अझै शुरु भएन धुलिखेल–सूर्यविनायक सडक विस्तार

काठमाडाैं । काठमाडौं उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरु हुनसकेको छैन । एक दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तीनकुने–सूर्यविनायक सडक छ लेनमा विस्तार गरेको थियो । जाइकालले नै सूर्यविनायक–धुलिखेल सडकसमेत विस्तार गर्ने भनिए पनि त्यसमा निर्णय भएर काम हुन नसकेको हो । सडक विभागको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेल सडक र विपी राजमार्गको धुलिखेलबाट सिन्धुली हुँदै बर्दिवास सडक गरी सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना रहेको छ । सो आयोजनाले सूर्यविनायकदेखि धुलिखेल सडकमा निर्माण वा विस्तारको काम नगरेको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताए । अहिले डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गका विभिन्न खण्डमा मर्मतको काम गरिरहेको छ । उनले भने, “विस्तारका लागि योजना बनेपछि मात्रै हामीले काम गर्नैछौँ ।” झण्डै एक दशक पहिलेदेखि नै यो सडक विस्तारका लागि छलफल भइरहे पनि निर्णय हुन नसकेको हो । जाइकाले यो सडकमा पूर्व अध्ययनसमेत गरिसकेको छ । अध्ययनको लामो समय बितिसक्दा पनि निर्माणका लागि सम्झौता नभएकाले विस्तृत अध्ययन हुनसकेको छैन । गत वर्ष जाइकाले कोटेश्वर–जडीबुटी सडकमा ‘अण्डरपास’ निर्माण गर्ने गरी छलफल हुँदा विभागले त्यससँगै यो सडकको विस्तारका लागि समेत प्रस्ताव गरेको थियो । वाग्मती प्रदेश र प्रदेश नं २ का जिल्लाबाट समेत काठमाडौँ भित्रिने नाकाका रूपमा यो सडक रहेको छ । अरनिको, विपी राजमार्गसँगै मध्यपहाडीलगायतका राजमार्गसमेत सञ्चालनमा आएसँगै काभ्रेपलाञ्चोकको बनेपाबाट भक्तपुरसम्म सवारी चाप बढिरहेको छ । यस सडकमा साँझको समयमा सवारी साधनले उपत्यका भित्रिन घण्टौँ जाममा बस्नुपर्ने अवस्था छ ।

बजेट अभावले जाजरकाेटकाे नयाँ शहर कार्यक्रम प्रभावित

जाजरकाेट । चौरजहारीलाई नयाँ शहर बनाउने योजना आठ वर्ष पूरा भए पनि अझै प्रभावकारी हुन सकेको छैन । रुकुम पश्चिम चौरजहारी नगरपालिकामा रहेको यहाँ काम नहुँदा समस्या भएको हो । मध्यपहाडी लोकमार्गमा पर्ने १० ठाउँलाई नयाँ शहर बनाउने सरकारको लक्ष्यअनुसार काम भए पनि सो परिणाममुखी हुन नसकेको हो । बजेट अभावका कारण भने जति काम हुन नसकेको हो । चालु आर्थिक वर्षमा चौरजहारीका लागि ११ करोड बजेट मात्रै आएको आयोजना कार्यालय प्रमुख धीर फडेराले जानकारी दिए । यहाँ एउटै योजना निर्माण गर्नका लागि १९ करोड आवश्यकता पर्ने गरेको छ । चौरजहारी उपत्यकाको महत्वपूर्ण मानिएको सडक कालोपत्रे गर्ने काम लामो समयदेखि हुन सकेको छैन । आयोजना कार्यालयका अनुसार बाँसखोला–एयरपोर्ट–बसपार्क–त्रिवेणी–खौचेनी–विजयश्वरीडाँडा सडक झण्डै आठ किलोमिटर लामो छ । सडक कालोपत्रेका लागि रु ४० करोड ३५ लाखमा ठेक्का लागेको छ । ठेकेदार कम्पनीले झण्डै ७० प्रतिशत काम सके पनि २१ करोड रुपैयाँ मात्र भुक्तानी भएको फडेराले बताए । अहिलेसम्म स–साना योजना मात्र सम्पन्न भएका छन् । सम्पन्न भइसक्नुपर्ने योजना पनि अर्को वर्षसम्म लैजानुपर्ने बाध्यता रहेको उनको गुनासो छ । चालु आर्थिक वर्षमा ३८ योजना प्रस्ताव गरिएको भए पनि अहिले नौ वटा योजनामा काम भइरहेको छ । यी योजनामा पनि बजेट अपुग भएको छ । सडक कालोपत्रेमा आयोजनाले गति लिए पनि अन्य कामहरु अलपत्र परेको चौजहारी नगरपालिका प्रमुख विशाल शर्माले बताए । आठ वर्षदेखि चौरजहारी–जाजरकोट कुदु जोड्ने मध्यपहाडी लोकमार्गको पुल निर्माणसमेत अलपत्र पर्दै आएको छ । रासस

जनकपुर विमानस्थलकाे टर्मिनल भवन आठ वर्षपछि सञ्चालनमा, २५० यात्रु बस्न मिल्ने

काठमाडौं । निर्माण शुरु भएको आठ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उक्त भवनको उद्घाटन गरेका हुन् । टर्मिनल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भटटराईले जनकपुर विमानस्थलको विकासमा सरकार दृढ रहेको बताए । त्यसका लागि तीन वटै तहका सरकारको बीचमा समन्वय र सहकार्य आवश्यक रहेको पनि बताए । यस्तै जनकपुरलाई आकर्षक धार्मिक पर्यटकिय नगरिको रुपमा विकास गर्न संघीय सरकार अग्रसर रहेको पनि बताए । कार्यक्रममा प्रदेश नम्बर २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण भएसँगै आवागमनमा सहज हुने र पर्यटकिय गतिविधि समेत बढ्ने बताए । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले जनकपुर विमानस्थलको नाम परिवर्तन गरेर जनकपुरधाम विमानस्थल राख्नुपर्ने बताए । यो विमानस्थलमा २०२४ सालमा निर्माण भएको टर्मिनल भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । २०६९ साल देखि निर्माण शुरु भएको नयाँ टर्मिनल भवन करिब ४५ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने क्षमता रहेको छ ।