न्यून बजेटको कारण विकासका धेरै काम गर्न सकेका छैनौं – गाउँपालिका अध्यक्ष घले
नासोँ गाउँपालिका नेपालको गण्डकी प्रदेशअन्तर्गत मनाङ जिल्लाको तल्लो भेगमा अवस्थित छ । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ९ ओटा वडा रहेको यो गाउँपालिका ९ सय ५८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । वि.सं. २०६८ को जनगणना अनुसार गाउँपालिकाको जनसंख्या १९ हजार ३८ रहेको छ । गाउँपालिकाको सिमानामा पूर्वतर्फ गोरखा जिल्ला, पश्चिममा चामे गाउँपालिका र लमजुङ जिल्ला, उत्तरमा नार्पा भूमी गाउँपालिका र चीनको स्वशासित क्षेत्र तिब्बत रहको छ भने दक्षिणमा लमजुङ जिल्ला रहेको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । गाउँपालिकामा कोदो र धान उत्पादन हुँदैन भने मकै, गहुँ, आलु बढी उत्पादन हुने गरेको छ । गाउँपालिकामा स्याउ जोन क्षेत्र पनि छुट्याएका छौं । स्याउ फार्मको अवधारण अगाडि सारेका छौं । २ वर्ष पछि यसको नतिजा राम्रो आउँछ भन्ने हाम्रो आशा रहेको छ । हामीले किसानको माग अनुसारको बिउ उपलब्ध गराउने व्यवस्था पनि मिलाएका छौं । गाउँपालिकामा सानातिना तरकारीको बिउ निःशुल्क र धेरैजसो ५० प्रतिशत अनुदानको बिउ वितरण गर्दै आएका छौं । हाम्रो गाउँपालिकामा कृषियोग्य जमिनको उपलब्धता अत्यन्तै कम रहेको कारण कृषि उपज उत्पादन ज्यादै न्यून भएता पनि पशुपालन व्यवसायलाई पनि हामीले जोड दिएका छौं । उन्नत जातका बाख्रा पनि कृषकलाई वितरण गर्दै आएका छौं । यो वर्ष चौँरीका बाछा वितरण गर्ने पनि हाम्रो लक्ष्य रहेको छ । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं । बजेटको अभावको कारण हामीले गाउँपालिकाका वडाहरूलाई पकेट क्षेत्रका रूपमा छुट्याउन सकेका छैनौं । पकेट र ब्लक क्षेत्र छुट्याउने भनेर कृषि ज्ञान केन्द्रले प्रपोजल तयार पनि गरेको छ । आलु तथा फापर आदिको पकेट क्षेत्र छुट्याउने हाम्रो लक्ष रहेको छ । रासायनिक मल अन्त्य गरी प्राङ्गारिक मलको प्रयोग गर्न कृषकलाई आग्रह गरेका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ? गाउँपालिका भित्रका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँको मुख्य पेशा खेति किसानी नै हो । प्रतिशतमै भन्नुपर्दा करिब ९० प्रतिशत मानिसहरू कृषि पेसामा आवद्ध छन् भन्न सकिन्छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र विकासको लागि कसरी काम गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । हाम्रो गाउँपालिका पर्यटकीय पदयात्राका दृष्टिकोणले महत्वपूर्ण रहेको छ । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । वर्षेनी हजारौंको सङ्ख्यामा स्वदेशी र विदेशी पर्यटकहरू मनाङ जिल्ला प्रवेश गर्ने द्वारको रूपमा हाम्रै गाउँपालिकालाई लिन सकिन्छ । हाम्रो गाउँपालिका भित्र पर्यटकको सेवालाई मध्यनजर गर्दै विभिन्न सुविधा सम्पन्न होटल, लज, होमस्टे तथा गेष्टहाउसहरु सञ्चालनमा छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले गाउँपालिकाको पर्यटकीय क्षेत्रमा पनि ठुलो असर पुर्यायो । गाउँपालिकामा पहिलो प्राथमिकताको रूपमा पर्यटक क्षेत्रलाई नै राखेका छौं । चक्रे पदमार्ग निर्माण गर्ने हाम्रो लक्ष पनि रहेको छ । यसको काम अगाडि बढेर १ करोड ५० लाख रुपैयाँ खर्च पनि भएको छ । पदमार्गको लागि हामीले प्रदेश र केन्द्रलाई अनुरोध पनि गरिरहेका छौं । डोना तथा पुङ्कर ताल पर्यटकीय स्थलको रूपमा चर्चित रहेको छ । यसका साथै धार्मिकस्थलहरू पनि गाउँपालिकामा प्रशस्त रहेका छन् । गाउँपालिकामा दक्षिण एसियाकै सबैभन्दा अग्लो झोलुङ्गे पुल पनि रहेको छ । ग्रामीण भेग भएका कारण हाम्रो गाउँपालिका शहरी सुविधा भन्दा पनि गाउँले परिवेशमा रमाउने तथा पदयात्राको मज्जा लिन चाहने प्रकृति प्रेमिकालागि अनुपम गन्तव्य हो । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आईरहेको छ त ? गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासको लागि पनि धेरै काम गर्दै आइरहेको छ । शिक्षा क्षेत्रलाई गुणस्तर बनाउने भनेर आवासिय अवधारण पनि अघि सारेका छौं । प्रदेश र केन्द्र सरकारको सहयोगमा गाउँपालिकाको वडा नं. ५ मा रहेको प्रकाशज्योती मा.वि. को भवन निर्माणको काम पनि सुरु भएको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? स्वास्थ्य क्षेत्रको विकासका लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । गाउँपालिकाको प्रत्येक वडामा अस्पताल रहेको छ । आधारभुत स्वास्थ्य चौकि गाउँपालिकामा ३ ओटा रहेको छन् । नेपाल सरकारको लक्ष्य अनुसारको ५ बेडको अस्पतालको पनि डीपीआर भइसकेको छ । सरकारले दिएका औषधीहरु गाउँपालिकाका नागरिकलाई निःशुल्क वितरण गर्ने गरेका छौं । ठुलो रोगको उपचार गाउँपालिकामा हुन चाहिँ सकेको छैन । गाउँपालिकामा रहेका सबै नागरिकको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ? धेरै ठुलो योजना हाम्रो गाउँपालिकामा रहेको छैन । गाउँपालिकामा प्रदेश र केन्द्रको सहयोगमा हुन लागेका योजनाहरु केही मात्रामा छन् । गाउँपालिकामा ३ ओटा हाइड्रोपावर निर्माणको कामहरु भइरहेको छ । सडक विकासका कामहरु पनि भइरहेको छ । बजेटको आकार सानो भएको कारण सडक विकासको लागि धेरै बजेट छुट्याउन सकेका छैनौं । बर्खामा यातायातको सञ्चालन हुन सक्दैन । सडकको स्तर उन्नती तथा ट्र्याक खोल्ने काम पनि भइरहेको छ । बजेटको आकार सानो भएको कारण गाउँपालिकामा धेरै विकास निर्माणको काम गर्न सकेका छैनौं । ‘एक घर एक धारा’ अभियान पनि चलाइरहेका छौं । हाम्रो गाउँपालिकाको सबै वडामा बिजुली पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको काम पनि भइरहेको छ । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ? नेपाल सरकारले बनाएको ‘एक वडा एक खेल मैदान’ भन्ने जुन खालको नीति रहेको छ त्यो अनुसारको नै वडा नं. १ मा खेल मैदान निर्माण सुरु गरेका छौं । युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, फुटबल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरेका छौं । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? रोजगारी दिनको लागि गाउँपालिकामा ठुलो उद्योगहरु रहेका छैनन् । यहाँका धेरै युवाहरु कृषि पेशामा आवद्ध भएर स्वरोजगार पनि बनेका छन् । केही युवालाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । युवाहरुले स–साना कृषि उद्योग पनि स्थापना गरेका छन् । प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम पनि गाउँपालिकामा लागु भएको छ । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएको परिवर्तन बारे केही बताइदिनुस् न पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । देखिने खालका कामहरू पनि भएका छन् । भौतिक संरचनाहरूको निर्माण पनि भएका छन् । सडक पिच हुन नसके पनि सडकको विकास भएका छन् । खानेपानीको व्यवस्था हुन थालेको छ । वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । पर्यटन विकासको लागि पनि हामीले जोड दिएका छौं । विद्यालयहरुका भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम पनि अगाडि बढाइरहेका छौं । गाउँपालिकामा नागरीकहरु प्रायः कस्ता समस्या लिएर आउँछन् नि ? खानेपानी, बिजुली, सडक पुगेन भन्ने जस्ता समस्याहरु लिएर आउने गरेका छन् । अहिलेसम्मको आफ्नो काम गराईबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ? अहिलेसम्मको काम गराईबाट म सन्तुष्टनै छु । तरपनि गाउँपालिकामा बजेटको आकार न्यून रहेको छ । न्यून बजेट रहेको कारण धेरै विकास निर्माणको कामहरु गर्न सकेका छैनौं । विकास बजेट भनेर १ करोड ५० लाख रुपैयाँ मात्र बजेट विनियोजन हुने गरेको छ । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउन योजना छ ? हामीले सुरु गरेका योजनाहरू सम्पन्न गर्ने योजना छ । बनिरहेका सडक संरचनाहरू पूरा गर्ने पनि योजना रहेको छ । मेरो अबको बाँकी रहेको कार्यकालमा गाउँपालिकाको भवन निर्माण गर्नेछु । भौगोलिक हिसावले विकट भएपनि जग्गा खरिदको सम्बन्धमा केन्द्र सरकारसँग समन्वय गरेर मन्त्रिरिषदबाट पनि पास भइसकेको छ । यो वर्षबाट भवन निर्माणको काम सुरु गर्ने लक्ष्य लिएको छु । देखिने खालका योजनाहरूतर्फ काम गर्ने योजना समेत बनाएको छु ।
नुवाकोटका सबै पालिका डढेलोबाट प्रभावित, प्रमुख सापकोटा भन्छन्- यो वर्ष धेरै बढ्यो
नुवाकोट । हिउँदको समय शुरु भएसँगै नुवाकोटका जङ्गल क्षेत्रमा डढेलोको घटना बढेको छ । जिल्लाका बाह्रवटै स्थानीय तहका वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाको अनुसार जिल्लाका जङ्गल क्षेत्रमा अघिल्ला वर्षको तुलनामा यस वर्ष डढेलोको घटना धेरै गुणाले बढेको छ । उनका अनुसार जिल्लामा अहिले सामुदायिक वन ३७७ रहेका छन् भने निजी वन १५ र धार्मिक वन तीन छन् । यसमध्ये अहिलेसम्म १०० भन्दाबढी सामुदायिक वनमा डढेलो लागेको वन कार्यालयले जनाएको छ । हाल एक दर्जनभन्दा बढी सामुदायिक वनमा डढेलो लागिरहेको र त्यो नियन्त्रण बाहिर छ । “अघिल्ला वर्षमा हिउदको समयमा वर्षात् हुने कारण आगलागी र डढेलोका घटना कमी हुने गरेको थियो”, उनले भने, “यस वर्ष हिउद्मा वर्षा नहुदाँ डढेलोको घटनामा निकै धेरै वृद्धि भएको छ ।” हिउँद तथा सुख्खा मौसम भएका कारण डढेलोको जोखिम यस वर्ष झनै वृद्धि हुँदै जाने देखिएकाले सतर्कता अपनाउन कार्यालयले अनुरोध गरेको छ । आगलागी र डढेलेको घटनाको सूचना पाएलगत्तै नियन्त्रणका लागि सुरक्षाकर्मी, उपभोक्ता र सामाजिक सङ्घसँस्थासँग सहकार्य गरेर परिचालन हुँदै आएको छ । जङ्गल क्षेत्रमा लाग्ने डढेलोका घटना प्राकृतिक कारण न्यून र मानवीय लापरवाही तथा त्रुटिका कारण बढी भएकाले आगलागी र डढेलेको घटनामा नियन्त्रणका लागि वन उपभोक्ता तथा स्थानीयवासी आफैँ सचेत हुनुपर्ने किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाको भनाइ छ । पछिल्लो दिनको दैनिक नै आगलागी र डढेलो नियन्त्रण र यसविरुद्धको सचेतनामा बित्दै आएको उनले बताए । कहीँकतै आगो लागेको देखेमा अग्निरेखा बनाई निभाउने प्रयास गर्न तथा वडा, पालिका, वन कार्यालय, सुरक्षाकर्मीलगायतका निकायमा खबर गर्न उपभोक्तालाई अपिल गर्ने गरेको उनले बताए । धुमपानपश्चात् आगोको ठुटो जथाभावी नफाल्न, राम्रो घाँस पलाउनेलगायतका स्वार्थ राखेर जङ्गल क्षेत्रमा आगलागी हुन नदिन सबैले जिम्मेवारी पूरा गर्नतर्फ लाग्न वन कार्यालयले अनुरोध गरेको छ । रासस
एकल पुरुषलाई १३ लाख रुपैयाँ भत्ता दिने गाउँपालिका
काठमाडौं । ललितपुरको बागमती गाउँपालिकाले विगत ३ वर्षदेखि देखि एकल पुरुषलाई मासिक भत्ता दिँदै आएको छ । विभिन्न पालिकाहरुले एकल महिला तथा वृद्ध भत्ता दिँदै आएको भए पनि बागमति गाउँपालिकाले भने एकल पुरुषहरुर्लाइ पनि मासिक भत्ता दिँदै आएको हो । एकल महिला, वृद्ध महिला तथा पुरुषको हकमा समाज केही उदार बने पनि एकल पुरुषहरू पनि उत्तिकै पीडित बनेको देखेर आफ्नो गाउँपालिकाले विगत ३ वर्षदेखि एकल पुरुषहरुलाई पनि मासिक भत्ता दिँदै आएको गाउँपालिकाका अध्यक्ष बिरबहादुर लोप्चनले बताए । अध्यक्ष लोप्चनका अनुसार गाउँपालिकाले यो ३ वर्षको अवधिमा गाउँपालिकाका एकल पुरुषहरुलाई १३ लाख रुपैयाँ भत्ता वितरण गरिसकेको छ । ‘हामीले वियोगमा परेका थुप्रै एकल पुरुष देखेपछि उनीहरुका लागि पनि एकल भत्ता दिनु पर्छ भन्ने सोच बनाएका हौं, एकल पुरुषलाई मासिक भत्ता दिने बागमति नै पहिलो गाउँपालिका हो,’ अध्यक्ष लोप्चनले भने । ६० वर्ष पुगेका तर ७० वर्ष ननाघेका एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको उनको भनाई छ । ७० वर्ष माथिका पुरुषहरुलाई गाउँपालिकाले वृद्ध भत्ता दिँदै आएको छ । फाइल फाेटाे विगत ३ वर्षेदेखि एकल पुरुष भत्ता मासिक १ हजार रुपैयाँ दिँदै आएका छौं, अब उनीहरुलाई उपचार खर्च भनेर ५ सय रुपैयाँ दिने योजना पनि बनाएका छौं, अब कुल १५ सय रुपैयाँ उनीहरुले पाउने छन्,’ उनले भने । उनका अनुसार गाउँपालिकामा रहेका ५० जना एकल पुरुषले मासिक भत्ता पाउदै आएका छन् । गाउँपालिकाले वर्षेनी बजेटमा ५ लाख रुपैयाँ एकल पुरुष भत्ताका लागि छुट्याउँछ । ७ सय ५३ स्थानीय तहमध्ये एकल पुरुष भत्ता वितरण गर्ने पहिलो बागमति गाउँपालिका भएको उनको दावी छ । ‘पहिले एकल महिलाले मात्र भत्ता पाउँथे, अब एकल पुरुषलाई पनि दिनु पर्छ भन्ने सोच बनाएर उनीहरुलाई पनि दिँदै आएको उनको भनाई छ । २०७४/०७५ को बजेटबाट सुरु अध्यक्ष लोप्भनले आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रममा एकल पुरुष भत्ता कार्यक्रम सुरु गरिएको बताए । सुरुमा भत्ता पाउने एकल पुरुषको उमेर ६० पुगेको हुनुपर्ने मापदण्ड बनाइएको छ । ६० देखि ७० वर्षका पुरुषलाई मात्रै भत्ता दिने मापदण्ड बनाइएको छ। ‘७० वर्षदेखि वृद्धभत्ता नै पाउने भएकाले दोहोरो सुविधा नपाउने व्यवस्थाका लागि उमेर हद तोकेका हौं,’ लोप्चनले भने। गाउँपालिकाको सानो सहयोगले बुढेसकालमा एकल बस्नेलाई काम लागोस् भनेर यस्तो व्यवस्था गरिएको उनको भनाई छ । आर्थिक स्तर कमजोर भएका, परिवारमा कोही नभएका, परिवारबाट अपहेलित बनेका, आयस्रोत नभएका पुरुषले यस्तो सुविधा पाउने अध्यक्ष लोप्चनले बताए ।