्यो भने यहाँका युवाहरुलाई पर्याप्त मात्रामा रोजगारी पनि दिन सकिने थियो । के गर्दैछ पालिका ? ठाउँ तथा अवस्था अनुसार युवाहरुलाई बाख्रा पालन अथवा खेतीतर्फ अग्रसर गराएको अध्यक्ष ईश्वर पाण्डे बताउँछन् । बाग्मती गाउँपालिका बागमती प्रदेश अन्तर्गतको ललितपुर जिल्लामा पर्छ यो गाउँपालिका । युवा रोजगार गाउँपालिकाले बेरोजगार युवालाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । विदेशबाट फर्केका युवाहरुलाई सामुहिक खेती गर्न प्रेरित गरी अनुदान स्वरुप २ प्रतिशत ब्याजमा ऋण दिने कार्यक्रम सञ्चालन गरेको छ । यसैगरी, गाउँपालिकाले एकल पुरुष भत्ता वितरण गर्दै आएको छ । यो कार्य ३ वर्षदेखि निरन्तर रुपमा चल्दै आइरहेको छ । ५० वर्ष पुगेर ७० वर्ष ननाघेका एकल पुरुषहरुले महिनाको १ हजार रुपैयाँका दरले भत्ता दिने गरिएको गाउँपालिकाले जनाएको छ । के गर्दैछ पालिका ? गाउँपालिकामा धेरे युवालाई रोजगार दिनको लागि ठुलो उद्योग नभए पनि बेरोजगार युवालाई रोजगारी दिन गाउँपालिकाले प्रयास गरिरहेको अध्यक्ष बिरवहादुर चोप्चन बताउँछन् । षडानन्द नगरपालिका प्रदेश १ को भोजपुर जिल्लामा यो नगरपालिका पर्छ । युवा रोजगार नगरपालिकाले रोजगारी दिनका लागि भेटेरिनरी र कृषिमा तालिम खुलाएको छ । तालिमको लागि नगरपालिकाले कृषि भेटेरिनरीमा एक/एक करोड रुपैयाँ बजेटे विनियोजन गरेकोे छ । नगरपालिकाले १ हजार ४ सय जना युवालाई रोजगारी दिने योजना बनाएको छ । के गर्दैछ पालिका ? नगरपालिकाका युवाहरुलाई कसरी धेरै रोजगारी दिन सकिन्छ भनेर योजना बनाईएकको मेयर वीरवल राई बताउछन् । खाँडादेवी गाउँपालिका बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार युवाका लागि गाउँपालिकामा धेरै तालिम तथा कार्यक्रमहरुको व्यवस्था रहेको छैन । युवाले कामको प्रोजेक्ट बनाएर ल्याउँछन् भने प्रोजेक्ट अनुसारको ऋण पनि उपलब्ध गराउने व्यवस्था रहेको छ । दुई लाख रुपैयाँसम्मको प्रोजेक्ट बनाएर आए भने बिना धितो ऋण दिने व्यवस्था रहेको छ । यहाँका धेरैसजो युवाहरु बाख्रा पालन, तरकारी खेती लगायतमा आबद्ध भएका छन् । गरिब परिवारमा भएका किसानलाई १ लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा पनि १ करोड रुपैयाँ बजेट रहेको छ । युवाहरुलाई विकास निर्माणको काममा सहभागी गराइएको छ । के गर्दैछ पालिका ? युवा स्वरोजगार कोषसँगको साझेदारीमा २ करोड रुपैयाँ बजेट बिनियोजन गरेको अध्यक्ष प्रेम वहादुर तामाङ्गले जानकारी दिए । अजिरकोट गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार गाउँपालिकाका धेरैजसो युवाहरु कृषि पेशामा आवद्ध रहेका छन् भने केही युवाले पशुपालन, कुुखुरा पालन व्यवसाय गर्दै आएका छन् । गाउँपालिकाले व्यवसाय गर्ने युवालाई अनुदानको समेत व्यवस्था मिलाएको छ । के गर्दैछ पालिका ? युवालाई लक्षित गर्दै १० लाख रुपैयाँ बजेट छुट्याएको र युवाले राम्रो प्रोजेक्ट ल्याएका वेला सुलभ दरमा ऋण पनि उपलब्ध गराउने व्यवस्था रहेको अध्यक्ष फणिन्द्र प्रसाद धिताल बताउँछन् । मनहरी गाउँपालिका बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार युवा रोजगारको लागि गाउँपालिकामा लघु उद्यम कार्यक्रम सञ्चालन भएको छ । धेरै युवा कृषि पेशामा आबद्ध रहेका छन् । कृषि गरेका युवालाई गाउँपालिकाले अनुदानमा प्लास्टिक टनेल वितरण गर्ने गरेको छ । बेरोजगार युवालाई लक्षित गर्दै कृषि र पशुपालनका विभिन्न कार्यक्रम गाउँपालिकामा हुने गरेको छ । तालिम अनुसारको युवालाई उत्पादनमा जोड दिएर बजारीकरण गर्ने गरी यो बर्ष ५० जना दक्ष कृषक उत्पादन गर्ने पनि गाउँपालिकाले जनाएको छ । प्रदेश सरकारको तर्फबाट साना किसान विकास बैंक मार्फत ३ प्रतिशत व्याजदरमा गाउँकै कृषि सहकारी मार्फत १० लाख रुपैयाँसम्म ऋण पनि पाउँछन् । कृषि विकास बैंक मार्फत् २० लाख रुपैयाँसम्म उद्योग गर्नको लागि युवाले ऋण लिन सक्नेछन् । के गर्दैछ पालिका ? गाउँपालिकाले युवालाई कृषिसँग जोडेको र युवा स्वारोजगारको लागि गाउँपालिकाको तर्फबाट ठुलो भूमिका खेलेको अध्यक्ष एकराज उप्रेती बताउँछन् । सभापोखरी गाउँपालिका प्रदेश १ अन्तर्गत संखुवासभा जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम संचालनमा रहेको छ । गाउँपालिकाले युवालाई विकास निर्माणको काममा लगाएर रोजगारी दिने गरेको छ । के गर्दैछ पालिका ? गाउँपालिकाले बेरोजगार युवालाई लक्षित गरि विभिन्न कार्यक्रमहरु ल्याएको छ । कृषि विकास र क्षमता विकास अन्तर्गत युवालाई बजेट छुट्याएको र युवाको क्षमता विकास गर्ने काम भइरहेको भन्दै उद्योगधन्दाको विकास गर्न नसकिएको अध्यक्ष रतन वहादुर सुब्बा बताउँछन् । नेत्रावती डबजोङ गाउँपालिका बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार हातमा सीप भएका युवालाई सहकारीसँग समन्वय गरेर ऋणको व्यवस्था मिलाएको छ । कुनै युवाले केही गर्न चाहन्छु भनेर आएमा गाउँपालिकाले १ लाख रुपैयाँ र सहकारीबाट १ लाख गरी २ लाख रुपैयाँ ऋण पाउँनेछन् । गाउँपालिकाले अदक्ष कामदारको लागि श्रम बैंकको समेत व्यवस्था मिलाएका छ । गाउँपालिकाले श्रमदान मार्फत युवालाई रोजगारी दिदैँ आएको छ । यसअघि गाउँपालिकाले ग्रामीण कृषि कार्यकर्ता कार्यक्रम संचालन गरेको थियो । गाउँपालिकाले विभिन्न कार्यक्रमसँगै विकास निर्माणको काममा लगाएर रोजगारी प्रदान गर्दै आएको छ । बागमती प्रदेश सरकारले सहुलियत व्याजदरको कर्जाको व्यवस्था गरेको छ । उत्पादनमा काम गर्ने समुहलाई ३ प्रतिशत व्याजदरमा विना धितो ५ लाख रुपैयाँ र व्यक्तिका लागि धितो राखेर १० लाख रुपैयाँसम्मको ऋणको व्यवस्था गाउँपालिकाले मिलाएको छ । के गर्दैछ पालिका ? बेरोजगार युवालाई लक्षित गर्दै गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भन्दै स्वरोजगार बन्न चाहने युवाका लागि धेरै अवसर दिईएको अध्यक्ष दुर्गकुमार शाक्य बताउँछन् ।

गाउँपालिकामा ‘खाना नफालौं’ भन्ने अभियान सञ्चालन गरेका छौं- अध्यक्ष कुँवरसँगको कुराकानी

गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो अन्नपूर्ण गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा पनि निक्कै चर्चित रहेको पाइन्छ । ४ सय १७ दसमलव ७४ वर्ग किलोमिटरमा फैलिएको यो गाउँपालिकामा २३ हजार ५ सय ६५ जनाको बसोवास रहेको छ । गाउँपालिकाको सिमाना पूर्वतर्फ माछापुच्छ्रे गाउँपालिका, पश्चिममा म्याग्दी जिल्ला, उत्तरी सिमानामा मनंग तथा दक्षिणमा पर्वत र पोखरा-लेखनाथ महानगरपालिका रहेको छ । नौडाँडा, काँडे, नयाँ पुल, बिरेठाँटि र स्याउली बजार यस गाउँपालिकाको मुख्य बजार क्षेत्रका रुपमा रहेका छन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के-के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष युवराज कुँवरसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । कृषिको लागि तरकारीको विउ ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको छ । हामीले आलुको तथा बेमौसमी तरकारीको विउ पनि कृषकलाई वितरण गर्दै आएका छौं । कोदो संरक्षणका लागि पनि गाउँपालिकामा विशेष जोड दिएका छौं । राम्रो कोदो उत्पादन गर्ने कृषकलाई हामीले पुरस्कृत गर्ने गरेका छौं । सिँचाई सम्बन्धी काम पनि गरेका छौं । मासुजन्य उत्पादनमा हाम्रो गाउँपालिका आत्मनिर्भर बनेको छ । गाउँपालिकामा दूध सङ्कलन केन्द्र पनि रहेको छ । गाउँपालिकामा कति प्रतिशत नागरिकहरू कृषि पेशामा आवद्ध रहेका होलान् ? यहाँका धेरैजसो नागरिकहरु कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिब ७० प्रतिशत मानिसहरु कृषि पेशामा आवद्ध छन् भन्न सकिन्छ । गाउँपालिकाको आर्थिक वृद्धि गर्ने स्रोत कृषि नै हो । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका आफैंमा एउटा पर्यटकीय क्षेत्र हो । मुख्य पर्यटकीय क्षेत्रमा अन्नपूर्ण शिविर, माछापुच्छ्रे शिविर, घोरेपानी, घान्द्रुक, पन्चासे, इशरु, हिँड्न ताल, नसिखर्क लगायतका रहेका छन् । हाम्रो गाउँपालिकामा अन्नपूर्ण हिमाल पनि रहेको छ । कोरोनाको समय पछि वाह्य पर्यटनको आकर्षण कमै रहेको छ । आन्तरिक पर्यटनको आकर्षण चाहिँ गाउँपालिकामा धेरै नै रहेको छ । गाउँपालिकामा कोरोनाले पुर्याएको असर तथा हाल त्यहाँको अवस्थाका वारेमा छोटकरीमा बताइदिनुस् न विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि नराम्रो असर पुर्यायो । गाउँपालिकामा रहेका मानिसहरूलाई कोरोना नलागे पनि विदेश गएका नेपाली नागरिकलाई कोरोना सङक्रमण भएको थियो । गाउँपालिकामा मानवीय असर नपरे पनि आर्थिक उपार्जनमा ठुलो असर ग¥यो । कोरोना भाइरस विरुद्ध लड्नको लागि गाउँपालिकामा क्वारेन्टिन स्थापना गरेका थियौं । धेरै नागरिकहरु होम आइसोलेसनमा बसेका थिए । शिक्षाका साथै विकास निर्माणका कामहरू पनि त्यो वेला प्रभावित भएका थिए । अहिले भने गाउँपालिकाको अवस्था सामान्य भइसकेको छ । सर्वसाधारणहरू पनि त्रासरहित भएर आफ्नो काम गरिरहनुभएको छ । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ ? गाउँपालिकामा पहिलो प्राथमिकताका रुपमा शैक्षिक क्षेत्रलाई राखेका छौं । गाउँपालिकामा कम्प्युटर कक्षा सञ्चालन हुने गरेको छ । अन्नपुर्ण बहु प्राविधिक विद्यालयमा बाली विज्ञानको सुरुवात गरेका छौं । ४० जना विद्यार्थीहरु यो विद्यालयमा पढिरहेका छन् । नमुना मा.वि.को रूपमा माछापुच्छ्रे मा.वि. रहेको छ । अबको समयमा भौतिक सुधार भन्दा शैक्षिक सुधार गर्न आवश्यक रहेको छ । गाउँपालिका भित्र ५४ ओटा विद्यालयहरू रहेका छन् । गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? स्वास्थ्य क्षेत्रको विकासका लागि पनि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । एक वडा एक स्वास्थ्य चौकी निर्माणको काम सकाएका छौं । १५ शैय्या बेडको अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले दिएको औषधीहरु गाउँपालिकाका नागरिकलाई निःशुल्क वितरण गर्ने गरेका छौं । ठुलो रोगको त उपचार गाउँपालिकामा हुन सक्दैन । गाउँपालिकामा रहेका सबै नागरिकहरुको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के-के हुन् नि ? गाउँपालिकाको ठुलो योजनाको रुपमा खानेपानी योजना रहेको छ । १ करोड ६० लाख रुपैयाँ बजेटमा खानेपानीको काम अघि बढेको छ । ४ करोड ५० लाख रुपैयाँमा ठेक्का प्रकियाबाट सडक निर्माणको काम भइरहेको छ । सडक सञ्जालको काम गाउँपालिकामा धेरै नै रहेको छ । ७ ओटा वडा कार्यालयको भवन निर्माण भइरहेको छ । गाउँपालिका भित्रका सबै वडा भवन निर्माण भइसकेपछि गाउँपालिकाको भवन निर्माण गर्ने योजना बनाएका छौं । हाम्रो गाउँपालिकामा ४ ओटा वडामा बिजुली पुगेको छैन । राष्ट्रिय प्रसारण लाइनको पनि काम भइरहेको छ । बिजुली पुग्न बाँकि रहेका वडामा पनि आउने असार भित्र बिजुली पुर्याउने लक्ष्य लिएका छौं । ७ कि.मि. सडकको ढलान गर्ने काम पनि गाउँपालिकामा सुरु भएको छ । अहिले सम्मको काम गराईबाट के कति सन्तुष्ट हुनुहुन्छ ? विकास निर्माणको काम पूर्ण भइसकेको छैन । तर पनि हाम्रो सुरुवात राम्रो रहेको छ । १५ वर्ष भित्र गाउँपालिकालाई नेपालकै पर्यटकीय तथा कृषि क्षेत्रको मुख्य गन्तव्य बनाउनको लागि जनप्रतिनिधि तथा स्थानीय नागरिकहरु जुटिरहेका छौं । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारिक कम्पनी कुन हो ? हाम्रो गाउँपालिकामा ठुला उद्योग त छैनन् मात्र ढुङ्गा, गिट्टि लगायतका साना उद्योगहरु छन् । स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु पनि छन् । पालिकामा बरु कृषि उद्योग धेरै संख्यामा रहेको छ । कृषकहरूले कुखुरापालन तथा भैँसीपालन लगायतका काम पनि गर्दै आएका छन् । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन् हो नि ? गाउँपालिकामा ठुलो उद्योगहरु नभइसकेपछि धेरै कर तिर्ने कम्पनी पनि हुने कुरै भएन । तरपनि निर्माण व्यवसायीहरुबाट भने सामान्य कर संङ्कलन हुने गरेको छ । गाउँपालिकामा हाल हाईड्रोपावरको निर्माण पनि भइरहेको छ । यस अवधिमा बजेट के कति खर्च भयो ? खर्चअनुसार उपलब्धि प्राप्त भएको छ कि छैन होला ? दुई चौमासिक सकिसकेको छ । दुई चौमासिकको खर्चमा हामी सन्तुष्ट नै रहेका छौं । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाउँपालिकामा रोजगारीका लागि विभिन्न कार्यक्रमहरु राखेका छौं । ‘मेड्पा रोजगारी’ कार्यक्रम सञ्चालन गरेका छौं । यहाँका धेरै युवाहरु कृषि पेशामा आवद्ध भएर स्वरोजगार पनि बनेका छन् । केही युवालाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । युवाहरुले स-साना कृषि उद्योग पनि स्थापना गरेका छन् । युवाहरुको क्षमता वृद्धि गर्नको लागि पनि हामीले गाउँपालिकामा विभिन्न तालिमको व्यवस्था मिलाएका छौं । प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम पनि गाउँपालिकामा रहेको छ । स्थानीय तहमा काम गर्दा के कस्ता समस्या आईपर्ने गरेको छ ? स्थानीय तहमा काम गर्दा विभिन्न किसिमका समस्याहरु आइपर्छन् । सडक निर्माण गर्न लाग्दा जग्गाको समस्या, खानेपानीमा पानीको मुहानको समस्याहरु देखा पर्ने गरेका छन् । तरपनि हामी यी समस्याको समाधान गरेर मात्र अघि बढिरहेका छौं । प्रदेश तथा केन्द्र सरकारसँग कस्तो समन्वय भइरहेको छ ? हाम्रो समन्वय राम्रै गरी भइरहेको छ । समपुरक बजेट पनि प्रदेश र केन्द्रबाट आउने गरेको छ । गाउँपालिकाको विकास निर्माणको कामहरु पनि प्रदेश र केन्द्र सरकार बाटै आएको बजेटमा गर्ने हो । गाउँपालिकामा हाल कस्ता किसिमका योजनाहरुलाई प्रथमिकतामा राख्नुभएको छ ? उत्पादन, पर्यटन पदमार्ग, खानेपानी, शिक्षा, सडक आदिलाई हामीले गाउँपालिकामा प्रथामिकतामा राखेका छौं । अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? यो कार्यकालमै त गाउँपालिकामा धेरै काम गर्न सकिँदैन । नेपाल सरकारबाट आएको बजेट प्रत्यक्ष जनताको माझमा लैजाने हो । गाउँपालिकामा ‘खाना नफालौं’ भन्ने अभियान सञ्चालन गरेका छौं । यसका साथै स्वास्थ्य, शिक्षा लगायतलाई पनि उत्कृष्ट बनाउने योजना छ । कृषिलाई आधुनिकिकरण गर्ने योजना पनि बनाएको छु । यसका साथै पूर्वाधार विकासको काममा पनि कम्मर कस्नेछु ।