इलाममा चिया परीक्षण भवन बन्ने, रु २६ करोडको लागतमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । चिया किसानले लामो समयदेखि उठाउँदै आएको ‘चिया परीक्षण केन्द्र’ निर्माणको माग अब पूरा हुने भएको छ । मुलुकमै पहिलो पटक चियाको गुणस्तर सुधार गर्न यहाँको सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’ निर्माण हुने भएको हो । यसरी, दुई वर्षभित्र सम्पन्न हुने केन्द्रको बहुतले भवन निर्माणका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा रु पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । सो कार्यमा साझेदारी गर्न आवश्यक बजेट विनियोजन गर्ने सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताए ।“चिया परीक्षण केन्द्र बनाउन प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ”, उनले भने, “प्रदेश सरकारसँग हामीले साझेदारी गर्नुपर्ने आवश्यक रकम हामी विनियोजन गर्छौं ।” रु २६ करोडको लागतमा निर्माण हुने उक्त केन्द्रको भवनका लागि प्रदेश सरकारको ८० र नगरपालिकाको २० प्रतिशत साझेदारी हुनेछ । परीक्षण केन्द्र निर्माण भएपछि इलामको अर्थोडक्स चियाको बजार प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास चियाको किसानको छ ।परीक्षण केन्द्रको विस्तृत परियोजना प्रतिवेदन र डिजाइन स्टिमेट तयार भइसकेकाले निर्धारित मितिभित्र नै निर्माण सकिने नगरप्रमुख राईले बताएका छन् । यहाँ निर्माण हुन लागेको चिया परीक्षण भवनमा चियाको प्राङ्गारिक परीक्षणसमेत गरिने जनाइएको छ । धेरै झञ्झट गरेर ठूलो मूल्यमा विदेश लगेर चियाको प्राङ्गारिक परीक्षण गर्ने काम पनि यो भवन निर्माणपछि अन्त्य हुने भएको छ । सर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईका अनुसार प्राङ्गारिक परीक्षणको सबै प्रक्रिया यहीँ गरिने र अन्तिम नतिजाका लागि मात्र विदेश पठाइनेछ । योसँगै यहाँ चियाको सूचना केन्द्रसमेत निर्माण गरिने छ । यसरी, चियासम्बन्धी जानकारीमूलक विषयको सोधखोजका लागि यहाँ सूचना केन्द्र निर्माण गर्न लागिएको हो । चिया व्यवसायी सोमन योल्मोले बहुउपयोगी प्रयोगका लागि निर्माण हुने यो भवन चियाको बजारीकरणमा देखिएको समस्या हल हुनसक्ने बताए । रासस
सुरुङमार्ग बनाउने नेपाल पूर्वाधार कम्पनीको साधारण सभा असार २८ मा, सञ्चालक समिति चयन गरिने
काठमाडौँ । काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङमार्ग बनाउने नेपाल पूर्वाधार विकास कम्पनीको तेश्रो, चौथो, पाँचौ र छैठौँ वार्षिक साधारण सभा असार २८ गते हुने भएको छ । जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभा काठमाडौँ रामशाह पथमा रहेको योगम्बर पार्टी भेन्यूमा हुने जनाइएको छ । साधारण सभा प्रयोजनको लागि असार ८ गतेदेखि २८ गतेसम्म सेयर दाखिला खारेज(बुक क्लोज) हुने कम्पनीले जनाएको छ । साधारण सभाले कम्पनीको नयाँ सञ्चालक समिति चयन गर्नेछ । निर्वाचन सम्बन्धी कार्यक्रम सभा शुरु हुनु भन्दा ५ दिन अघि अर्थात असार २३ गते प्रकाशित गर्ने जनाइएको छ । यो समाचार पनि पढ्नुहोस्: सुरुङमार्ग बनाउने कम्पनीको सञ्चालक समिति विघटन, पावर चाईनासँग ज्वाइन्ट भेञ्चर
तनहुँमा सडक विस्तार रोक्न अदालतको अन्तरिम आदेश
काठमाडौं । तनहुँ जिल्ला अदालतले पिप्लेदेखि बन्दीपुरसम्म भइरहेको सडक विस्तार तत्कालका लागि रोक्न बन्दीपुर गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । गाउँपालिका–२ बस्ने सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिका, गाउँपालिकाका अध्यक्ष, वडा नं २ कार्यालय र वडाध्यक्षलाई विपक्षी बनाई दायर गरिएको रिटउपर बुधबार सुनुवाइ गर्दै जिल्ला न्यायाधीश दीपक ढकालले सडक विस्तारकार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको हो । गाउँपालिका–२ मा अवस्थित निवेदकको नामदर्ता र स्वामित्वमा रहेको जग्गा र भौतिक संरचना हटाई बाटो फराकिलो बनाउने क्रममा निवेदकको सहमति र मञ्जुरीविना निर्माणकार्य अगाडि बढाउँदा नागरिकको सम्पत्तिको अधिकारमा प्रतिकूल असर पुग्ने भएकाले सडक विस्तारकार्य तत्कालका लागि रोक्न जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४ ९१० बमोजिम अन्तरिम आदेश जारी भएको तनहँु जिल्ला अदालतले जनाएको छ । हाल निवेदकको सहमति र मञ्जुरीविना निवेदनमा उल्लिखित कित्ता जग्गा र सोमा भएका भौतिक संरचनामा असर पुग्ने गरी कुनै पनि निर्माणकार्य नगर्न÷नगराउनु भनी विपक्षीको नाममा अन्तरिम आदेश जारी भएको छ । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले र अधिवक्ता भानुभक्त सुवेदी तथा विपक्षीको तर्फबाट अधिवक्ता रामचन्द्र न्यौपानेले अदालतमा बहस गरेका थिए । सडक विस्तारकार्य तत्कालका लागि रोकी सोको सूचना विपक्षीलाई दिन र लिखित जवाफ पेश भएपछि प्रस्तुत निवेदन पूर्ण सुनुवाइका लागि पेश गर्न अदालतले आदेश गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले सडक विस्तारको क्रममा कुनै व्यक्तिको सम्पत्तिमा हस्तक्षेप नगरेको बताएका छन्। रासस