अघि बढ्यो कोशी करिडोरको निर्माण
काठमाडाैं । उत्तर–दक्षिण करिडोरअन्तर्गतको कोशी करिडोरमा बाँकी स्थानमा ट्र्याक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ । कठिन भौगोलक अवस्था र अरु विभिन्न चुनौती भए पनि सो करिडोर निर्माण अघि बढिरहेको छ । सो करिडोरअन्तर्गतको १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । गत वर्ष फागुनमा सरकारले सेनालाई जिम्मेवारी दिइएको थियो । अहिले राजमार्गको १० किमी सडक स्तरोन्नति भइरहेको छ भने ३९ किमी सडक कालोपत्र गर्न लागिएको कोशी करिडोर खाँदबारी–किमाथाङ्का सडक योजनाले जनाएको छ । अर्थ मन्त्रालयले कालोपत्रका लागि दुई अर्ब ६० करोड स्वीकृत गरिसकेकाले ठेक्कामा जान लागिएको योजना प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “आगामी साता सूचना निकाल्नका लागि आयोजना निर्देशनालयले स्वीकृति दिइसकेको छ ।” सङ्खुवासभाको भोटखोला गाउँपालिकाको धोङगपाबाट च्याम्ताङसम्मको सडक ट्याक खुल्न बाँकी हो । खाँदबारीबाट उत्तरतर्फ च्यामताङसम्म १३४ किमी निर्माण भएको छ । नेपाल चीनको सिमाना किमाथाङ्काबाट धोङगपासम्म १४ किमी ट्याक उत्तरबाट दक्षिण खुलेको छ । बीचको खण्ड बाँकी मात्रै बाँकी भएको योजनाले जनाएको छ । जम्मा १६२ किमी लम्बाइको सडकमा १४८ ट्याक खुलिसकेको छ । बाँकी १४ किमी सेनालाई दिइएको र अरु खण्डमा काम भइरहेको योजना प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाली सेना साइटमा जाने तयारी गर्दैछ । निर्माणाधीन सो राजमार्गमा विभिन्न स्थानमा कठिन भूगोल भएकाले एलाइमेन्ट लैजान गाह्रो भएको उनले बताए । उनले भने, “चट्टान नै चट्टान भएको ठाउँबाट सडक खोल्न गाह्रो भए पनि काम भइरहेको छ ।” राजमार्ग निर्माणका क्रमम भौगोलिक कठिनाइसँगै गत वर्ष कोभिडका कारण काममा बाधा पुगेको प्रमुख श्रेष्ठले बताए । निर्माण सामग्री नपाइने र पाउँदा पनि गुणस्तरीय नपाउने समस्या रहेको छ । राजमार्गको उत्तरतर्फ कतिपय स्थानमा १२ महिनामा जम्मा चार महिना मात्रै काम गर्न सकिनेछ । हिमाली क्षेत्रमा चैत वैशाखदेखि पानी पर्ने र भदौ असोजदेखि चाडपर्व र त्यसपछि चिसोका कारण काम गर्न कठिन रहेको प्रमुख श्रेष्ठले बताए । उनले भने, “मौसम र अरु कुरा सहज भएमा माघदेखि वैशाखसम्म मात्रै काम गर्न सकिन्छ ।” सरकारले अहिलेसम्म उत्तर दक्षिण करिडोरअन्तर्गतका राजमार्ग सम्पन्न गर्ने भनी लक्ष्य निर्धारण गरिसकेको छैन । उत्तर दक्षिण आयोजना निदेशनालयले ट्याक खोलिसक्ने कामलाई नै प्राथमिकता दिएको छ । सेनाले नियमित काम गर्दा अबको झण्डै डेढदेखि दुई वर्षमा काम गर्नसक्ने बताउँदै आएको छ । चट्टान बढी भएकाले काम गर्न बढी समय लाग्ने उनको भनाइ छ । सो राजमार्गको मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट अघि बढ्ने हुनाले वातावरणमा ध्यान पु¥याएर मात्रै काम गर्नुपर्ने प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार ११२ किमी सडक मध्यवर्ती क्षेत्रमा पर्ने हुँदा त्यसमा काम शुरु गर्न गाह्रो थियो । गत वर्षसम्म पनि वातावरण प्रभाव मूल्याङ्क (इआइए) नभएकाले काम गर्ने वातावरण बनेको थिएन । सडक निर्माण अघि बढान खोज्दा निकुञ्जबाट अवरोध आएको थियो । उनले भने, “गत फागुनमा स्वीकृत भएपछि यस क्षेत्रमा काम भइरहको छ ।” सो करिडोरमा सडकको अधिकार क्षेत्रको ठूलो समस्या नभएको बताइएको छ । अरुण तेस्रो परियोजनाले सङ्खुवासभा जिल्लोको फाक्सीन्दादेखि अरुण तेस्रो परियोजनासम्म ३० मिटरमा मुआब्जा दिइसकेको छ । उनले भने, “त्यसबाहेक अरु ठाउँमा मुआब्जा नदिइएको भए पनि स्थानीयवासीको असन्तुष्टि छैन ।” राजमार्ग निर्माणाधीन भए पनि ट्याक खुलेको स्थानमा सवारीसाधन चल्न थालेको योजनाले जनाएको छ । खाँदबारीबाट ८० किमी परसम्म सवारीसाधन चल्छ भने त्यसअघि ट्र्याक्टरले सामान मात्रै बोक्ने भोटखोला गाउँपालिाका प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले बताए । यो गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको छैन । उनले भने, “ट्र्याक पूरै खुली सकेर गाडी चले त सबैलाई सजिलो हुने थियो ।” देशभरका अन्य सडकजस्तै यो सडक निर्माण गर्दा कोभिडको अझै पनि असर गरेको थियो । गत वर्ष कोभिडकै कारण स्थानीयवासी पालिकाले नयाँ मान्छे छिर्न नदिएकामा अहिले हट्दै गएको आयोजना प्रमुख श्रेष्ठले बताए । राजमार्गमा २२ पुल आवश्यक भएकामा अहिलेसम्म एउटा पुल सम्पन्न भएर सञ्चालनमा आएको र धेरै निर्माणाधीन रहेको योजनाले जनाएको छ । पुलमा काम गर्दा समस्या आउने गरेको उनले बताए । उनले भने, “पुलमा काम गर्न भारतीय ल्याउँदा स्थानीयवासी डराएको छ ।” ट्र्याक खुल्न बाँकी स्थानमा खुलाउनेसँगै खुलिसकेकामा सडक स्तरोन्नतिको कामसमेत अघि बढाइएको छ । कतिपय खण्डमा कालोपत्र प्रक्रिया अघि बढाएको छ भने कतिपय खण्डमा सडक फराकिलो बनाउने काम भइरहेको श्रेष्ठले जानकारी दिए । विभिन्न स्थानमा चट्टानको क्षेत्रसँगै पहिरो जोखिम रहेको उनको भनाइ छ । उनले भने, “भएका सबै अवरोध हटाएर पनि सडक निर्माण र स्तरोन्नति भइरहेको हो ।” दक्षिणमा मोरङको जोगवनीदेखि उत्तरमा सङ्खुवासभाको किमाथाङ्कासम्म रहेको छ । यसले उत्तरमा चीनको सीमादेखि दक्षिणमा भारतीय सीमालाई जोड्छ । मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुमको क्षेत्र भाग भएर राजमार्ग निर्माण भइरहेको छ । रासस
उपत्यकामा खानेपानीकाे स्रोत नजिकै पानी प्रशोधन केन्द्र बनाइने
काठमाडाैं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न स्थानमा खानेपानीको स्रोत नजिकै पानी प्रशोधन केन्द्र बनाउन थालेको छ । पहिले पानी वितरण केन्द्र नजिकै प्रशोधन केन्द्र रहेकोमा अहिले स्रोत नजिकै बनाउन लागिएको लिमिटेडले जनाएको छ । कतिपय स्थानमा स्रोत र प्रशोधन केन्द्रबीच दूरी रहेको र त्यसबीचमा बस्ती रहेको थियो । बीचका बस्तीमा पानी प्रशोधन नभइ पठाइएकाले सबैतिर प्रशोधन भएको पानी दिनका लागि स्रोत नजिकै प्रशोधन केन्द्र बनाउन लागिएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए । उनका अनुसार काठमाडौँ उपत्यकाका स्रोत नजिकै प्रशोधन केन्द्र बनाउनका लागि अध्ययन अघि बढाइएको छ । उनले भने, “पहिले अध्ययन भएपछि नै योजना बनाएर निर्माणमा जान सकिन्छ ।”लिमिटेडले उपत्यकामा रहेका ३५ स्रोतको पानी वितरण केन्द्रमार्फत वितरण गर्दै आएको छ । प्रशोधन केन्द्र निर्माणका लागि स्थानीय तहसँग पनि आवश्यक समन्वय भइरहेको जनाइएको छ । अहिलेसम्म टोखा र बूढानीलकण्ठ नगरपालिकाले केन्द्रका लागि जग्गा दिने सहमति भएका छन् । अन्य नगरपालिकासँग पनि यसका लागि समन्वय भइरहेको उनले बताए । उनले भने, “नयाँ स्रोत पहिचान गर्न र भएका स्रोत नजिकै प्रशोधन केन्द्र बनाउन दुबैका लागि स्थानीय तहसँग नै सहकार्य भइरहेको छ ।” काठमाडौं उपत्यकामा वितरण गर्नका लागि मेलम्ची खोलाको पानी ल्याउने तयारी भइरहँदा लिमिटेडले भइरहेका स्रोतको पनि व्यवस्थापनको काम अघि बढाइरहेको छ । लिमिटेडले उपत्यकामा नै विभिन्न स्थानमा रहेका स्रोतको पानी समेत ल्याउनका लागि समन्वय अघि बढाएको छ । लिमिटेडले मेलम्चीको पानी आउनासाथ वितरणका लागि पनि आवश्यक तयारी गरिरहेको छ । रासस
प्राधिकरणले प्रकाशित गरेको यो सूचनाले लोडसेडिङ तालिका आउने संकेत गरेको हो ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो वेबसाइटमा राखेको एउटा सूचनाले सर्वसाधारणलाई झस्काएको छ । केही वर्षअघिसम्म दैनिक १६ घण्टासम्म लोडसेडिङको पीडा भोगेका नेपालीले फेरि बत्ती नआउने हो कि भन्ने चिन्ताले सताएको छ । प्राधिकरणले सार्वजनिक गरेको सूचनामा ‘मिति २०७७।०९।१६ गते विहीवार बानेश्वर सव स्टेसनको लोड व्यस्थापन गर्नको लागि लगनखेल वितरण केन्द्र अन्तर्गतको चापागाउँ फिडर विहान ९ः०० बजे देखि १०ः०० बजे सम्म, हरिसिद्दि फिडर दिउसो १२ः०० बजेदेखि २ः०० बजेसम्म र रेडियो नेपाल फिडर दिउसो १२ः०० बजे देखि ३ः०० बजेसम्म सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकोले उक्त फिडरहरु अन्तर्गतका क्षेत्रहरुमा विद्युत सेवा अबरुद्द हुने भएकोले सो क्षेत्रका ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ । साथै कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ’ भनिएको छ । प्राधिकरणले लोड व्यवस्थापनको लागि भन्दै निश्चित क्षेत्रमा तोकिएको समयसम्म बत्ती नआउने सूचना प्रकाशित गरेको हो । प्राधिकरणले भनेको लोड व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङने नेतृत्व संहाल्नुअघिको जस्तै लोडसेडिङको पूर्वाभ्यास हो कि होइन भनेर हामीले प्राधिकरणका प्रवक्ता मदन तिम्सिनालाई साधेका छौं । ‘लोडसेडिङ भनेको माग अनुसार विद्युत उपलब्ध नभएको अवस्थामा एकातिर बत्ती नदिएर अर्काेतिर बत्ती दिने कार्य हो, अहिले माग अनुसारको विजुली उपलब्ध छ, त्यसैले यो लोडसेडिङ होइन, नियमित रुपमा विद्युत आपूर्ति गर्नको लागि अपनाउनु पर्ने पूर्व सावधानीको काम गर्नको लागि केही समय विद्युत आपूर्ति रोकेर पूर्वाधार बनाइएको मात्रै हो, यसलाई नियमित मर्मत सम्भारको अर्थमा बुझ्दा पनि हुन्छ,’ प्रवक्ता तिम्सिनाले भने । उनले अहिले लोडसेडिङ हुने कुनै सम्भावना नरहेको पनि दाबी गरे । माग अनुसार विद्युत उपलब्ध भएकोले लोडसेडिङ नहुने उनको भनाई छ । प्रवक्ता तिम्सिनाका अनुसार अहिलेसम्म यो सिजनको सबैभन्दा बढी माग १४ सय ६० मेगावाटसम्म पुगेको छ भने औसत माग १४ सय ५० मेगावाटको हाराहारीमा छ । यसमध्ये प्राधिकरणका आयोजनाबाट दैनिक ५ सय २० मेगावाटको हाराहारीमा विद्युत उत्पादन भएको छ भने निजी क्षेत्रका आयोजनाबाट दैनिक ३ सय २० मेगावाटको हाराहारीमा विद्युत प्राप्त भएको छ । आन्तरिक उत्पादनबाट अपुग भएको दैनिक करिब ६ सय मेगावाट विद्युत भारतबाट खरिद गरेर ल्याइएको तिम्सिनाले जानकारी दिए । प्रवक्ता तिम्सिनाले विद्युत आपूर्ति कटौति गर्नुपर्ने अवस्था नरहेको दाबी गरिरहेपनि बेलाबेलामा बत्ती गइरहने समस्या भने छ । अहिले भएको पूर्वाधारमा समस्या आउँदा पनि बत्ती आउने जाने भइरहेको उनको दाबी छ । ‘कुलमान सर प्राधिकरणको नेतृत्वमा आउनु अघिसम्म धेरै समय लोडसेडिङ हुन्थ्यो, उहाँ नेतृत्वमा आएपछि त्यो समस्या हट्यो तर, लोडसेडिङ हटेपनि बेलाबेलामा बत्ती गइरहने समस्या कुलमान सर नेतृत्वमा भएको समयमा पनि थियो, लोडसेडिङले आक्रान्त भएका उपभोक्ताले त्यो बेला बत्ती आउने र जाने समस्याप्रति त्यति ध्यान दिएनन्, उहाँ हटेपछि फेरि लोडसेडिङ सुरु हुन्छ कि भन्ने त्रास बढ्यो, जसले गर्दा केही समय बत्ती गएको पनि ध्यान दिइन थालेकोले के हुन लाग्यो भन्ने चासो र चिन्ता बढेको मात्रै हो, तर ढुक्क भए हुन्छ, लोडसेडिङ हुँदैन,’ प्रवक्ता तिम्सिनाले भने ।