बाहिरी चक्रपथमा जग्गा को मूल्य बढ्यो, लाख खर्चेर करोडौं फाइदाको लोभ

काठमाडौं २३, भदौ । आठ लेनको बाहिरी चक्रपथ निर्माण गर्ने पक्कापक्की भएपछि चोभार, गाम्चा र सतुङ्गलको ६.१ किलोमिटर ट्याक नजिकका जग्गाको मूल्य अकासिएको छ। सात हजार रोपनी जग्गामा करिब नब्बेजना जग्गाधनीले सहयोगात्मक सुझाव दिएपछि बाहिरी चक्रपथ निर्माण हुन लागेको खबरले मूल्यमा तलमाथि भएको हुनसक्ने काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले बताएको समाचार विहिबारको गोरखापत्रमा छापिएको छ। ‘बाहिरी चक्रपथ पर्ने भयो भनेर केहीले आफूखुसी मूल्य बढाएर बेचेका छन्, कतिपयले लाखौं खर्च गरेर करोडौं फाइदा हुने लोभमा पनि जग्गा किनेका छन्’, उनले भने, ‘बाहिरी चक्रपथ र सिस्टर सिटीमा पर्ने जग्गालाई केही जग्गा कटौती गर्दै पुनः जग्गाधनीलाई जग्गा दिने भएपछि मूल्य बढेको हुनसक्छ।’ उनका अनुसार बाहिरी चक्रपथ जग्गा एकीकरण समिति बनिसकेको छ। बाहिरी चक्रपथ र सिस्टर सिटीमा पर्ने जग्गामा भौतिक निर्माणमा फेरबदल र प्लट मिलानका कामबाहेक जग्गा किनबेच गर्न सकिने भएकाले पनि उक्त कार्य बाहिरी चक्रपथ पर्ने उपत्यकाका तीनवटै जिल्लामा भएको हुनसक्ने बताए। प्रमुख तिवारीका अनुसार पहिलो चरणको निर्माणका लागि चोभार, गाम्चा र सतुङ्गलको ६.१ किलोमिटरभित्रका जग्गा एकीकरणका लागि नक्सा तयार भइसकेको जानकारी दिए। मन्त्रालयले अन्तिम टुङ्गो लगाएपछि एकीकरण हुने जग्गामा केही फेरबदलसहित बाहिरी चक्रपथको पहिलो चरणको काम थालनी हुने उनले बताए। कीर्तिपुर नगरपालिकाका सूचना अधिकृत सुजिन्द्र महर्जनले बाहिरी चक्रपथ निर्माण हुने पक्का भएपछि किनबेच कम भएको छ । बेचिएका जग्गाहरू पनि अधिक मूल्यमा बेचिएको उनले बताए। उनका अनुसार जग्गाधनीले भनेजति मूल्य दिन हाउजिङ कम्पनीबीच एक प्रकारले अहिले प्रतिस्पर्धा नै चलेको छ। ५० मिटरको फराकिलो बाहिरी चक्रपथ र दुवैतर्फ २५० मिटरका जग्गा र त्यस वरपरका जग्गाको मूल्य एक्कासि बढेको हो। बाटो भएका कित्ताका जग्गाको भाउ तीनचार दोब्बर बढेको र बाटो नै नभएका जग्गा पनि केही हाउजिङ कम्पनीले किन्न सुरु गरेपछि मूल्य बढेको बताइन्छ । बाहिरी चक्रपथ र चक्रपथसँग दुवैतर्फ २५० मिटरभित्रको भगिनी सहर अर्थात् ‘सिस्टर सिटी’मा जग्गाधनीले चालीसदेखि पचास प्रतिशत जग्गा पाउने भएकाले किनबेच प्रभावित भएको हो। कीर्तिपुरका नारायण महर्जनले बाहिरी चक्रपथ र सिस्टर सिटी नजिक हुने भएपछि केही राम्रो हुने सङ्केत पाएकाले बाटो नभएका खेतबारी बिक्री गर्ने मनशाय त्यागेको जानकारी दिए। बाहिरी चक्रपथ निर्माण हुने भएपछि पहिलो चरणमा सुरु हुने चोभारस्थित गलैँचा फ्याक्ट्रीका बाटो भएका जग्गाको मूल्य अहिले अकासिएको गुणराज प्रजापतिले बताए। ललितपुर जिल्लाको बाहिरी चक्रपथमा पर्ने गोदावरी क्षेत्रका जग्गाको मूल्य पनि बढेको बताइएको छ । बाहिरी चक्रपथभित्र काठमाडौं जिल्लामा ३५।८ किलोमिटर, ललितपुर जिल्लामा १५.८० किलोमिटर र भक्तपुर जिल्लामा २१।०५ किलोमिटर सडकलाई पाँच वर्षभित्र निर्माण गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरणको लक्ष्य रहेको छ।

जलविद्युतमा धमाधम स्वदेशी लगानी बढ्दै, ८६ मेगावाटसम्मका आयोजनामा लगानी गर्न सक्ने

काठमाडौं २३ विद्युत् आयोजनामा स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट लगानी हुन थालेपछि अन्य स्वदेशी लगानीकर्ता पनि उत्साहित भएका छन् । राज्यबाट प्रवद्र्धनको काम भएमा बैंक तथा वित्तीय संस्था विद्युत् आयोजनामा लगानी गर्न थप आकर्षित हुने नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले बताए । ‘राम्रा आयोजना र प्रवद्र्धकले ल्याएका आयोजनाका पछाडि बैंकहरू छन्,’ एनएमबी बैंकका सिइओसमेत रहेका पौडेलले भने, ‘जलविद्युत्को विकास अपरिहार्य भनिरहेका छौा, प्रवद्र्धक र बैंकलाई आकर्षित हुने गरी राज्यबाट काम भने हुन सकेको छैन ।’ माथिल्लो तामाकोसी आयोजनाको वित्तीय व्यवस्थापन टुंगो लागेसागै स्वदेशी लगानीमै जलविद्युत् आयोजनाको ढोका खुलेको थियो । ०६८ मा सो आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो । हाल स्वदेशी लगानीमै १ मेगावाटदेखि ४५६ मेगावाटसम्मका आयोजना निर्माणाधीन छन् । अधिकांश निर्माणाधीन आयोजना चार वर्षभित्र सकिनेछन् । स्वदेशी बैंक तथा वित्तीय संस्थाले ८६ मेगावाटसम्मका आयोजनामा लगानी प्रतिबद्धता जनाएका छन् । हाइड्रो भेन्चर प्रालिले निर्माण गर्न लागेको ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा ११ बैंक तथा वित्तीय संस्थाले सहवित्तीयकरणमा आठ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानीको प्रतिबद्धता गरेका हुन् । यो आयोजना निजी क्षेत्रद्वारा प्रवद्र्धित र स्वदेशी बैंक तथा वित्तीय संस्थाको लगानीमा निर्माण हुन लागेको हालसम्मकै ठूलो हो । ११ अर्ब ८६ करोड रुपैयाँ अनुमानित लागत रहेको सो आयोजनामा तीन अर्ब २१ करोड रुपैयाा भने सेयरधनीबाट लगानी हुनेछ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी र चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन २ सय ७० मेगावाटका चार आयोजनाका लागि स्वदेशी लगानी जुटेपछि आत्मविश्वास बढेको लगानीकर्ताहरू बताउँछन् । बैंकरहरूले पनि स्थानीय अवरोधबाट उत्पन्न जोखिमको अन्त्य तथा प्रसारण लाइन समस्या हटेमा जलविद्युतमा थप लगानी गर्न सकिने बताउादै आएका छन् ।

कलंकीको आकाशे पुलमा करोडौं भ्रष्टाचार, सम्झौता पत्र हरायो, १३ करोड ५० लाख क्षतिपूर्ति माग

काठमाडौं, २२ भदौ । काठमाडौंको कलंकी चोकमा ४ वर्षअघि बनेको आकाशे पुल अहिले भत्काईएको छ । सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन विपरित काठमाडौं महानगरपलिकाले ठेक्का दिएर बनाएको उक्त पुल चक्रपथ विस्तार आयोजनाले भत्काएको हो । महानगरपालिकाका तत्कालिन कार्यकारी प्रमुख गणेश राई, भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्ण कडौरिया र सहसचिव तुलसीप्रसाद सिटौला (उनी सचिवबाट अवकाश पाईसके) सँग मिलोपत्तोमा यूनिभेटिप कन्सेप्टका मनोज भेटवालले ठेक्का पाएका थिए । मिलोमत्तोमा ठेक्का लिने दिनेहरु   ४ लेनको चक्रपथलाई ८ लेनमा विस्तार गर्ने सरकारी योजना अगाडि बढिरहेको समयमा महानगरपालिकाले कलंकीमा पुल निर्माण प्रक्रिया अगाडि बढाएको थियो । उक्त प्रक्रियालाई रोक्न सार्वजनिक लेखा समिति र अख्तियारले महानगरपालिकालाई निर्देशन दिएको थियो । तर ठेक्का पाईसकेको निर्माण कम्पनी यूनिभेटिप कन्सेप्टका प्रबन्ध निर्देशक मनोज भेटवालले सर्बोच्चमा मुद्दा हाले । न्यायधिशद्वय बलराम केसी र तर्कराज भट्टले भेटवालको पक्षमा फैसला गरे । विवाद र मिलोमत्तोका बीच पूल बन्यो र अहिले भत्काईयो । उक्त पूल निर्माण गर्दा १३ करोड ५० लाख रुपैयाँ खर्च भएको दावी गर्दै भेटवालले क्षतिपूर्ति माग गर्दै पुनरावेदन अदालत पाटनमा मुद्दा हालेका छन् । उक्त पुल सामान्य पिलरमाथि टिनका पाता राखेर बनाएको थियो । पुरानो बसपार्कबाट खुलामञ्ज तर्फ जाने आकाशे पुल जस्तै कलंकीको पुल हिड्दा पनि डरलाग्ने गरी गन्द्याङ–गन्द्याङ आवाज आउने पातलो टिन प्रयोग गरिएको थियो । टिनका पाताले बनेको पुल, जसको लागत १३ करोड ५० लाख दावी गरिएको छ । हालको अवस्था अनुभवी निर्माण व्यवसायीको भनाई उक्त पुल निर्माण खर्च २ बढीमा करोड रुपैयाँ लागेको हुनपर्छ । तर ठेकदारले १३ करोड ५० लाख रुपैयाँ दावी गरेको छ । भेटवालले खर्च दावी गर्दा भ्याट विल कम र भ्याट विनाको विल खर्च अधिक देखाएका छन् । महानगरपालिका स्रोतका अनुसार महानगरपालिका यूनिभेटिप कन्सेप्टबीच भएको सम्झौता पत्र हराएको छ । उक्त पुल निर्माण गर्नु पूर्व गरिएको अनुमानित लागत विश्लेषण रिपोर्ट समेत गायव गरिएको छ । पुल निर्माणको क्रममा करोडौ भष्टाचार भएकोले ठेक्का दिदा अपनाईएको विधि, प्रक्रिया र सम्झौता रिपोर्टहरु गायव गरिएको हुनसक्ने अशांका गरिएको छ । महानगरपलिकाले हाल ती रिपोर्टहरु खोजिरहेको छ ।